निर्णय नं. ४०१९ - प्रतिषेध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०१९ - प्रतिषेध भाग: ३१ साल: २०४६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४६/११/२२ २५२९ निर्णय नं. ४०१९ ने.का.प. २०४६ अङ्क १२ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको रिट नं. ५९५ आदेश भएको मिति : २०४६।११।२२।२ मा रिट निवेदक : चितवन जिल्ला, पदमपुर गा.पं. वडा नं. ४ बस्ने रामप्रसाद घिमिरे विरुद्ध विपक्षी : नेपाल बैंक लिमिटेड श्रीपुर शाखा, वीरगन्जसमेत विषय : प्रतिषेध (१) कर्जा लिने निवेदक हो होइन वा कुन व्यक्तिले बैंकबाट कर्जा लिएको हो र कुनले होइन भनी तथ्यको विवादमा प्रवेश गरी रिट क्षेत्रबाट तथ्यको निराकरण गर्न नमिल्ने । (प्रकरण नं. १०) रिट निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री मुक्ति प्रधान प्रत्यर्थीहरु तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ र विद्वान अधिवक्ता श्री प्रकाश वस्ती आदेश प्र.न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. म निवेदकले चितवन जिल्ला पदमपुर गा.पं. वडा नं. ३(क) मा कि.नं. ३९ को क्षेत्रफल १–०–९, कि.नं. ३३४ को ०–१–० जग्गा राजीनामा गरी लिई त्यहीँ बसोवास भोग चलन गरी आएको छु । मैले कुनै व्यक्ति वा श्री ५ को सरकारको स्वामित्व रहेको कुनै पनि संघ संस्थाबाट ऋण कर्जा लिएको छैन र मेरो नामबाट वाणिज्य विभाग तथा उद्योग विभागमा कुनै किसिमको प्राइभेट फर्म र कम्पनी समेत अद्यावधी दर्ता गराई व्यापार व्यवसाय संचालन गरेको छैन । प्रत्यर्थी नेपाल बैंक लिमिटेड श्रीपुर वीरगञ्ज शाखा र प्रत्यर्थी रामप्रसाद घिमिरे कम्पनीको तर्फबाट अधिकार प्राप्त रामप्रसाद घिमिरेको बीचमा कर्जा धितोको तमसुक कागज गरी लिनु दिनु गरेका रहेछन् । सो तमसुकमा निर्दिष्ट भाका भित्र प्र.रामप्रसाद घिमिरेले चुक्ता गर्न नआएकोले धितो लिलाम गर्दा उपर भएको रु. कट्टा गरी बाँकी साँवा व्याज असूल उपर गरी पाउँ भनी तमसुक गर्ने कम्पनीको नाउँमा र कम्पनीको तर्फबाट कारोवार गर्ने वी.न.पं. वडा नं. १० गहवा बस्ने रामप्रसादको नाउँमा मुद्दा दायर गर्नु पर्नेमा कम्पनीको सम्बन्धमा केही उल्लेख नगरी जि. चितवन पदमपुर पञ्चायत वडा नं. ४ बस्ने भनी ठेगाना उल्लेख गरी रामप्रसाद घिमिरेको नाउँमा प्रत्यर्थी बैंकबाट नारायणी अञ्चल अदालतमा लेनदेनमा फिराद गरी एकतर्फी कारवाही भई ना.अं.अ. बाट वादी दावी बमोजिम साँवा ब्याज भराई पाउने ठहरी २०३९।८।१४ मा फैसला भएको रहेछ । सो फैसला बमोजिम प्रत्यर्थी पर्सा जिल्ला अदालत मार्फत चितवन जि. अ.बाट जायजात तायदात गर्न डोर खटी जाँदा सो प्रतिवादी रामप्रसाद घिमिरेको घरद्वार फेला नपरेको र वादीको दर्खास्त अनुसारको धनमाल समेत प्रतिवादीको नाउँमा नभएको भनी पदमपुर पञ्चायतबाट २०४२।७।१६ मा भई आएको मुचुल्का बमोजिम लगत कट्टा गरी तामेलीमा राखी दिने गरी पर्सा जि. अ.बाट २०४३।३।३१ गते पर्चा खडा गरी कारवाही टुड्डिएको रहेछ । त्यसपछि प्रत्यर्थी बैंकले म निवेदकका नाममा दर्ता भएको पदमपुर गा.पं. वडा नं. ३(क) कि.नं. ४२५ को ०–१८–० र कि.नं. ३३४ को ०–१–० जग्गा समेत रामप्रसाद घिमिरे कम्पनीको तर्फबाट कारोवार गरी कर्जा लिने प्र.रामप्रसाद घिमिरेको जग्गा भन्ने अनुमान गरी मलाई कुनै थाहा जानकारी नै नदिई सो मेरो स्वामित्वको २ कित्ता जग्गा लुकाई राखेको भन्ने काल्पनिक तथ्य सृजना गरी बिगो भरी भराउ गरी पाउँ भनी दर्खास्त गरेका रहेछन