निर्णय नं. ४०३२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०३२ - कर्तव्य ज्यान भाग: ३१ साल: २०४६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४६/११/३० ३०९५ निर्णय नं. ४०३२ ने.का.प. २०४६ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४६ सालको फौ.पु.नं. २६२ फैसला भएको मिति : २०४६।११।३०।३ मा पुनरावेदक/वादी : घिसन यादवको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : रुपन्देही जिल्ला हनैया गा.पं.वार्ड नं. ६ बस्ने बिक्रम यादव अहिरसमेत मुद्दा : कर्तव्य ज्यान § साधारण कुटपिट भएको ठाउँमा एक पक्षले अर्को पक्षलाई ‘मारो’ भन्ने शब्द प्रयोग भई कुटपिट हुनु खास गरी यो वारदात स्थल रुपन्देही जिल्लामा साधारण चलन चल्तीमा आउने भाषा भएकोले सो प्रयोग भएको शब्दबाट भएको वारदातको परिप्रेक्षमा ज्यानै मारिदेउ भनी बचन दिएको अर्थ लगाउन मिल्ने देखिन नआएकोले साधारण लात मुक्काले कुटपिट भइरहेको ठाउँमा आई पुगी ‘साले चमारलाई मार’ भनी कुटपिट गर्ने छोरालाई भनेकै देखिए पनि त्यसबाट ज्यानै मारिदेउ भनी बचन दिएको भन्न नमिल्ने । (प्रकरण नं. २३) पुनरावेदक, वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत फैसला न्या. हिरण्येश्वरमान प्रधान : पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०४६।१।५ को फैसला उपर चित्त नबुझाई श्री ५ को सरकारको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ । २. बिक्रम यादवले शीतल चमारसंग तिम्रो गाउँको घर मलाई देउ म पैसा दिन्छु र ८ नं. पर्ति जग्गा दर्ता गराई दिन्छु भनी प्रलोभनमा पारी घर लिई शितललाई जग्गा जोती खाउ भनी ८ नं. पर्ति जग्गा जोत गोड गरी आएकोमा २०४१।१।२३ गतेका दिन शितल चमारले कित मेरो पैसा देउ या घडेरी छोडी देउ भनी कुरा गर्दा वाद विवाद भई सत्यनारायणले शितल चमारलाई कुटपिट गरेको देखी नपिट भन्दा निजको बाबु बिक्रम यादव आई पिट भनी बचन दिंदा सो बचन मानी सत्ननारायणले शितल चमारलाई भुँईमा पछारी कुटपिट गरी बेहोस भएपछि मानिस जुटी पानी खुवाउने कायम गर्दा कुनै परिवर्तन नभएकोले डाक्टर बोलाउन पर्‍यो भनी कुरा गर्दा पाहुन थारुले सत्यनारायणलाई पठाएको छु भनी भनेको र त्यसलाई पठाउन हुँदैन भन्दा भागेमा म जिम्मेवार छु भनी पाहुन थारुले भने तर सत्यनारायण भाग्ने शंका भएकाले म समेतका अन्य मानिस भई खोज्न जाँदा फेला नपरेकाले घरमा फर्की आउँदा शितल चमार मरिसकेका रहेछन् । निजलाई कुटपिट गरी मार्ने सत्यनारायण यादव, वचन दिने बिक्रम यादव र भगाउने पाहुन थारु समेतलाई पक्राउ गरी सजायँ समेत गरी पाउँ भन्ने समेत व्यहोराको घिसन यादवको जाहेरी दर्खास्त । ३. मेरो जेठाजु शितल चमारलाई कुटपिट गरी मार्ने सत्यनारायण यादव बचन दिने बिक्रम यादव र सत्यनारायणलाई भगाउने पाहुन थारुलाई कारवाही गरी सजायँ समेत गरी पाउँ भन्ने समेत व्यहोराको चीनकी चमारनीले प्रहरीमा गरेको कागज । ४. सत्यनारायणको बाबु बिक्रम यादवले मेरो जेठाजु शितल चमारलाई तिम्रो घर मलाई देउ म तिमीलाई पैसा दिन्छु र ८ नं. पर्ति जग्गा व्यवस्था मिलाई दिन्छु भनेकाले मृतक जेठाजुले घर दिएको निज बिक्रम यादवले हालसम्म पनि सो घरको रुपैयाँ दिएका छ्रैनन् । २०४१।१।२३ गतेका दिन सत्यनारायणसंग घरको पैसा माग्दा विवाद भई जेठाजु शितल चमारलाई सत्यनारायणले एक्कासी लात मुक्काले हान्दा मैले नहान भन्दा भन्दै र घिसन यादवले समेत नपीट भन्दै थिए । सोही अवस्था विक्रमले साले चमारलाई मार देखा जाला भनेकोले सो बचन मानी दुवै हातले समाई उठाई भुँईमा