निर्णय नं. ६९६१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९६१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: ४२ साल: २०५७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५७/०५/२९ ३८९७ निर्णय नं. ६९६१ ने.का.प. २०५७ अङ्क १२ पूर्ण इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री हरिश्‍चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री सम्वत् २०५६ सालको रि.पू.इ.नं. ....१०४ आदेश मितिः २०५७।५।२९।५ विषयः उत्प्रेषण । निवेदकः सिहरा जिल्ला, वस्तिपुर गा.वि.स. वडा नं.६ बस्ने आलोक गिरी विरुद्ध विपक्षीः परोपकार श्री ५ इन्द्रराज्यलक्ष्मीदेवी प्रसूतिगृह विकास समिति थापाथली, काठमाडौं समेत § परोपकार श्री ५ इन्द्रराज्यलक्ष्मीदेवी प्रसूति गृह विकास समितिको गठन हुँदा उक्त समितिमा श्री ५ को सरकारका कर्मचारीहरु समेत कार्यरत रहेका र त्यस्ता कर्मचारीहरुका सम्बन्धमा श्री ५ को सरकारको नियम अवलम्बन गरिने कुरा उक्त समितिको गठन आदेशको दफा ८.३ मा रहेको अवस्थामा २०५४ सालमा समितिको कर्मचारीहरुको सेवाका शर्त सम्बन्धी नियमावली स्वीकृत नभएसम्मका लागि श्री ५ को सरकारका कर्मचारी तथा समितिद्बारा नियुक्त कर्मचारीहरु सवैलाई समान रुपमा निजामती सेवा ऐन, २०५९ तथा निजामती सेवा नियमावली, २०५० लाई आधार बनाई कार्य संचालन हुँदै आएको र त्यस सम्बन्धमा समितिको उनन्चासौं बैठकबाट निर्णय समेत भएको अवस्था विद्यमान रहेको देखिँदा उल्लेखित नि.नं. ४९१२ को रिट निवेदनमा समावेश भएको तथ्य र प्रस्तुत रिट निवेदनको तथ्यमा मूलभूत रुपमा अन्तर रहेको देखिँदा उक्त रिट निवेदनमा यसै अदालतबाट प्रतिपादीत सिद्धान्त प्रस्तुत रिट निवेदनमा आकर्षित हुन सक्ने देखिएन । § तलब सहितको अध्ययन बिदा स्वीकृत गराई उक्त अवधिको तलब भत्ता बुझिलिएको, निवेदक सम्बन्धित अध्ययन संस्थानमा पनि हाजिर नरहेको र कार्यालयमा समेत उपस्थित नभई अनुशासनहीन र गैरजिम्मेवारपूर्ण कार्य गरेको र त्यस सम्बन्धमा निजको घर ठेगानामा पटक-पटक पत्राचार गर्दा सम्पर्क राख्‍न समेत नआएकोले गोरखापत्रमा सूचना प्रकाशित गरी सकेपछि पनि अध्ययन विदाको अवधि सम्म आफू अध्ययनरत रहेको भनी सो अवधि पछिको थप असाधारण विदा माग गरी वास्तविक तथ्य समेत फरक पारी दिएको निवेदन तथा स्पष्टीकरण सन्तोषजनक नभएको भनी समितिको सेवा शर्त सम्बन्धी आफ्नो नियम स्वीकृत भई नसकेको अवस्थामा सेवा शर्त सम्बन्धी सामान्य पक्रिया र प्राकृतिक न्यायको सिद्धान्त अनुरुप सफाईको मौका समेत दिई निवेदकलाई सेवाबाट हटाउने गरी भएको समितिको मिति २०५३।३।२ को निर्णय तथा तत्सम्बन्धी काम कारबाही अनुचित मान्‍न नमिल्ने । (प्र.नं.१६ र १७) निवेदक तर्फबाटः विद्बान अधिवक्ता श्री हरिप्रसाद उप्रेती विपक्षी तर्फबाटः विद्बान नायव महान्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ अवलम्बित नजिरः आदेश न्या.गोविन्दबहादुर श्रेष्ठः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत रिट निवेदनको व्यहोरा तथा आदेश यसप्रकार छः 2. म निवेदक समिति गठन हुनुपूर्व केन्द्रको मिति २०४६।९।९ को पत्रानुसार रा.प.अ.प्र.(प्रा) सरहको ल्याव टेक्निसियन पदमा मिति २०४६।९।१० देखि २०४६।१२।१५ सम्मको लागि करार सेवामा नियुक्ति पाई कामकाज गर्दै आएकोमा पुनः मिति २०४६।१२।१६ गते करार सेवामा २ महिनाको लागि म्याद थप गरियो । यत्तिकैमा ल्याव टेक्निसियन पदमा अन्तर्वाताद्वारा छानिएकोले २०४६।१२।३१ गते उक्त पदमा ६ महिनाको परिक्षणकालमा रहने गरी २०४७।१।२ देखी लागु हुने गरी नियुक्ति पाएको र समितिले २०४७।७।१५ मा मिति