निर्णय नं. ८९३७ - नागरिकता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९३७ - नागरिकता भाग: ५४ साल: २०६९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६९/०४/२९ ५१६० ने.का.प. २०६९, अङ्क १२ निर्णय नं.८९३७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री भरतराज उप्रेती माननीय न्यायाधीश श्री तर्कराज भटृ संवत् २०६६ सालको ०६६–CR–००६८ फैसला मितिः २०६९।०४।२९।२ मुद्दा :– नागरिकता । पुनरावेदक प्रतिवादीः जिल्ला चितवन, पटिहानी गा.वि.स. वडा नं. १ बस्ने सन्तोष ओझा विरुद्ध प्रत्यर्थी वादीः प्रहरी निरीक्षक रामबहादुर श्रेष्ठ समेतको प्रतिवेदनले नेपाल सरकार शुरु फैसला गर्ने :– मा.न्या.श्री हरिकुमार पोखरेल पुनरावेदन फैसला गर्ने :– मा.न्या.श्री भूपध्वज अधिकारी मा.न्या.श्री मोहनप्रसाद घिमिरे § एउटै अपराधको सम्बन्धमा अलगअलग कानूनअन्तर्गत कारवाही हुन सक्ने अवस्था देखिएमा सोहीअनुसार मुद्दा चलाउनु र सजाय गर्नु समेतलाई दोहोरो खतराको सिद्धान्तविपरीत भएको मान्न नसकिने । (प्रकरण नं.३) § आफ्नो साथमा रहेको सरकारी छाप दस्तखत भएको आफ्नै नामको एस.एल.सी. को लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्रमा आफ्नो जन्ममिति सच्याउने कार्य गरी पहिलो कसूर गरेकोमा सोही प्रमाणपत्रहरूमा सच्याइएको जन्ममितिलाई आधार मानी नेपाली नागरिकताको प्रमाणपत्र प्राप्तिका लागि सम्बन्धित निकायमा आवेदन फाराम समेत पेश गरेको कार्यबाट मुलुकी ऐन कीर्ते कागजको १ र २ नं. तथा नेपाल नागरिकता ऐन, २०२० को दफा १५ विपरीतको कसूर ठहरिने हुँदा उक्त दुई अलग अलग कार्यलाई एउटै कसूर हो भनी भन्न नसकिने । (प्रकरण नं.११) प्रत्यर्थी वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता युवराज सुवेदी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः § नेकाप २०५६, अङ्क ७, नि.नं. ६७५८ पृ. ५४८ § नेकाप २०६० अङ्क २, नि.नं. ८३२१ पृ. ३०९ § नेकाप २०६४ अङ्क ९, नि.नं. ७८७८ पृ. ११८१ सम्बद्ध कानूनः § नेपालको संविधान, २०१९ को धारा ११(४) § नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १४(२) § नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४(६) § मुलुकी ऐन अदालती बन्दोवस्तको ८५ नं. § कीर्ते कागजको १, २ र १२ नं. § नेपाल नागरिकता ऐन, २०२० को दफा १५ § न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) फैसला न्या.भरतराज उप्रेतीः पुनरावेदन अदालत हेटौडाको मिति २०६५।१०।१९ को फैसलाउपर चित्त नबुझी प्रतिवादीका तर्फबाट मुद्दा दोहोयाई पाऊँ भनी यस अदालतमा परेको निवेदनअनुसार यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्याई पाउने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहरको व्यहोरा यस प्रकार रहेको छः– जिल्ला चितवन पटिहानी, गा.वि.स. वडा नं. १ बस्ने श्रीकान्त ओझाको छोरा सन्तोष ओझाले आफूले प्राप्त गरेको एस.एल.सी. को लब्धाङ्कपत्र पत्रमा र चारित्रिक प्रमाणपत्रमा जन्ममिति २०४३।७।१४ गतेबाट सच्याई कीर्ते गरी मिति २०४५।७।१४ बनाई कीर्ते गरी कीर्ते गरिएको शैक्षिक प्रमाणपत्र संलग्न राखी नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय चितवनमा झूठा विवरण उल्लेख गरी आवेदन गरेको हुँदा निज व्यक्तिउपर अनुसन्धान गरिपाऊँ भन्ने समेत व्यहोराको प्र.नि. रामबहादुर श्रेष्ठको प्रतिवेदन । मैले आफ्नो एस.एल.सी. को लब्धाङ्कपत्रमा र चारित्रिक प्रमाणपत्रमा रहेको जन्ममिति २०४३।७।१४ गतेलाई आफैले सच्याई कीर्ते गरी मिति २०४५।७।१४ बनाई सो कागजातहरू समेत संलग्न राखी नेपाली नागरिकताको प्रमाणपत्र लिनको लागि जिल्ला प्रशासन कार्यालय, चितवनमा आवेदन गरेको हुँ