निर्णय नं. ४१२ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१२ - अंश भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०२/११ २६९४ निर्णय नं. ४१२ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री लोकराज जोशी न्यायाधीश श्री राजा ईश्वरी जंगबहादुर सिंह ०२३ सालको दे.फु.नं. ५७ निवेदक : सिउप्रसाद अहिर विरुद्ध विपक्षी : बाबादिन अहिर मुद्दा : अंश १. बाजे (प्रतिवादीको) को प्रकाश गरी राखेको स्वास्नीबाट वादी जन्मेको प्रमाणित भएको र वादी प्रतिवादीको बाबु दुवै बाजे (प्रतिवादीको) को दुई स्वास्नीतर्फका छोरा समान हकका अंशियार देखिन आएमा वादीले अंश नपाईसकेको भए अंश पाउनु पर्ने देखिन आउने । रामचरणको छोरा कायम गरी पाउँ भनी वादी सिउप्रसादले प्रतिवादी बाबादिन उपर दिएको जालसाजी मुद्दा पट्टि आजै यस बेञ्चबाट भएको फैसलाबाट वादी सिउप्रसाद रामचरणको प्रकाश गरी राखेको स्वास्नीबाटै जन्मेको छोरा ठहर भएकाले अंशियारै होइन भन्ने प्रतिवादीको उपरोक्त जिकीर समर्थित हुन आएन । वादी सिउप्रसाद र प्रतिवादी बावादीनको बाबु गुलाम दुवै जना रामचरणका २ स्वास्नी पट्टिका छोरा समान हकका अंशियार देखिन आएको र वादीले अंश लिई पाइसकेको भन्ने प्रतिवादीको जिकीर नभएकाले समेत वादीले प्रतिवादीबाट अंश पाउनै पर्ने देखिन्छ । (प्रकरण नं. १२) २. मानो छुट्टिएको मिति कुन दिन कायम गर्ने ? मानो छुट्टिएको मिति भनेर वादीले एक दिन देखाएको र प्रतिवादीले वादी अंशियार नै होइन भनेर जिकीर लिई प्रतिवादीको मुख नमिलेर मानु छुट्टिएको ऐनबमोजिम रीतपूर्वकको लिखत सबुद पनि नभए वादीले नालेस गरेको दिनको अधिल्लो दिनलाई मानु छुट्टिएको कायम गर्नुपर्ने । वादीले ०१७ साल कार्तिक ३० गतेको मिति देखाएकोमा प्रतिवादीले अंशियारै नहुँदा अंश दिनु नपर्ने कुराको जिकीर लिएको भई सो मितिमा मानो छुट्टिएको भन्ने कुरामा प्रतिवादीको मुख नमिलेको र मानु छुट्टिएको ऐनबमोजिम रीतपूर्वकको लिखत सबुद पनि नभएकोले यस स्थितिमा वादीले नालेस गरेको ०१७।८।७।३ को अधिल्लो दिन ०१७।८।६।२ लाई नै मानु छुट्टिएको मानि कायम मान्नु पर्ने हुन आएको छ । (प्रकरण नं. १३) वादी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद वर्मा प्रतिवादी तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल फैसला १. प्रतिवादी बावादीनको बाजे रामचरण मेरा बाबु हुँदा प्रतिवादी मेरो भतिज हो । हामी सगोलमा बसी आएको हाल अमेल भई चल धनमाल र घर समेत अंश दिसकेको जग्गाको बण्डा नदिएकोले आधा जग्गा दिलाई मेरा नाउँमा दाखेल खारेज गराई पाउँ भन्ने वादी । २. वादी मेरा बाजे रामचरणको छोरा र मेरा बाबुको भाइ होइनन । निज सहत्ती अहिरका छोरा हुन । सहत्तीका २ छोरामा जेठो दुवर कान्छो वादी भई वादी र दुवर सगोलमा छन । मेरो अंशियार नहुँदा वादीलाई अंश दिनु नपर्ने भन्ने समेत प्रतिवादी । ३. वादीलाई सहत्तीको छोरा भनी प्रतिवादीले लेखेको कुरा साक्षीको ०१७।११।५ मा बकसपत्र हुँदा रोहवरमा भएको वादीले थाहा पाएपछि समयमै उजुर गरी रामचरणको छोरा कायम गराउनु सक्नु पर्ने नसकेकाले समेत वादीले झुठ्ठा उजुर गरेको ठहर्छ भन्ने बाँके इलाका अदालतको फैसला । ४. सहत्ती मरेपछि मेरी आमालाई बाबा राचरणले चुरीया पैराई स्वास्नी बनाई राखेपछि रामचरणको विर्यबाट उहाँकै घरमा म जन्मी सँगै एका सराकतमा बसी आमाबाबु परलोक भएपछि जेठो बाठो दाजु गुलामका नाउँमा र निज दाजु गुलाम परलोक भएपछि उनको छोरा विपक्षीको नाउँमा दर्ता गराई सगोलबाट भोग चलन गरी आएको छौं