निर्णय नं. ६०५२ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०५२ - परमादेश भाग: ३७ साल: २०५२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५२/०८/२९ २५९३ निर्णय नं. ६०५२ २०५२, ने.का.प. अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५० सालको रि.नं. ३२७१ आदेश मिति : २०५२।८।२९।६ विषय : परमादेश । निवेदक : दार्चुला जिल्ला लाली गा.वि.स. वडा नं. ७ विटोरा बस्ने भु.पु.प्र.ह. हरिसिं धामी विरुद्ध विपक्षी : प्रहरी प्रधान कार्यालय, नक्साल क्षेत्रीय प्रहरी इकार्इ कार्यालय धनगढी ऐ का.का.वा. प्रहरी बरिष्ठ उपरिक्षक टिकाराम सुवेदी सुदूर पश्चिम क्षेत्रीय प्रहरी कार्यालय, दिपायल ऐ का. प्रहरी नायव महानिरिक्षक, द्वारिका बहादुर श्रेष्ठ § पुनरावेदन निर्णयको जानकारी पाउनु भन्दा अगावै आफूले सम्माननीय प्रधानमन्त्री छेउ समेतमा दिएको निवेदनलाई आधार बनाई विलम्ब भएको छैन भन्नु उचित नदेखिने । (प्रकरण नं. १०) § उचित न्यायिक निकाय भन्दा अन्यत्र निवेदन दिई कारवाई चलाइएको कारणले विलम्ब क्षम्य हुन सक्दैन । त्यस्तो ढिलाई मुनासिब मान्न नमिल्ने । (प्रकरण नं. १०) § आफ्नो हक हनन भएको छ भने निवेदक आफ्नो हक प्रति सजग रहनु पर्छ र समयमा नै उचित निकायमा आउनु पर्ने । (प्रकरण नं. १०) रिट निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री पवनकुमार ओझा प्रत्यर्थी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठ अवलम्बित नजीर : x आदेश न्या.त्रिलोकप्रताप राणा : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत दायर भै पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. निवेदक मिति २०४८।४।१ मा कैलाली कारागार सुरक्षागार्डमा सरुवा हुनु अघि क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलमा २०४१ साल देखि प्रहरी जवान पदमा र २०४७ सालमा बढुवा पाई सोही कार्यालयमा प्रहरी हवल्दार पदमा कायम गर्दै आएको प्रहरी कर्मचारी हुँ । २०४८ साल असार महिनामा क्षे.पै.का. दिपायलका संचार दरबन्दीका प्र.नि. दानसिं बढा एक मजदुरको डेरामा गई जाँड, रक्सी खाई पैसा नतिरी हो हल्ला कुटपिट गरी डर धाक धम्की देखाएको समेतबाट सेती अञ्चल प्रहरी कार्यालयका प्रहरी उपरिक्षक गयाप्रसाद साहु घटनाको छानबिनको लागि खटिई आएपछि घटनाको प्रसंग अन्त्य गरियो । उक्त घटनाको लगत्तै पछि घटनामा लान्छना लगाई निज गयाप्रसाद साहुले म समेतलाई क्षे.पै.का. बाट सिफारिश सहित दरबन्दी समेत उल्लेख गरी प्र.प्र.का. मा पत्र पठाई कैलाली कारागार गार्डमा सरुवा गरी अन्याय गरे र झुठ्ठा आरोप लगाई बेपायक ठाउँमा सरुवा गरेको हुनाले अन्यायी माथि कारबाही गरी मेरो सरुवा समेत गरी पाउँ भनी माननीय गृह मन्त्री समक्ष मिति २०४८।१०।२२ मा निवेदन दिएँ । उक्त निवेदन तहगत रुपमा सर्दै क्षे.प्र.इ.का. धनगढीमा पुग्यो । गृह मन्त्री समक्ष दिएको निवेदन र क्षे.प्र.इ.का.ले सोधेको प्रश्नहरुको जवाफ स्वरुप मिति २०४९।१।१२ मा दिएको प्रतिवेदनमा क्षे.प्र.ई.का. का अधिकृतहरु नातावाद, कृपावाद, गर्दछन् । घुस दिनेलाई रोजेको ठाउँमा सरुवा गर्ने, बढुवा गर्नुको साथै घुस नदिने र मन नपरेको न्यूनस्तरका कर्मचारीलाई जथाभावी वेपायक पर्ने ठाउँमा सरुवा गर्ने गर्दछन् । मैले गयाप्रसाद साहुले प्र.ह. प्रेमबहादुर कुँवरको बढुवाको लागि रु. १०,०००।– घुस खाएको कुरा आफैंले देखेको भनी प्रहरी जवान शंकरबहादुर कुँवरले भनेका हुन भनी उल्लेख गरेका थिए । कारवाही कै प्रसंगमा घुस दिएको देखेको छु भनेका हुन भनी मैले उल्लेख गरेको शंकरबहादुर कुँवर समेतल