निर्णय नं. ५०३१ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०३१ - लेनदेन भाग: ३७ साल: २०५२ महिना: बैशाख अंक: १ फैसला मिति :२०५१/११/११ ५३७८ निर्णय नं. ५०३१ ने.का.प. २०५२ अङ्क १ पूर्ण इजलास माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय दे.पु.ई.नं. ५० फैसला मिति : २०५१।११।११।५ मुद्दा : लेनदेन । पुनरावेदक/वादी: जिल्ला महोत्तरी जलेश्वर नगरपालिका वडा नं. ६ बस्ने शिवजी शाह सोनार । विरुद्ध प्रत्यर्थी/प्रतिवादी: ऐ.ऐ. वार्ड नं. ७ बस्ने सीताराम ठाकुर । प्रतिवादी तर्फबाट पैसा बुझाएको भनी रीतपूर्वकको भरपाई पेश गर्न सकेको देखिँदैन । प्रतिवादीतर्फबाट पेश हुन आएका चिटहरुमा पैसा लिए बुझाएको कुनै कुरा उल्लेख भएको पाइंदैन। रकम र मिति मात्र उल्लेख गरेको कागजलाई भर्पाईको रुपमा मान्यता दिन मिल्न सक्ने स्थिति नदेखिने । (प्रकरण नं. १६) पेश भएका चिटहरु मिति ०३५।९।३ कै तमसुकी रुपैयाको हो भन्ने कुरा कतैबाट यकिन हुन नआएको अवस्थामा अन्दाजको भरमा पेश भएका चिटहरु मिति ०३५।९।३ को तमसुक बमोजिमको रुपैया“ बुझाएकै चिट हो भनी अनुमान गर्न नमिल्ने । (प्रकरण नं. १६) लेनदेन व्यवहारको ५ नं. अनुसार भरपाई गरी खुलाउन पर्ने कुराहरु नखुलेको र प्रतिवादीतर्फबाट पेश भएको चिट (कागज) को आकृतिगत स्वरुपबाट पनि भरपाई भन्न मिल्ने नदेखिंदा पेश भएको उक्त चिटहरु (कागज) कानुनको रीत पुगेको तमसुक फेला नपरी गरिने भरपाईको आन्तरिक र बाह्य लक्षण पनि मौजुदा रहेको नहुँदा शुरु र जनकपुर अञ्चल अदालतको फैसला केही उल्टी गरी तमसुक बमोजिमको पुरै रकम भराई दिने गरेको माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय मनासिब ठहर्ने । (प्रकरण नं. १६) पुनरावेदक वादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी तथा विद्वान अधिवक्ता श्री सुरेन्द्रकुमार महतो प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री महादेव यादव अवलम्बित नजीर: ने.का.प. २०३१ पृष्ठ १४१ मा प्रतिपादित सिद्धान्त । फैसला न्या.लक्ष्मणप्रसाद अर्यालः यस अदालत संयुक्त इजलासबाट हेरिँदा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम निर्णयार्थ पूर्ण इजलासमा पेश गर्नु भन्ने आदेश भए बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. निज विपक्षीले आफ्नो घर खर्च गर्न निमित्त रु. ३५,०००।– पैंतीस हजार साक्षीहरुको रोहवरमा गनी बुझी लिई सैकडा १० को दरले ब्याज साथ आउने ०३६ साल माघ मसान्तसम्म साँवा ब्याज समेत बुझाउन सकिएन भने मेरो धनमाल जेथाबाट असुल उपर गरी लिनु भनी २०३५ साल पौष ३ गते रोज २ का दिन मलाई कपाली तमसूक लेखी सहिछाप गरी दिएको सक्कल लेखत मसँग छ सो म्यादभित्र साँवा ब्याज बुझाई दिनुस् भनी बारम्बार निज विपक्षीलाई भन्दा निजले बेइमानी चिताई पचाउने मनसाय देखि लेनदेन व्यवहारको २ नं. बमोजिम म्याद भित्र यो नालिश गर्न आएको छु । अतः मेरो तपसिलको साक्षी प्रमाण बुझी लेखत मिति देखि आजसम्म ९ वर्ष ३ महिना १८ दिनको रु. ३५,०००।– सयकडा १० को दरले हुने रु. ३२५४७।६० गरी जम्मा रु. ६७५४७।६० र यसको लाग्ने कोर्ट फी अन्य दस्तुर समेत तथा फैसला मिति देखि बिगो भरी भराउ भएसम्मको ब्याज समेत दिलाई भराई पाउँ भन्ने वादीको फिराद दावी । ३. वादीले फिरादमा उल्लेख गर्नु भए अनुरुप वादीसँग २०३५।९।३ का दिन मैले ३५,०००।– रुपैयाँ लिएको छैन वादीसँग ०३४ साल पौष महिनामा फिरादमा उल्लेखित रकमलाई कपाली तामसुकको कागज लेखी दिएको थियो वादी एकै पञ्चायतको वासिन