निर्णय नं. ५०३६ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०३६ - अंश भाग: ३७ साल: २०५२ महिना: बैशाख अंक: १ फैसला मिति :२०५१/०८/१२ २६८४ निर्णय नं. ५०३६ ने.का.प. २०५२ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा सम्वत् २०४९ सालको दे.पु.नं. ५२६ फैसला मिति : २०५१।८।१२।२ मुद्दा : अंश । पुनरावेदक/प्रतिवादी: धनपत राठको छोरा बाँके पुरेनी गा.वि.स. वार्ड नं. ६ बस्ने वर्ष ५० को रंगी राठ । विरुद्ध विपक्षी/वादी: हरदत्त राठको पत्नी ऐ.ऐ.बस्ने ईन्द्रपरा राठनी । अंशबण्डाको ३० नं. मा मुलुकी ऐन सातौं संशोधन (२०३४) हुनु पूर्व बण्डापत्र खडा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नो भाग लिई पाइसकेपछि दाखिल खारेज समेत गराई वा बण्डा बमोजिम आफ्नो आफ्नो भागको अचल सम्पत्ति छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बण्डा भइसकेको ठहरेको अवस्थामा मात्र अंशबण्डा भैसकेको मान्नु पर्ने हुँदा प्रस्तुत मुद्दामा वादी प्रतिवादी एकासगोलको अंशियार देखिन आएबाट फिराद दावी अनुसार वादीले प्रतिवादीबाट अंश छुट्टयाई लिन पाउने नै देखिन आयो । अतः प्रतिवादीबाट वादीले अंश छुट्टिसकेको सबूदको अभावमा पुनरावेदन अदालत नेपालगंजले पेश भएको तायदाती फाँटवारीको सम्पत्तिको २ भागको १ वादी दावी बमोजिम अंश पाउने ठहर्‍याएका इन्साफ मिलेकै देखिँदा प्रतिवादीको पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. ११) पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री सुशीलकुमार पन्त, श्री बाबुराम गिरी विपक्षी तर्फबाटःX अवलम्बित नजीरःX फैसला न्या.ओमभक्त श्रेष्ठः पुनरावेदन अदालत नेपालगंजको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ :– २. मूलपुर्खा रामनाथ राठका छोरा परमेश्वर राठको दुई छोरा जेठो धनपत राठ कान्छो म फिरादीको लोग्ने स्व, हरदत्त राठ, धनपतको छोरा प्रतिवादी रंगी राठ भै निज रंगी राठ र म वादी आधा आधा अंशियार हौं । जग्गा जमीन जसको नाममा भए पनि हामीहरु बीच अंश बण्डा भएको छैन । अघि मधुवन मौजाको आठ आना जमीन विगाहा २४–२–५ पुरेनी मौजाको नम्बरी ज.वि. ४–४–५ गोपालपुर मौजाको ज.वि. १–६–११ ससुरा परमेश्वर राठको नाममा थियो । ससुरा परलोक भएपछि जेठाजु धनपतले दर्ता गराउनु भएको थियो । पछि पैत्रिक घर सानो भै मेरो लोग्ने स्वास्नीलाई अर्कै घरमा राख्नु भएको र जेठाजुले आफ्नो नाममा जग्गा जमीन राखी मेरो लोग्नेको नाममा पुरैनीको जग्गा आधा २–२–२ दर्ता गराउनु भयो । जेठाजु तथा लोग्नेको स्वर्गेपछि प्रतिवादी भतिजा रंगी राठ घरको मुख्य भै जेठाजुको नाममा रहेको जग्गा आफ्नो नाममा गराई व्यवहार समेत गरी आएकोपछि निज प्रतिवादीले तपाईको छोरी मेरो बहिनी पर्ने पतराजाको विवाहमा केही दिन सकिएन । अलि जग्गा दिनु पर्‍यो भन्दा आफ्नै छोरी भएकीले मेरो नामको जग्गा मध्ये ०–१–१ बाँकी राखी अरु जग्गा छोरीलाई बकसपत्र गरी दियो । जग्गा दर्ता श्रेस्ता तथा घर भिन्न भएकाले प्रतिवादीले मलाई अंश नदिने विचार गरी मेरो कुनै वास्ता नराखी मेरो अंश देउ भन्दा हुन्छ भन्दै गरी २०४३।९।५ गते मेरो नामको जग्गामा तिम्रो अंश छैन अंश दिन्न भनेकाले अंश बण्डाको ३५ नं. अनुसार फिराद गरेकी छु । अंश बण्डाको २१, २२, २३ नं. अनुसार कारवाही गरी सम्पूर्ण सम्पत्तिको फाँटवारी लिई त्यसमा २ खण्डको १ खण्ड अंश पाउँ भन्ने २०४३।९।१८ को ईन्द्रपरा राठनीको फिराद । ३. अन्दाजी ४० वर्षअघि वादीको लोग्ने तथा मेरो बुबा घरसारमा छुट्टि भिन्न भैसकेका हुन। वादी मेरो एकासगोलकी होइनन् । वादी