निर्णय नं. २२७७ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२७७ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४२/०२/०७ २३३७ निर्णय नं. २२७७ ने.का.प. २०४२ अङ्क २ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४१ सालको रिट नम्बर १६७७ विषय : बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ । निवेदक :जिल्ला कार्यालय कारागार शाखा, नख्खुमा कैद रहेका कृष्ण प्रसाद सेढाईको हकमा दिपकराज ढकाल । विरूद्ध विपक्षी : जिल्ला कार्यालय कारागार शाखा, नख्खु । अंचलाधीश वागमती अंचलाधीशको कार्यालय,काठमाडौं । गृह मन्त्रालय,सिंहदरबार,काठमाडौं । प्रहरी प्रधान कार्यालय,नक्साल । आदेश भएको मिति:०४२।२।७।२ मा सार्वजनिक सुरक्षा ऐन, २०२८ को दफा ३(१)(ख) को कुरामा विरोध पर्न जाने भनी ऐनको दफा मात्र उल्लेख गरी नजरबन्द राख्ने आदेश दिँदैमा पूर्वावस्था छ भन्न मिल्दैन । (प्रकरण नं.१५) आदेश दिने अधिकारीले ऐनको दफा ३(१) को विरोध पर्न जाने ठानेर मात्र हुँदैन सो ठान्न पूर्वावस्था विद्यमान हुनुपर्छ । (प्रकरण नं.१८) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा तथा विद्वान अधिवक्ता श्री सुभास नेम्वाङ विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री कृष्ण प्रसाद श्रेष्ठ उल्लेखित मुद्दाःX आदेश न्या.त्रिलोक प्रताप राणाः नेपालको संविधानको धारा ७१ अन्तर्गत बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भनी रिट निवेदन मिति ०४१।९।६ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : बन्दी कृष्ण प्रसाद सेढाई गत कैयौं वर्ष देखि कारागारमा थुनामा रही वहाँले कानुन बमोजिम व्यतीत गर्नुपर्ने १० वर्षको कैद र पुनरावेदन गरे वापत थप कैद समेत भुक्तान गरी सक्नु भएको छ । ठेकिएको लगत अनुसार वहाँले गत मंसिर महिनामा नै सम्पूर्ण कैद भुक्तान गरी सक्नुभएको छ र कुनै मुद्दा वापत कैद भुक्तान गर्न बाँकी छैन । वहाँलाई अन्य कानुन बमोजिम थुनामा राख्नु पनि कुनै पूर्वावस्था विद्यमान नै छैन तर हालसम्म पनि कृष्ण प्रसाद सेढाइलाई कारागारबाट मुक्त गरिएको छैन । कारागार ऐन अनुसार कारागारको जाँच गरी बढी कैद राखिएको कैदीलाई कैदबाट मुक्त गर्ने कर्तव्य विपक्षी नं. २ को हो । अधिराज्यभित्रको कुनै पनि कारागार प्रत्यक्ष विपक्षी नं. ३ अन्तर्गत हुन्छ । उल्लेख गरिए अनुसार कैद म्याद भुक्तान भई सक्दा पनि कारागार मुक्त नगरिएकोले थुनामा रहेको ठाउँ विपक्षी नं. १ समक्ष गई बुझ्दा वहाँसँग भेट्न नदिएको र विपक्षी नं. १ को कारागारमा नभई कहाँ हुनुहन्छ भन्न नसकिने जानकारी प्राप्त हुन आयो । हाल वहाँको सम्बन्धमा कुनै जानकारी छैन । यसरी कानुनले ठेकेको कैद म्याद भुक्तान भइसकेपछि पनि कैदबाट मुक्त गर्नुपर्ने दायित्व भएका विपक्षीहरूले कृष्ण प्रसाद सेढाइलाई बदनियत र पूर्वाग्रहले ग्रसित भई बेपत्ता पारी नमालुम कहाँ लगी गैरकानुनी रूपमा हालसम्म राखी राखेको हुनाले यो निवेदन दिएको छु । विपक्षहरूको उक्त कार्यबाट कृष्ण प्रसाद सेढाइको कानुन बमोजिम बाहेक अपहरित हुन नसक्ने संविधान प्रदत वैयक्तिक स्वतन्त्रता र समानताको हक, नागरिक अधिकार ऐनद्वारा प्राप्त कानुनी हकमा समेत आघात पुगेकोले सम्मानीत अदालत समक्ष वहाँको तर्फबाट यो निवेदन दिएको छु । ३. विपक्षीहरूद्वारा लिखित जवाफ मगाई पेश गर्नु भन्ने सिंगल बेञ्चको मिति २०४१।९।९।१ को आदेश अनुसार प्राप्त हुन आएको लिखित जवाफ निम्न प्रकार रहेछ : ४. अधिराज्यको कुनै कारागार विपक्षी नं. ३ अन्तर्गत हुन