निर्णय नं. ८६५१ - फैसला आदेश बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६५१ - फैसला आदेश बदर भाग: ५३ साल: २०६८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६८/०३/२१ ४८२७ ने.का.प. २०६८, अङ्क ७ निर्णय नं.८६५१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री तर्कराज भट्ट संवत् २०६२ सालको दे.पु.नं. ९४३३ फैसला मितिः २०६८।३।२८।३ मुद्दाः फैसला आदेश बदर । पुनरावेदक प्रतिवादीः काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं ९ वस्ने मिठू राणा विरुद्ध प्रत्यर्थी वादीः काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं २९ ठमेल वस्ने नाति महर्जनको मुद्दा सकार गर्ने निजको छोरा लक्ष्मीनारायण महर्जन समेत शुरु फैसला गर्नेः मा.न्या. श्री ठाकुरप्रसाद शर्मा पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री सोमबहादुर कोइराला मा.न्या.श्री हरिबहादुर बस्नेत § फरक–फरक व्यक्तिहरूले फरक–फरक जिकीर लिई फिराद दायर गरेको अवस्थामा पनि एउटै तथ्य र विषयवस्तुमा एउटै न्यायाधीशले कहिले सदर र कहिले बदर गर्ने गरी राय व्यक्त गरी गरेको फैसलामा न्यायिक मनको प्रयोग गरी स्वच्छ सुनुवाइको आधारमा निर्णय भए गरेको रहेछ भनी सम्झन नमिल्ने । (प्रकरण नं.३) § न्यायाधीशले गरेको निर्णय निष्पक्ष तथा स्वच्छ सुनुवाइ गरी भएको हुनुपर्दछ भन्ने मात्र होइन, निष्पक्ष तथा स्वच्छ सुनुवाइ गरी भएको हो भन्ने देखिनु पनि पर्ने । (प्रकरण नं.४) § निर्णयकर्ताले एउटै विषयवस्तु समावेश भएको विवादको विषयमा एक पटक आफ्नो राय व्यक्त गरिसकेको अवस्थामा सोही विषयवस्तु समावेश भएको अर्को मुद्दामा पहिले व्यक्त भएको रायविपरीत कुनै आधार र कारण नखुलाई राय व्यक्त गर्ने कामकारवाही प्राकृतिक न्याय तथा स्वच्छ सुनुवाइको सिद्धान्तअनुकूल भए गरेको मान्न नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ता श्री लोकभक्त राणा अवलम्बित नजीरः सम्बद्ध कानूनः § न्याय प्रशासन ऐन, २०४८ को दफा १३(४)(ख)(ग) फैसला न्या.तर्कराज भट्टः पुनरावेदन अदालत, पाटनको मिति २०५६।२।१० को फैसलाउपर यस अदालतबाट मुद्दा दोहोर्याउने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः– मिठू राणा वादी भै अन्यायी मध्येको कृष्णध्वज राणा, मीनकुमारी राणा समेतलाई प्रत्यर्थी बनाई सर्वोच्च अदालतमा उत्प्रेषण मुद्दा दिई अन्यायीहरू पक्ष विपक्षी मिली २०३४।९।७ मा आदेश गराएका रहेछन् । सो आदेश भएको कुरा हामीलाई जानकारी थिएन । अहिले मिठू राणाले हामीहरूको नाउँमा लिखत बदर र दर्ता बदर समेत मुद्दा दिएकोमा सो मुद्दाको म नाति महर्जन समेतका नाउँको म्याद हेर्दा फिराद नक्कलमा मिति २०३४।९।७ मा रिट नं. १४०८ को आदेशले बदर भएको भनी लेखिएको देखिँदा सो आदेश के रहेछ भनी हेर्दा निवेदक मिठू राणा विपक्षी कृष्णध्वज, मीनकुमारी, विष्णुकुमारी समेतलाई विपक्षी बनाई बालाजु वडा नं. १(क) को कि.नं. ९३ र अन्य कित्ता समेतमा दर्ता बदर गरिपाऊँ भनी रिट निवदेन परी सो निवेदन खारेज गरिपाऊँ भनी मीनकुमारीको लिखित जवाफ परी सर्वोच्च अदालतबाट निर्णय बदर हुने ठहरी २०३४।९।७ मा आदेश भएको रहेछ । म नाति महर्जनले मीनकुमारीसँग उपरोक्त कि.नं. ९३ को ३–८–०–० जग्गा २०३८।२।२१ मा हा.व. गरी लिएको थिएँ । सो जग्गा नीलध्वजको नाउँमा रैकरमा दर्ता भएको हा.नं. २९३ को कुराल पुखुको ५ रोपनी १२ आनाको जग्गा हो । सोही जग्गा नापीमा कि.नं. ९३ को क्षे.फ. ३–८–० कायम भएको हो । वण्डा हुँदा मीनकुमारीको भागमा परी मीनकुमारीबाट २०३८।२।