निर्णय नं. २३३८ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३३८ - ज्यान भाग: २७ साल: २०४२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४२/०४/२० २४२४ निर्णय नं. २३३८ ने.का.प. २०४२ अङ्क ४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह सम्वत् २०४१ सालको फौ.पु.नं. ६२३ मुद्दा : ज्यान । पुनरावेदक/वादी: प्रहरी चौकी मैना पोखरीको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : बर्दिया जिल्ला जमुनी गा.पं.वडा नं. ३ बस्ने देवी लामिछानेसमेत फैसला भएको मिति :२०४२।४।२०।१ मा बालक जन्माई होससम्म नपुर्‍याएकोबाट नवजात शिशुको ज्यान मर्न गएकोमा ज्यानसम्बन्धीको ६ नं. बमोजिम प्र.लाई सजायँ गर्ने गरेको इन्साफ मनासिव हुँदा सदर हुने । (प्रकरण नं.२४) पुनरावेदक वादी तर्फवाट:विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदार प्रसाद शर्मा विपक्षी प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला प्र.न्या.नयन बहादुर खत्री: मध्य पश्चिमान्चल क्षेत्रीय अदालतले गरेको इन्साफमा चित्त नबुझी वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा मिति ०४१।२।१५ मा दर्ता हुन आएको पुनरावेदन, फौजदारी पुनरावेदन लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत ज्यान मुद्दाको संक्षिप्त विवरण यस प्रकार छन् : २. जमुनी गा.पं. २ मा भेटिएको बच्चाको लाश ऐ. गा.पं.को सचिव कृष्णराज अधिकारी र देवी लामिछानेको अनुचित शारीरिक सम्बन्धबाट जन्मेको र सुत्केरी हुँदा देवी लामिछानेको आमाले स्याहार गरी, बच्चा जन्मी सकेपछि मारी फालेको भन्ने बुझिएकोले जाहेर गरेको हुँ भन्ने प्रहरी चौकी मैनापोखरीको का.प्र.स.नि. बल बहादुरको जाहेरी पत्र । ३. जन्मिएको जातकको लाश हेर्दा बायाँ आँखाको गेडी र मासु समेत नभई हड्डी मात्र देखिएको १० महिना पूरा भई जीवितै अवस्थामा जन्मिएको देखिने भन्ने लाश प्रकृति मुचुल्का । ४. धेरै रगत बगेकोले वेहोस भएछु । कुन समयमा मेरो बच्चा जन्मियो म वेहोस भएकोले केही थाहा पाइन आमा हिमकला र कृष्णराज समेतले बच्चा उठाई मारी फाले वा मैले नै बेहोसमा फालें केही थाहा भएन भन्ने समेत प्र.देवी लामिछानेले प्रहरीमा गरेको बयान कागज । ५. दुवै जनाको मञ्जूरीले मेरो करणीबाट निजलाई गर्भ रहन गएकोबाट बालक जन्मेपछि बालक मार्ने मराउनेमा मेरो सहमति छैन भन्ने समेत व्यहोराको प्र.कृष्णराज अधिकारीले प्रहरीमा गरेको कागज । ६. छोरी देवी लामिछाने नछुनी भएको भनी बुहारीले भन्दा माथिबाट ओछ्याउने कपडा फाली दिएको, चनावारीमा मरेको बच्चा हेर्न गई लाश देखेको हुँ, देवी लामिछाने भागी गएकीले निजैले बच्चा जन्माई मारी फालेको शंका लागेको, छोरी सुत्केरी हुँदा मैले स्याहार संभार गरेकी छैन बच्चालाई मैले मारी फालेको पनि छैन भन्ने समेत प्र.हिमकली लामिछानेले प्रहरीमा गरेको बयान कागज । ७. मृतक बच्चाको लाश अरहरबारीमा देखेको हुँ, म सो लाश देखेपछि देवी घरबाट भागेकीले इज्जतबाट बच्नको लागि निजैले बच्चा जन्माई मारेको हुनुपर्छ भन्नेसमेत बसुन्धरा जैसिनीले प्रहरीमा गरेको बयान कागज । ८. प्र.देवी लामिछाने र सचिव कृष्णराज अधिकारीको अवैध सम्बन्ध भई देवीलाई गर्भ रहन गएकोबाट जन्मेको बालक इज्जत जाने डरले निजै देवी लामिछानेले कर्तव्य गरी मारेको शंका लाग्छ घरमा अन्य परिवार र कृष्णराज अधिकारी समेतको बच्चा मार्नमा सहमति भए लाशलाई गाड्न पनि सक्ने थिएँ त्यसो नगरेकोले तिनीहरूको सहमति भएको जस्तो लाग्दैन भन्ने समेतको व्यहोराको सरजमीन मुचुल्का । ९. प्र.देवी लामिछानेले बच्चा जन्माई कर्तव्य गरी बालक मारी फालेको सिद्ध हुन आएको र निजक