निर्णय नं. २३४० - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३४० - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४२/०३/२७ २६७४ निर्णय नं. २३४० ने.का.प. २०४२ अङ्क ४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह सम्वत् २०४० सालको रिट नं. १६३९ विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक :भ.पु.जि.छालिङ गा.पं.वा.नं. १ पिखेल बस्ने राम बहादुर खड्का । विरूद्ध विपक्षी :श्री ५ को सरकार मन्त्री परिषद् सचिवालय काठमाडौं । श्री ५ को सरकार विशेष प्रहरी विभाग, काठमाडौं। हुलाक सेवा विभाग,काठमाडौं । आदेश भएको मिति:२०४२।३।२७।५ मा नि.से.नि. को नियम १०.१ बमोजिम विभागीय सजायँ गर्दा उचित र पर्याप्त कारण छ भन्ने कुरा वस्तुगत रूपमा निर्णय पर्चाबाट देखिनु पर्छ । उचित र पर्याप्त कारण छ भन्ने कुरा सजायँ गर्ने निकाय वा अधिकारीलाई लागेर मात्र हुँदैन, त्यस्तै गरी सजायँ गर्ने निकायले उल्लेख गर्न नसकेको कुरा पुनरावेदन सुन्ने निकायले उल्लेख गर्दैमा नियम १०.१ को मनसाय पूर्ति भएको भन्न मिल्दैन । (प्रकरण नं.९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु प्रसाद ज्ञवाली विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. म निवेदक ०२६ सालमा खरिदार पदमा शुरू नियुक्ति भई ०३३ सालमा हुलाक सेवा विभागको ना.सु. पदमा बढुवा पाई ०३८ सालमा गोश्वारा हुलाकमा सरुवा भई ऐ. कार्तिक महिनामा वैदेशिक हुलाकको इम्पोर्ट सेक्सनमा सरुवा भई इमान्दारीपूर्वक काम काज गरिआएको थिएँ । नियमानुसार जाँच गरी महसूल लिई सामान छाड्नु पर्नेमा सो नगरी गैरकानुनी तरिकाबाट पार्सल सामान पाटीलाई उपलब्ध गराई दिई भ्रष्टाचार निवारण ऐन, २०१७ को परिच्छेद २ अन्तर्गतको कसूर गरेको भन्ने अभियोगको अनुसन्धानको सिलसिलामा हिरासतमा लिई पटक–पटक बयान गराई छोडियो । ०३९।२।२७ को पत्रद्वारा स्पष्टीकरण मागिएकोमा इन्कारी स्पष्टीकरण पेश गरे । स्पष्टीकरण सन्तोषजनक नभएको भनी भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने गरी नोकरीबाट किन बर्खास्त नगर्ने भन्ने सजायँ प्रस्तावित गरी ०३९।३।६ को पत्रद्वारा स्पष्टीकरण माग गरियो र सजायँ हुनु नपर्ने विस्तृत कुरा खुलाई स्पष्टीकरण पेश गरेको थिएँ । ०३९।१२।२ को पत्रद्वारा भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने गरी आजैका निर्णय पर्चा बमोजिम नोकरीबाट बर्खास्त गरिएको छ भन्ने सूचना दिइयो । सो निर्णय उपर पुनरावेदन गरेकोमा कसूरको मात्रा अनुसार भविष्यमा सरकारी नोकरीको लागि सामान्यतः अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने ठहर्‍याई श्री ५ को सरकारबाट मिति ०४०।५।१ मा पुनरावेदन निर्णय भएको भन्ने सूचना हुलाक सेवा विभागको ०४०।५।६ को पत्रद्वारा दिइयो । ३. निजामती सेवा नियमावली, २०२१ को नियम १०(१) को देहायमा उल्लिखित सजायँ गर्नका लागि सजायँ गर्नुपर्ने उचित र पर्याप्त कारण भएको हुनु अनिवार्य छ । निवेदकलाई नोकरीबाट बर्खास्त गर्ने गरेको विशेष प्रहरी विभागको निर्णय पर्चामा निवेदकले भ्रष्टाचार गरेको भन्ने ठहर सम्म पनि गरिएको छैन । नाम किटान गरी भ्रष्टाचार गरेको भन्ने कुराको उचित र पर्याप्त कारण देखाई कसूरदार ठहराउनै नसकेको अवस्थ