निर्णय नं. ४७६२ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७६२ - उत्प्रेषण समेत भाग: ३५ साल: २०५० महिना: असोज अंक: ६ फैसला मिति :२०५०/०३/०३ २५१५ निर्णय नं. ४७६२ ने.का.प. २०५० (ख) अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्वत २०४८ सालको रिट नं. १६५१ आदेश मिति: २०५०।३।३।१ निवेदक : का.न.पा.वडा नं. २२ पाको न्यूरोड घर भै ने.वै.लि. बाट का.मु. सहायक प्रबन्धक पदबाट बर्खास्त गरिएको श्यामराजा श्रेष्ठ । विरुद्ध विपक्षी : श्री संचालक समिति ने.वै.लि. काठमाडौं समेत । विषय : उत्प्रेषण समेत । (१) नेपाल बैंक लिमिटेड कर्मचारी नियमावली, २०३१ मा सजाय गर्ने अधिकारी महाप्रबन्धकलाई तोकिएको कुरामा लिखित जवाफ प्रस्तुत गर्ने नेपाल बैंक लिमिटेडले आफ्नो लिखित जवाफमा स्वीकार गरी निमित्त महाप्रबन्धकले रिट निवेदकलाई पहिलो स्पष्टीकरण माग गरेको भनी उल्लेख गरेको पाइन्छ । रिट निवेदकबाट यस अदालतमा पेश भएको स्पष्टीकरणको पत्रमा नायव महाप्रबन्धक भनी सही गरेको पाइन्छ । यसरी पेश भएको पत्रमा नायव महाप्रबन्धकले सही गरेको देखिएपछि नेपाल बैंक लिमिटेडका निमित्त महाप्रबन्धकले स्पष्टीकरण माग गरेको भन्ने नेपाल बैंक लिमिटेडको जिकिरलाई मान्न सकिने अवस्था देखिएन । जसलाई सजाय गर्ने अधिकार तोकिएको छ उसैले स्पष्टीकरण माग गर्नुपर्ने हुन्छ । अधिकारै नभएको व्यक्तिले माग गरेको स्पष्टीकरण कानूनी मान्यता दिन नमिल्ने । (प्र.नं. ७) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री हिरा रेग्मी । विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री चुडामणि राज सिंह मल्ल । अवलम्बित नजीर : ने.का.प. २०४८, अंक १०, नि. नं. ४३९५ मन बहादुर नेपाली विरुद्ध कार्यकारिणी अध्यक्ष, जनकपुर चुरोट कारखाना लिमिटेड जनकपुरधाम समेत भएको उत्प्रेषण युक्त परमादेशको आदेश जारी गरी पाउँ भन्ने विषयमा सिद्धान्त प्रतिपादित । आदेश न्या. केशव प्रसाद उपाध्याय १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दायर हुन आएकोप्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ : २. म निवेदक २०२६।४।२३ मा नेपाल बैंक लिमिटेडको टाइपिष्ट पदमा नियुक्ति भै कार्य सहायक पदमा र त्यसपछि सुपरिक्षक पदमा बढुवा भएको थिए । वर्खास्त हुनु अघि का.मु. सहायक प्रबन्धक पदमा रही इमान्दारी पूर्वक कार्य गर्दै आइरहेकोमा ने.वै.लि. का महा प्रबन्धकज्यूले हस्ताक्षर गर्नु भएको २०४४।१०।८ को पत्रमा तपाईलाई कर्मचारी नियमावलीको परिच्छेद ८ को दफा ८.७ अनुसार सस्पेण्ड गरिएको कुरा सुचित गरिन्छ भनी पत्र दिइयो । त्यसपछि विपक्षी बैंकका विपक्षी नायव महाप्रबन्धकज्यूले २०४५।१।२२ मा तपाई काठमाडौं अफिसको रेमिन्टास विभागमा काम गर्नु हुँदा अनियमितता भएको देखिएकोले तपाईलाई कर्मचारी नियमावली बमोजिम किन कारवाही नगर्ने ? १५ दिन भित्र सन्तोषजनक स्पष्टीकरण लेखी पेश गर्नु हुन सूचित गरिन्छ भनी मलाई पत्र दिइयो । मैले यथार्थ व्यहोरा लेखी स्पष्टीकरण पेश गरेकोमा तपाईको स्पष्टीकरण सन्तोषजनक नभएकोले दोश्रो स्पष्टीकरणको २०४५।१०।५ मा विपक्षी महाप्रबन्धकले माग गर्नु भयो । सो अनुसार मैले स्पष्टीकरण दिए । मेरो स्पष्टीकरणलाई वास्तै नगरी विपक्षी महाप्रबन्धकज्यूले २०४५।१२।२१ मा पेश भएको टिप्पणी मिति २०४५।१२।२४ मा सदर गरी उपदान समेत नपाउने व्यहोरा राखी मिति २०४५।१२।३० मा मलाई पत्र दिइयो । त्यस उपर संचालक समितिमा पुनरावेदन दिने व्यवस्था भएकोमा मैले दिएको पुनरावेदनबाट केही गर्न नमिल्ने भनी मलाई मिति २०४८।६।७ मा रजिष्ट्री पत्र प्राप्त भएक