निर्णय नं. ५०९९ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०९९ - लेनदेन भाग: ३७ साल: २०५२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५२/०१/१४ ३३४८ निर्णय नं. ५०९९ ने.का.प. २०५२ अङ्क ५ पूर्ण इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ २०४५ सालको दे.पु.इ.नं. ९५ फैसला मिति:२०५२।१।१४।५ मुद्दा : लेनदेन । निवेदक/प्रतिवादी:जिल्ला भोजपुर गा.वि.स. भोजपुर वडा नं. ४ बस्ने ध्यान बहादुर राई । विरुद्ध विपक्षी/वादी: मोरङ जिल्ला रंगेली गा.वि.स. वडा नं. ७ बस्ते बखत बहादुर खड्का । आसामीले छोराको हक दर्ता तिरो भोगको जग्गा निजको मन्जुरी विना विक्री गरिदिने अधिकार नभए पनि सो बमोजिम विक्री गरी दिन्छु भन्ने त्यस्तो लिखित कच्चा ठहर्नेमा विवाद छैन । तर कसैले अरुको हकको जग्गा राजिनामा गरिदिन्छु भन्ने त्यस्तो लिखत रजिष्ट्रेशन महलको व्यवस्था अन्तर्गतको लिखत होइन भनी अर्थ गर्न नमिल्ने । (प्र.नं. १८) लिखतमा साहु आसामी बनी राजिनामा जानी २०२६ सालका वाली देखि भोग गर्नु भन्ने वाक्यांशहरुबाट आसामीले रजिष्ट्रेशन लिखत मानी लेनदेन गरेको स्पष्ट देखिन आएको स्थितिमा राजिनामा सरहका शर्तनामा भन्ने वाक्यांशबाट शर्तनामाको लिखत भनी अर्थ गर्ने स्थिति नहुने । (प्र.नं. १८) शर्तनामाकै लिखत भनी साहु आसामीका बिच लिखत भएको भए राजिनामा सरहको भन्ने वाक्यांश पर्ने अवस्था नदेखिने । (प्र.नं. १८) राजिनामा गरि दिएको भनी भएको लिखत व्यहोराबाट पास हुन सक्ने स्थितिको छैन र लिखतको प्रकृतिबाट पास हुन नसक्ने अवस्थाको देखिन्छ भने रजिष्ट्रेशनको ६ नं. बमोजिम लिए पाएको रकम कपाली सरह असुल उपर गरि लिन पाउने कानूनी व्यवस्था रहेको नै पाइने । (प्र.नं. १८) लिखतको प्रकृति पहिल्याउन लिखतमा लेखिएको कुनै एउटा वाक्यांशले मात्र पहिल्याउनु कानूनसंगत हुँदैन । लिखतको सम्पूर्ण अंशको अध्ययन गरेर मात्र यसको प्रकृति छुट्याउन पर्ने । (प्र.नं. १८) जग्गा राजिनामा गरि दिने गरी साहु आसामी बनी रुपैया लिनु दिनु गरी भएको लिखत पारित हुने अवस्थाको छैन वा पारित हुन सक्दैन भने त्यो लिखत कानूनले नै कपाली सरह हुन्छ र कपाली भएपछि सो मा उजुर गर्ने हदम्याद लेनदेन व्यवहारको २ नं. ले १० वर्षको हदम्याद हुने । (प्र.नं. १८) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाटःX अवलम्बित नजीरःX फैसला न्या. केशव प्रसाद उपाध्यायः नेपालको संविधान, २०१९ को धारा ७२ (ख) बमोजिम दोहर्याई हेरी दिनु भनी श्री ५ बाट हुकुम बक्स भै यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ। २. विपक्षीले निजका छोरा संग्राम सिंह समेत दर्ता ४ विगाहा जग्गा सर्वे नापी हुन बाँकि रहेको भएतापनि पछि सर्वे नापी हुँदाका बखत जसका नाममा दर्ता हुने भएतापनि रितपूर्वकको छोडपत्र राजिनामा लिखत गराई तपाईका नाउँमा पारित गरि दिन्छु । सो जग्गा नभोगाई कच्चा ठहरीन गए साँवा व्याज सहित बुझाउने भनी मिति २०२६।२।१५।४ मा म बाट रु. ६००० लिनु भएकोमा जग्गा विपक्षीले मेरा नाउँमा सर्वे नापी गराई नदिएकोले रुपैया दिनु होस भनी ताकेता गर्दा आज सम्म साँवा व्याज समेत नबुझाएकोले लेनदेन व्यवहारको २ नं. अन्तर्गत फिराद गर्न आएको छु । विपक्षीबाट साँवा व्याज दिलाई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी। ३. अन्य व्यक्तिको नाममा दर्ता रहेको जग्गा वादीको नाउँमा नापी गराई लिखत गरी दिन्छु भनी शर्तनामाको लिखत गरी दिएको भएता पनि जुन मितिबाट शर्तको पालना