निर्णय नं. २३५५ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३५५ - ज्यान भाग: २७ साल: २०४२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४२/०५/०७ ४३०३ निर्णय नं. २३५५ ने.का.प. २०४२ अङ्क ५ फुल बेञ्च सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४१ सालको फौ.फु.नं.१४ मुद्दा : ज्यान । निवेदक/प्रतिवादी: जि.कञ्चनपुर महेन्द्रनगर गा.पं.वा.नं.१६ घर भै हाल कञ्चनपुर कारागारमा बन्दी रहेका पद्मराज जोशीका हकमा जि.ललितपुर वा.नं.२१ मिखा वहाल बस्ने तीर्थ डंगोल । विरूद्ध विपक्षी/वादी :जङ्गी सिंह साउदको जाहेरीले श्री ५ को सरकार । फैसला भएको मिति:२०४२।५।७।६ मा मानसिक असन्तुलनको कारणले हत्या गरेको हुँदा दण्ड सजायँको १ नं. बमोजिम कुनै सजायँ नहुने भनी गरेको इन्साफ सदर हुन्छ । (प्रकरण नं.२३) निवेदक प्रतिवादी तर्फबाट: विद्वान विरिष्ठ अधिवक्ता श्री शम्भु प्रसाद ज्ञवाली विपक्षी वादी तर्फवाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार उल्लेखित मुद्दाःX फैसला का.मु.प्र.न्या.धनेन्द्र बहादुर सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०४०।११।८।२ को इन्साफमा चित्त नबुझी निवेदक प्रतिवादी पद्मराज जोशीको हकमा तीर्थ डंगोलको श्री ५ महाराजाधिराजका हजूरमा न्यायिक समिति मार्फत जाहेर भएको निवेदन पत्रमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकुमप्रमाङ्गी बक्स भई आएबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. मिति ०३६।४।१७ का दिन अं. ४ बजेको समयमा छोरीलाई दूध खुवाई रहेको अवस्था ६।७ दिन अगाडि देखि दिमाग खराब भई पागल भएको अवस्था पद्मराज जोशीले आफ्नो श्रीमतीलाई बन्चरोले हानी मारेकोले कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत ०३६।४।१८ को जङ्गी सिंह साउदको जाहेरी दर्खास्त । ३. मिति ०३६।४।१७ गते छोरीलाई दूध खुवाउन लागेकी बेला मस्त निन्द्रामा सुती निदाएको अवस्था श्रीमतीको चरित्र केही खराब भए जस्तो लागेकोले श्रीमतीलाई मार्न सिवाय अर्को कुरा नसोची बन्चरोले प्रहार गरी श्रीमतीलाई मारँे र ठूलो स्वरमा श्रीमतीलाई मारँे भनी कराउँदा बाबु शिवदत्तले थाहा पाएछन् । मार्ने मराउनेमा म बाहेक अरु कसैको सहमति छैन भन्ने ०३६।४।२० को पद्मराज जोशीको प्रहरीमा बयान । ४. बीच घाँटीमा बन्चरोले हानेको ठूलो घाउ र छाती तथा कोखी हिस्सामा रगतले लतपत भई सुकेको भन्नेसमेत मिति ०३६।४।१८ को लाशप्रकृति मुचुल्का । “The body died of injury mandible Lt. upper chest and hemorrhage” भनी उल्लेख भएको मिति ०३६।४।१८ को लाश जाँचको रिपोर्ट । ५. पागल भएको कारणले मारेको होला भन्ने केशवदत्त भट्ट समेत अधिकांश सरजमीनका व्यक्तिहरूले गरेको मिति ०३६।४।२३ को सरजमीन मुचुल्का । ६. मिति ०३६।४।१७ गते भन्दा ३।४ दिन अगाडि देखि छोरा पद्मराज जोशी खाना नखाने, कम बोल्ने, आफ्नो सुरमा जथाभावी हिड्ने, कहिले पागल जस्तो अनावश्यक बोल्ने यस्तैमा ०३६।४।१७ गते म धानवारीमा हुँदा एक्कासी मेरै घरबाट मार्यो भन्ने मानिसको आवाज आउँदा दौडी घर पुग्दा बुहारीको शरीरको माथिल्लो अङ्ग पुरै रगत बगी मरी रहेको अवस्था देख्दा वेहोस भएछु र केही बेर पछि होसमा आउँदा मानिसहरू जम्मा भइ) सकेछन् । पद्मराजले बुहारी दमयन्तीलाई सुतिरहेको अवस्था बन्चराले हानी मार्नेमा छोरा पद्मराज बाहेक अरु कसैको सल्लाह र सहमति छैन भन्ने पद्मराजका पिता शिवदत्तले मिति ०३६।४।२३ मा प्रहरीमा गरेको कागज । ७. पद्मराजकी श्रीमती दमयन्ती देव