निर्णय नं. ६०१६ - बन्दी प्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६०१६ - बन्दी प्रत्यक्षीकरण भाग: ३७ साल: २०५२ महिना: असोज अंक: ६ फैसला मिति :२०५१/१२/२९ ३४४६ निर्णय नं. ६०१६ ने.का.प. २०५२ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०५१ सालको रिट नं. २७७५ आदेश मिति : २०५१/१२/२९/४ विषय : बन्दी प्रत्यक्षीकरण । निवेदक :जि. दोलखा ध्याङसुकाठोकर गा.वि.स. वडा नं. ९ घर भई हाल केन्द्रीय कारागार शाखामा थुनामा रहेको वर्ष १८ को मान बहादुर तामाङ । विरुद्ध विरुद्ध:काठमाडौं जिल्ला अदालत । पुनरावेदन अदालत, पाटन । वारदातमा समान तथ्य र परिस्थिति भएको तथा समान संलग्नता भएका अन्य प्रतिवादीहरुलाई तारेखमा राख्ने गरी आदेश भएको, तर निवेदकको हकमा थुनामा राख्ने गरी पुनरावेदन अदालतबाट आदेश भएको पाइन्छ । उपरोक्त बमोजिम समान संलग्नता भएका प्रतिवादीहरुलाई समानरुपमा तारेखमा राख्नु पर्नेमा निवेदकलाई थुनामा राख्ने गरेको आदेश कानून संगत नदेखिने । (प्र.नं. ११) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री धन बहादुर लामा विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र श्रेष्ठ अवलम्बित नजीरःX आदेश न्या. सुरेन्द्र प्रसाद सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३/८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ : २. म थापाथली स्थित दिपक प्रधानको वेकरी सेल्स रेष्टुरेण्टमा कुक हेल्पर काम गर्दै आएको थिएँ । म लगायत त्यहाँ रविन्द्र चापागाइ, पद्मबहादुर थापा, कृष्ण प्रसाद थपलिया र लक्ष्मी प्रसाद खनाल काम गर्दै आएकोमा मिति २०५०/१२/२२ गते साँझ अं. ६ बजे म भित्र काम गर्दै थिएँ । बाहिर ढोकानेर रविन्द्र र निजको भाइ बलबहादुर समेत भएको ठाउँमा पछि नाम थाहा हुन आएको हामीले नचिन्ने मृतक गोविन्दराज जोशी (आर्मी) मादक पदार्थ सेवन गरी आफ्नो शरीर आफैंले नियन्त्रण गर्न नसक्ने अवस्थामा आएका रहेछन् । निज र लक्ष्मी विच फोनको विषयमा भनाभन भइ झगडा भएको रहेछ । हो हल्ला भएको आवाज सुनी काउण्टर तर्फ हेर्न आउँदा मृतक गोविन्द राजले रविन्द्र चापागाईको कठालोमा समातेको रहेछ त्यसपछि मृतकले २ लात रविन्द्रको पेटमा हान्यो । मृतकलाई बचाउन वारदात स्थलबाट बाहिर पुर्याउने नियतले छुट्याउँदा मृतकलाई म र पद्मबहादुरले सामान्य बल प्रयोग गरी धकेली दियौं । हामीले कुनै कुटपिट गरेनौं, मृतक बाहिर आइपुगेपछि सरासर आफ्नो बाटो लागे । करिब ३०० मिटर टाढा कोल्डस्टोर नेर एकजना साइकल चढ्ने मानिस भेटेपछि मृतक पुनः रेष्टुरेण्ट तर्फ आएर पुनः रविन्द्रलाई लात प्रहार गरे । रविन्द्र र गोविन्दराज जोशी भिडन्त भएपछि रविन्द्रको भाइ बलबहादुरले एक बक्सीङ गोविन्दराजको बङ्गारामा प्रहार गरेपछि गोविन्दराज शरीर नियन्त्रण गर्न नसकी पिच सडकमा टाउको ठोकिई रगत समेत आई बेहोस भए र तत्काल प्रहरीले निजलाई उपचार गर्न अस्पताल लगी उपचार गर्दा गर्दै म्यादभित्र निजको मृत्यु भएको रहेछ । ३. प्रहरीले म, रविन्द्र, पद्मबहादुर, लक्ष्मीप्रसाद र कृष्ण प्रसाद समेत ५ जनालाई पक्राउ गरे । राजेन्द्रको भाइ बलबहादुर चापागाई फरार रहे । प्रहरीमा मैले माथि वर्णन गरेको सत्य साँचो व्यहोरा उल्लेख गरेकोमा अर्कै व्यहोराको कागज लेखि जबरजस्ती सही गराए । जाहेरीमा कसैको नाउँ उल्लेख छैन । सरजमिनमा मलाई कसैले पोलेको वा किटान गरेको छैन । पोष्ट मार्टम प्रतिवेदनमा टाउकोको वेदनाबाट मृत्यु भएको भनेको छ । मैले विपक्षी का.जि.अ. मा आफ्नो स्वेच्छाको वयानमा पनि सत्य व्यहोरा उल्लेख गरेक