निर्णय नं. ६०४४ - दर्ता बदर हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०४४ - दर्ता बदर हक कायम भाग: ३७ साल: २०५२ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५२/१०/२५ २३०८ निर्णय नं. ६०४४ ने.का.प. २०५२ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने सम्वत् २०४९ सालको दे.पु.नं. ६२२ फैसला मिति : २०५१।१०।२५।४ मुद्दा : दर्ता बदर हक कायम । पुनरावेदक: जि.सुर्खेत लाटी कोईली गा.वि.स. वा.नं. ६ बस्ने वर्ष ३७ को कालु थारु । विरुद्ध विपक्षी : ऐ. बस्ने मानकुमारी सिंह । सरजमीन जस्तो मौखिक प्रमाण र त्रिखुर शर्तमा जोती आएको भन्ने आधारमा छुट दर्ता गर्न नमिल्ने । (प्रकरण नं. १५) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शिवराज अधिकारी विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा अवलम्बित नजिरःX फैसला न्या.लक्ष्मणप्रसाद अर्यालः पुनरावेदन अदालत वीरेन्द्रनगर सुर्खेतबाट भएको मिति २०४९।४।१९ को फैसला उपर पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ:– २. साविक जिल्ला सुर्खेत लाटीकोईली गा.पं. वडा नं. ५ को कि.नं. ५७ को ज.वि. तत्कालिन १–७–३ जग्गा फिरादीकै दर्ता श्रेस्ता भई मेरो भोग चलनमा रहेको ०२२ सालमा भु.सु. फाँटवारी समेत भरेको साविक विलेबन्दीमा म मानकुमारीको नाममा नापिएको उक्त जग्गा ०२९ सालको सर्भे नापी हुँदा कित्ताकाट समेत भई कि.नं. १०७ क्षेत्रफल १–५–४ कायम हुन आएको जग्गा तत्काल मेरा नाममा दर्ता हुन आएको दर्ता गराउने क्रममा ०४२।११।१४ मा मालपोत कार्यालय सुर्खेतमा निवेदन गर्दा उक्त जग्गा अन्यायी कालु थारुको ०४०।१।२७ को निवेदन अनुसार विना मितिमा अन्यायी समेतका अरु ७ जनाले मिलोमतो गरी कालुले मेरो हो भने र अरु सरजमीनका मानिसले रुन्चे थारुको छोरा कालुको भनी बकी लेखाई जालसाजीपूर्ण तरीकाले सरजमीन गरी गराई सोही सरजमीनको आधारमा छुट दर्ता अन्यायी कालु थारुका नाममा दर्ता गरी दिने ०४०।३।१७ को मालपोत कार्यालय सुर्खेतबाट निर्णय भएकोले उक्त निर्णय तथा उक्त निर्णयले कालु थारुको नाममा दर्ता रेको जग्गा दर्ता बदर गरी हक कायम गरी पाउँ भन्ने मानकुमारी सिंहको फिरादपत्र । ३. वादी दावीको विवादित कि.नं. १०७ को ज.वि. १–५–४ बाजे हिङलालले १९७० साल देखि आफ्नो आत्मवलले आवाद भोग गर्दै आएका र दर्ता गराउनु पर्छ भन्ने थारु जातीलाई बोध पनि नभएको त्यस्तै बाबु रुन्चेका दिनमा पनि भोगी आएको बाबुको परलोक भएको ०२९ सालको नापीले जग्गावालाको खोजी गर्दा पाका पुराना मानिसले मेरा बाबुको नाम लिई जग्गा रुन्चे थारुको हो, तर वेदर्ता हो भनी दिएकोले फिल्डबुकमा रुन्चे थारुको जग्गा हो भन्ने कुरा मौकामा जनाई लेखेछन । दर्ता भएनछ । छुटेको जग्गा दर्ता हुन्छ भन्ने सुनेकाले ०४० साल बैशाखमा दर्ता गरी पाउँ भनी मालपोत कार्यालय सुर्खेतमा निवेदन दिई मालपोत कार्यालयबाट सरजमीन बुझ्ने काममा डोर खटि गई सोधपुछ गर्दा रुन्चे थारुको जोत भोग जग्गा हो भनी दिएकोले डोरले सोही व्यहोराको सरजमीन मुचुल्का गराई ल्याएको र फिल्डबुकमा रुन्चेको हो भन्ने आधारमा म छोरा कालु थारुका नाममा दर्ता गर्ने निर्णय भई दर्ता भएको हो सरजमीन हुँदाकै अवस्था फिरादीले थाहा पाई सकेकोले ज.प.को १७ नं. को म्याद नघाई परेको फिराद खारेज गरी पाउँ भन्ने कालु थारुको प्रतिउत्तरपत्र । ४. जग्गाधनी दर्ता श्रेस्ताबाट समेत उक्त कि.नं.. १०७ को जग्गा वादीकै नाउँमा दर्ता थियो भन्ने कुराको सबुद प्रमाण वादी पक्षबाट पेश दाखेल हुन सकेको नदेखिएकोले विना सबुद प्रमाण प्रतिवादीका नाउँमा दर्ता भएको जग्