निर्णय नं. २४११ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४११ - ज्यान भाग: २७ साल: २०४२ महिना: असोज अंक: ६ फैसला मिति :२०४२/०५/१० २२९४ निर्णय नं. २४११ ने.का.प. २०४२ अङ्क ६ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको फौ.पु.नं. ६३९ फौ.सा.नं. ९९ मुद्दा : ज्यान । पुनरावेदक/प्रतिवादी:जि.काभ्रेपलान्चोक फलामेटार गा.पं. वार्ड नं.७ घर भै जि.का.का. शाखा काठमाडौंमा थुनामा रहेको धन बहादुर मुलन तामाङ । विरूद्ध विपक्षी/वादी: शिव प्रसाद तिमिल्सिनाको जाहेरीले वादी श्री ५ को सरकार । विरूद्ध विपक्षी/प्रतिवादी:मान बहादुर तामाङ, इन्द्रमान तामाङ, रण बहादुर तामाङ, काजिमान तामाङ फैसला भएको मिति:२०४२।५।१०।२मा मृतकलाई मार्ने सल्लाह गरी मर्नेको घरमा गई झ्याल ढुङ्गाले तोडी कुटपीट गरेकोबाट प्र.अभियुक्तहरूको मार्ने मनसाय थिएन भन्न मिलेन । (प्रकरण नं.३६) पुनरावेदक/प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री नुतन थपलिया र विद्वान अधिवक्ता श्री प्रकाश राउत विपक्षी वादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्रकेशरी बास्तोलाः मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४०।११।३०।३ को फैसला उपर चित्त नबुझी प्रतिवादी धन बहादुर मुलन तामाङको पुनरावेदन परी साथै अन्य प्रतिवादीहरूको हकमा साधक लगतमा समेत पेश भई आएको प्रस्तुत ज्यान मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. २०३५।९।११ गते राति अन्दाजि १० बजे चोर डाँकाहरूले मारे, काटे, गुहार गुहार भनी मृतक केदारदासकी श्रीमतीले भनेको सुनी उठी गाउँलेहरू समेत जम्मा भई घटनास्थलमा जाँदा मृतक केदार मर्ने हालतमा भएका र निजकी श्रीमती पनि रगत पक्ष भएकीले प्रहरीमा खबर गर्न गई आउँदा केदारदासको मृत्यु भइसकेको हुँदा अरु कुरा निजकी श्रीमती कृष्णलक्ष्मीबाट खुल्ने हुँदा जाहेर गरेको छु भन्ने समेत व्यहोराको शिवप्रसाद तिमिल्सिनाको जाहेरी दर्खास्त । ३. कुइनाबाट ४ अँगुल, तल लम्बाई ४ अँगुल, चौडाई ३ अँगुल, गहिराई २ अँगुल भएको हाड समेत देखिने काटिने गरी धार भएको हतियारले काटेको घाउ, बायाँ कानबाट ५ अँगुल तल लम्बाई ३ अँगुल, चौडाई २ अँगुल, गहिराई ३ अँगुल भएको घाउ सो घाउबाट पछाडि गर्धनमा लम्बाई ४ अँगुल, चौडाई गहिराई आधा आधा अँगुल भएको हतियारले काटेको घाउ कुमबाट तल्लो भागमा रगतै रगतले भिजेको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का । ४. कालु सिविङ तामाङको र धनबहादुर इन्द्रमान तामाङ बीच घट्टपानी थाप्ने कुरामा भएको झै–झगडामा मेरो श्रीमान् केदार गा.पं.स. भएकोले सोबाट कालु सिंहले भने बमोजिम गर्नु भनेबाट इन्द्रमान, मानबहादुर, धनबहादुर रिसाई रहेकोमा ०३५।९।११ गते दिउँसो पसलमा आई भनावोल समेत गरी गएका, सोही दिन राति अं. ९ बजे घटना भएको अवस्थामा मेरो लोग्नेलाई कुटपीट गरी मार्ने व्यक्तिहरू सोही अवस्थामा प्रष्ट चिनेको, धनबहादुर, मानबहादुर, सन्तविर तमाङ र अरुलाई आतिएको कारणले चिन्न सकेन भन्ने समेत व्यहोराको कृष्णलक्ष्मीको कागज । ५. ०३५।९।११ गते दिउँसो माछा मार्दै थिएँ सो अवस्थामा मानबहादुर, धनबहादुर समेत ७ जना भेला भई पसले नेवारलाई आज राति कुटपीट गर्नु पर्छ भनेकोले मेरो पनि मन्जूरी भई बेलुकी धनबहादुर साथ आउँदा धनबहादुरले खुकुरी साथमा ल्याएका र अन्य व्यक्तिहरूको हात काठ, बाँसको लठ्ठी थियो मलाई काठको लठ्ठी रणबहादुरले दिए, झ्याल फोडी भित्र पसी मानबहादुरले मृतकलाई काटेका र धनबहादुरले लाठाले हान्दै गरेको देखेको हुँ तलबाट गुहार लगाउँदा हतार हतारलेभागी पश्चिम पट्टि गयौं भन्न