निर्णय नं. ९१७० - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१७० - कर्तव्य ज्यान भाग: ५६ साल: २०७१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७१/०३/११ ११२९६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति : २०७१।३।११।४ २०६७–CR–०६९१ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/प्रतिवादी : जिल्ला बैतडी, दशरथचन्द नगरपालिका वडा नं. ९ घर भई हाल केन्द्रीय कारागार, जगन्नाथ देवल, काठमाडौंमा थुनामा रहेका नरेन्द्रसिंह धामी विरूद्ध प्रत्यर्थी/वादी : सुदर्शनसिंह धामीको जाहेरीले नेपाल सरकार अ.बं. १८८ नं. अनुरूप सजाय घटाउन पाउने न्यायाधीशको स्वविवेकीय अधिकार हो, पक्षको अधिकारको कुरा होइन । अ.बं. १८८ नं. अनुरूप सजाय घटाउनुपर्ने माग पक्षको कानूनी अधिकारभित्रको कुरा नभए पनि मुद्दाको फैसला गर्दा निर्णयकर्ताको चित्तमा सजाय चर्को भएको लागेमा कारण खोली सजाय घटाउन सक्ने नै हुँदा त्यसतर्फ पनि विचार गर्नुपर्ने देखिन आउने । उल्लिखित कानूनी व्यवस्था अनुसार अभियुक्तलाई कानूनले तोकेको भन्दा कम सजाय गर्नलाई घटित वारदातमा इन्साफ गर्ने हाकिमको चित्तमा भवितव्यको आशङ्का वा अपराध गरेको अवस्था यी दुई तत्त्वमध्ये कुनै एकको विद्यमानता अनिवार्यरूपमा देखिएको हुनुपर्ने । (प्रकरण नं.५) फौजदारी अपराध पूर्ण हुन अभियुक्तको आपराधिक मनसाय (Mens Rea) र आपराधिक कार्य (Actus Reus) दोषयुक्त हुनुपर्ने हुन्छ । अर्थात कुनै पनि वारदातका लागि अभियुक्तले मनसाय प्रेरित भई वारदात घटाउने योजना, षडयन्त्र, तयारीका चरणहरू पारगरी आपराधिक कार्यको चरणमा पुगेको हुनुपर्ने । बासुलो जस्तो धारिलो जोखिमी हतियारले प्रहार गर्दा मानिस मर्न सक्छ भन्ने पूर्वानुमान (fore see) गर्न सकिने नै कुरा हो । सोविपरीत प्रतिवादीबाट भए गरेको कार्यलाई दुर्भावनायुक्त (Malicious) कार्य नै मान्नुपर्ने । प्रतिवादीले मनसाय प्रेरित भई पूर्व योजना बनाई निर्मलाको हत्या गरेको हुन् भन्ने जाहेरवालालगायतका बुझिएका मानिसहरूसमेतबाट कहीँ कतै खुलिआएको अवस्था देखिएको छैन । प्रस्तुत वारदातका अन्य प्रत्यक्षदर्शी साक्षीहरूसमेत नहुँदा प्रतिवादीले आफ्नो बयानमा लेखाएको घटनाक्रम अनुसारको कार्यलाई विश्वास मान्नुपर्ने नै देखियो । घटनाक्रमबाट प्रतिवादीले मृतकलाई बासुलोले प्रहार गरेको कार्यमा आत्मरक्षा (Self defense) को परिवेश पनि हुन सक्छ कि भनी विचार गर्दा आत्मरक्षाका लागि मृतक निर्मलाउपर हतियार प्रहार गरेको हुँ भनी प्रतिवादीले स्वयमले भन्न सकेको अवस्था देखिँदैन । आफ्नो बचाउका लागि भाउजूलाई घचेटी ढोका खोली भाग्न सक्ने स्थिति थिएन भनी भन्न सक्ने अवस्था पनि छैन । अ.बं. १८८ नं. अनुरूप सजाय घटाउँदा आत्मरक्षाको हदबाट सोच्न मिल्ने अवस्था नरहने । (प्रकरण नं.६) प्रतिवादीमा आफूले गरेको कार्यका सम्बन्धमा उत्पन्न भएको पश्चातापको भाव हो । मृतकउपर चोट प्रहार गरी निज लडेपछि हुने बेइज्जति सोची आफू बाँच्नुको सार नरहने ठानी आफैँले आत्महत्या गर्ने निर्णयमा पुगी बासुलोले आफ्नो टाउकामा हानेको र बेहोश भएको भन्ने निजको भनाई रहेको र अपराधबाट बच्न भाग्ने उम्कने प्रयत्न नगरी स्वयम् आत्महत्या गर्न प्रयत्न गर्ने व्यक्तिले नियोजितरूपमा भाउजूको हत्यागर्ने कार्य गरेको होला भनी अनुमान गर्न सहज नहुने । (प्रकरण नं.७) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान अधिवक्ता श्री वविता उप्रेती र विद्वान वैतनिक अधिवक्ता श्री हरिशंकर कर्ण प्रत्यर्थी/वादीका तर्फबाट : अवलम्बित नजीर : सम्बद्ध कानून : सुरू फैसल