निर्णय नं. ७०७२ - लेनदेन, जालसाज

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०७२ - लेनदेन, जालसाज भाग: ४४ साल: २०५९ महिना: असार अंक: ३ फैसला मिति :२०५८/०३/१८ २६२२ निर्णय नं.७०७२ ने.का.प.२०५९ अङ्क ३/४ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी सम्वत् २०५३ सालको दे.पु.नं. .......३४६६ फैसला मितिः २०५८।३।१८।२ मुद्दाः– लेनदेन, जालसाज । पुनरावेदक/वादीः जि. मोरङ विराटनगर न.पा. वार्ड नं. १४ वस्ने सर्वज्ञलाल श्रेष्ठ बिरुद्व विपक्षी/प्रतिवादीः जि. मोरङ इन्द्रपुर गा.वि.स. वाडर्न नं. ६ वस्ने गंगाई कुमार दनुवार § लिफामा कारणीको हस्ताक्षरसम्म हुन्छ तर त्यसमा लिखतको व्यहोरा उल्लेख भएको हुँदैन । लिखत नभएको अवस्थामा केरमेट हुने र त्यसमा सहीछाप हुने भन्ने अवस्था आउँदैन लिखतको व्यहोरा थपघट केरमेट भै सो केरमेटमा कारणीको सहीछाप परेको छ भने लिखत मौकैमा तयार भएको मान्नु पर्ने हुन्छ । तसर्थ व्यहोरा उल्लेख गरी केरमेटमा सहीछाप समेत भएको कागजलाई लिफाको संज्ञा दिन नमिल्ने । § लिफा भनी जिकिर लिए पनि माथि उल्लेख भए बमोजिम केरमेटमा सहीछाप रहेको, लिखतको मिति बन्दमा दुवै ल्याप्चे उपर ल्याप्चे परेको र लिखत मुनिको सहीछाप उपर अर्को सहीछाप माथि परि रहेको देखिँदा लिफामा लिखत खडा गरेको भन्न नमिल्ने । पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री सर्वज्ञलाल श्रेष्ठ विपक्षी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री रामप्रसाद भट्टराई अवलम्वित नजिरः फैसला प्र.न्या.केशवप्रसाद उपाध्यायः पुनरावदेन अदालत विराटनगरको मिति २०४९।७।२४ को फैसला उपर परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (ख) बमोजिम दोहोर्याई हेर्न निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं निर्णय यसप्रकार छ :– २. विपक्षीले घर खर्च गर्न रु. १९०६६।५० लिई २०३८।९।१८ मा कपाली लिखत गरी दिएकोमा हालसम्म नबुझाएकाले साँवा व्याज रु. ३१,०४१।२९ भराई पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र। ३. मैले कर्णेल गजराजंगको जग्गा जोतेको सर्वे हुँदा सो जग्गा पशुपतीलालले लिएछ र निज धनी म मोही भएकाले मोहीको हैसियतले सालसालै जग्गा जोती मोही भएको जग्गामा २०२४ सालदेखि घरधुरी खडा गरी आएको कुत बुझाएको भर्पाई लिने दिने चलन थिएन । २०३९ सालको कुत र मोही निष्काशनलाई दिएको मुद्दा २०४०।११।२९ मा दावी नपुग्ने ठहरी फैसला भएको र पत्नी पूर्ण देवीले दिएको लेनदेन मुद्दा २०४३।२।१९ मा डिसमिस भएको र २०४२।४३ र २०४४ को कुत भू.सु.का.मा धरौट राखेको छु जान पहिचान नभएको फेरादीबाट रुपैयाँ लिई लिखत गरेको छैन । सक्कल लिखत हेर्ने पाएका वखत उजुर बयान गर्ने हक सुरक्षित हुँदा दाबीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र । ४. पशुपतीलाले कुत बुझाउँदा आफू देखा नपरी मेरो लिइरहेको लिफामा लेखक वस्ने साक्षी मिलाई वादी समेत मिली लिफामा खडा गरी जालसाज गरेको भन्ने समेत व्यहोराको प्रतिवादीको वारेसको वयान । ५. रुपैयाँ लि लेखत केरिए ठाउँ समेतमा सही छाप गरी दिएको सद्दे लिखत हो । पशुपतीलाल मेरो भिन्न भएका काका हुंदा निजले लिफामा मेरो नाउंमा साहु गराई लेखत खडा गर्ने कारण छैन लिखन सद्दे हो भन्ने समेत व्यहोराको वादीको वयान । ६. म र वादी काका भतिजा नाता भए पनि भिन्न छौं मैले लिफामा खडा गराएको होइन के कहाँ लेखत खडा भयो थाहा छैन भन्ने समेत व्यहोराको पशुपतीलालको बयान । ७. पहिले परेको सहीछापमा व्यहोरा लेखी तयार भएको पुष्टि हुन आएकोले लिफामा व्यहोरा लेखी जालसाजबाट लिखत तयार भएको ठहर्छ