निर्णय नं. ८६५८ - उत्प्रेषणयुक्त परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६५८ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ५३ साल: २०६८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६८/०१/२० २५२८ ने.का.प. २०६८, अङ्क ७ निर्णय नं.८६५८ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६४ सालको रिट निवेदन नं. ०४८५ आदेश मितिः २०६८।१।२०।३ विषयः– उत्प्रेषणयुक्त परमादेश समेत । निवेदकः रामेछाप जिल्ला खनियापानी गा.वि.स. वडा नं. ५ घर भई हाल ऐ. मन्थली गा.वि.स. वडा नं. ४ बस्ने दिलकुमार मानन्धर विरुद्ध विपक्षीः जिल्ला विकास समितिको कार्यालय रामेछाप § आफूले कानूनबमोजिम विज्ञापन प्रकाशन गरी विज्ञापित पदको लागि लिखित र मौखिक परीक्षा सञ्चालन गरिसकेपछि त्यसको नतिजा प्रकाशन गर्नुपर्दछ । अथवा, उक्त प्रक्रियामा अनियमितता वा गैरकानूनी क्रियाकलाप भएको रहेछ भने कानूनसम्मत कारण र आधार स्पष्टसँग आफ्नो निर्णयमा उल्लेख गरी बदर गर्नुपर्ने । § आफ्नो जिम्मेवारी एवं कानूनबमोजिमको कर्तव्यको समयमै निर्वाह गर्नुपर्छ । यो सुशासन र कानूनको शासनको एउटा पक्ष पनि हो । सार्वजनिक निकाय वा पदाधिकारीहरूको कामकारवाही कानूनसम्मत मात्र होइन, पारदर्शी र असल मनसायले गरेको हुनुपर्ने । (प्रकरण नं.९) निवेदकतर्फबाटः विद्वान अधिवक्ता श्री हरिप्रसाद उप्रेती विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री रमेश शर्मा पौडेल र विद्वान अधिवक्ता श्री प्रकाश राउत अवलम्बित नजीरः सम्बद्ध कानूनः आदेश न्या.ताहिर अली अन्सारीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७ (२) बमोजिम यस अदालतको क्षेत्राधिकार भित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य सहित आदेश यस प्रकार रहेको छ : म निवेदक एस.एल.सी. उत्तीर्ण गरेको नेपाली नागरिक हुँ । विपक्षी जि.वि.स.द्वारा मिति २०६०।५।१ को गोरखापत्र दैनिकमा प्रकाशित पदपूर्तिसम्बन्धी सूचनामा विज्ञापन नं. २/०६०–६१ अन्तर्गत सहलेखापाल सहायकस्तर चौथो तह (विज्ञापनमा सहायकस्तर पाँचौं तह उल्लेख भएको) पद संख्या १ खुल्ला प्रतियोगिताद्वारा स्थायी रुपमा पूर्ति गर्ने गरी विज्ञापन प्रकाशन गरिएको हुनाले उक्त पदका लागि म निवेदकले समेत दरखास्त फाराम भरी बुझाई विपक्षी जि.वि.स.द्वारा उक्त पदका लागि लिइएको लिखित परीक्षामा सामेल भएकोमा लिखित परीक्षाको नतिजा मिति २०६१।७।२१ मा प्रकाशित हुँदा म निवेदक र अन्य दुई जना उम्मेदवार गरी ३ जनाको नाम उक्त पदको लागि छनौट भएको थियो । लिखित परीक्षाबाट छनौट गरिएका उम्मेदवारहरूको अन्तर्वार्ता मिति २०६१।८।१२ गतेका लागि निर्धारित गरिएको छ भन्ने व्यहोराको सूचना मिति २०६१।७।२१ का गोरखापत्रमा प्रकाशन गरिएकोमा उक्त अन्तर्वार्तामा समेत सामेल भई नतिजाको प्रतिक्षामा बसेको थिएँ । यसै बीचमा एक्कासी मिति २०६४।५।७ को गोरखापत्रमा सोही पदका लागि भनी विज्ञापन नं. ११।०६४–६५ मा विज्ञापन प्रकाशन गरिएको रहेछ । सो विज्ञापनमा पहिलेको विज्ञापनको बारेमा कुनै व्यहोरा उल्लेख गरिएको छैन । हाल प्रकाशन गरिएको विज्ञापन रद्द गरी पहिले कै विज्ञापनबमोजिम पदपूर्ति गरिपाऊँ भनी विपक्षी स्थानीय विकास मन्त्रालयमा निवेदन दिइएकोमा सो मन्त्रालयले यस बारेमा के भएको हो ? भनी जिल्ला विकास समितिमा पत्र पठाएको भए पनि जि.वि.स.ले जवाफ पठाउन आलटाल गरेको र सो मन्त्रालयले पनि जि.वि.स.को पदपूर्ति प्रक्रियामा हामीले हस्तक्षेप गर्न मिल्दैन भनी पहिलेको विज्ञापनको नतिजा प्रकाशन गराउन ईन्कार गरेकाले अन्यायमा परी सम्मानीत अदालतसमक्ष न्यायिक उपचारको निमित्त उपस्थ