निर्णय नं. २४९३ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २४९३ - अंश भाग: २७ साल: २०४२ महिना: पौस अंक: ९ फैसला मिति :२०४२/०५/२० ३०५५ निर्णय नं. २४९३ ने.का.प. २०४२ अङ्क ९ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४० सालको दे.पु.नं. ४७८।४७९।४८० मुद्दा : अंश । पुनरावेदक/प्रतिवादी: का.जि.का.नं.प.वार्ड नं. १८ नरदेवी नेटपाचो बस्ने रत्नदेवी मानन्धरनी । ऐ.ऐ बस्ने गणेश मान मानन्धर । विरुद्ध पुनरावेदक/वादी:ऐ.ऐ. बस्ने प्रेममान मानन्धर । फैसला भएको मिति:२०४२।५।२०।५ मा सरकारी बाँकी तिर्नु पर्दछ भन्ने बित्तिकै यो ऋण हुन जान्छ यसरी सरकारी बाँकीलाई ऋण हैन भनी अति शाब्दिक (Hyper Literal Interpretation) व्याख्या गर्दा मुलुकी ऐन अंशबण्डाको महलको “धन ऋण” बण्डा गर्ने सिद्धान्तको विलकूल विपरीत हुन जान्छ । व्याख्या ऐन सम्मत (Legal) मात्र हैन, विवेक (Resonable) सम्म पनि हुनु पर्दछ, त्यसकारण यस किसिमको अति सिद्धान्तवादी शाब्दिक व्याख्यालाई मानी सरकारी बाँकी ऋण हैन भन्न मिल्दैन। (प्रकरण नं. १३) पुनरावेदक, प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल र विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर पुनरावेदक, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल र विद्वान अधिवक्ता श्री प्रकाश वस्ती र विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्रकेशरी बास्तोलाः मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४०।२।३०।२ गतेको फैसलाउपर वादी तथा प्रतिवादी दुवैपक्षको चित्तनबुझी उक्त फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी यस अदालतमा छुट्टा छुट्टै पर्न आएको निवेदनमा अनुमति प्राप्त भई बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत अंश मुद्दाको संक्षिप्त निम्न प्रकार छन् । २. पिताजी रत्नमानको २ छोरा जेठा गणेशमान र कान्छो म प्रेममान मानन्धर हुँ । पिता र माताको स्वर्गे भएकोले रत्नदेवी सगोलमा छिन् । म २०२७ सालदेखि बेग्लै चुला गरी बसेको छु । रीतपूर्वकको बण्डा भएको छैन । सगोलको चल अचल धनमाल दाजु जिम्मा भएकोले र जम्मा ३ अंशियार भएकोले अंश छुट्याई दिनोस् भन्दा इन्कार गरेकोले २०२७।१।१ लाई मानो छुट्टिएको मिति कायम गरी अंशबण्डाको २१, २२ र २३ नं.का ऐन अनुसार विपक्षीबाट तायदाती लिई विपक्ष रत्नदेवी र मेरो ३ बण्डा लगाई १ भाग मेरो दिलाई पाउँ भन्ने समेत व्यहोराको ०३५।२।१८।४ को प्रेममान मानन्धरको फिरादपत्र । ३. का.जि.टंकेश्वर पञ्चायतको घर १ पिताले मेरो स्ववासको लागि दिनुभएकोमा सो भोग गरी बसेको छु । पिताजी छँदै भएको जुद्ध बारुण यन्त्रको ठेक्का सम्बन्धी फाइदा भएको रुपैयाँ समेत प्रेममान संगै छ । सरकारी ठेक्का बन्दोवस्त ऐन, २०२० बमोजिम हामीहरूले ठेक्काबाट फूर्सद पाएको छैन । पिताजी र रत्नमान जीवित भएको बखत २०३० सालदेखि क्यान्सर भई उपचार गराउन भारत जाँदा भएको सम्पत्ति र नरदेवीको १३।१०० को घर विपक्षी प्रेममान र बहिनी रत्नदेवीलाई दिएको भोग गरी आएका छन् । मैले तायदाती दिनुपर्ने चल अचल मेरो जिम्मा छ ०२७।१।१ मा मानु छुट्टिएको छैन बहिनीको उमेर ३५ वर्ष पुगेको छैन । रत्नदेवीलाई प्रतिवादी बनाउन सकेको छैन । सरकारी ठेक्का बन्दोवस्त ऐन बमोजिम ठेक्काबाट अंशियारहरूले का.स्रे.अ.तहसीलमा भएको कारवाही नटुङ्ग हाम्रो अंशबण्डा हुनुपर्ने होइन । वादी फिराद अ.बं.१८० नं.बमोजिम खारेज गरिपाउँ भन्ने समेत व्यहोराको गणेशमान मानन्धरको प्रतिउत्तरपत्र ।