निर्णय नं. ९१७१ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९१७१ - लेनदेन भाग: ५६ साल: २०७१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७१/०२/२७ ४२४२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।२।२७।३ २०६७–CI–१४२३ मुद्दा : लेनदेन । पुनरावेदक/प्रतिवादी : पर्सा जिल्ला, पोखरीया गा.वि.स.वडा नं.३ बस्ने नन्दलाल राउत कुर्मी विरूद्ध प्रत्यर्थी/वादी : पर्सा जिल्ला, पोखरीया गा.वि.स.वडा नं.३ बस्ने रामचन्द्र सहनी § सुरू अदालतको फैसला सदर हुन्छ र प्रतिवादीलाई जरिवाना, कैद गरी ठहर गरिँदैन त्यस्तो अवस्थामा न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) आकर्षित हुने स्थिति रहँदैन । पुनरावेदन अदालतको फैसलामा प्रतिवादीलाई पुनरावेदनको म्याद दिने भनी उल्लेख गरिएतर्फ विचार गर्दा कानूनमा स्पष्ट व्यवस्था भएको कुरालाई बाहेक गरी पुनरावेदनको म्याद दिने गरी फैसलामा उल्लेख गरिएकै आधारमा न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) को अवस्थाभित्र परेको भन्न मिल्दैन भने त्यस्तोमा पुनरावेदनको म्याद दिएको कारणले मात्र पुनरावेदनमा दर्ता हुन सक्ने पनि होइन । § सुरू जिल्ला अदालतको फैसलालाई आधारभूतरूपमा पुनरावेदन अदालतबाट परिवर्तन नगरेको अवस्थामा न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन लाग्ने स्थिति नदेखिएको अवस्थामा पुनरावेदन अदालतको फैसलामा पुनरावेदनको म्याद दिने भनी उल्लेख भएकै आधारमा सर्वोच्च अदालतमा पुनरावेदन लाग्न सक्ने अवस्था नदेखिने । (प्रकरण नं.५) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता जगदीशचन्द्र पाण्डे प्रत्यर्थी/वादीका तर्फबाट : अवलम्बित नजीर : सम्बद्ध कानून : सुरू फैसला गर्ने : मा.जि.न्या.श्री विष्णुप्रसाद कोइराला पुनरावेदन फैसला गर्ने : मा.न्या.श्री एकराज आचार्य मा.न्या.श्री सुष्मालता माथेमा पुनरावेदन अदालत, हेटौंडा । फैसला न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, हेटौंडाको मिति २०६७।७।१५ को फैसलाउपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्‍क्षिप्त तथ्य एवम्‍ ठहर यस प्रकार छ : विपक्षीले मसँग घर खर्च गर्नबापत रू.१,०८,०००।– कर्जा लिई सयकडा १० प्रतिशतका दरले ब्याज लगाई साँवा ब्याजसमेत २०५४ सालको माघ महिनाभित्र एकमुष्ठ बुझाउने छु भनी मिति२०५४।८।३० गते कपाली तमसुक गरी सहीछाप गरी मलाई दिनुभएकोमा भाखा नाघेपछि पटकपटक माग्दा आज भोलि भनी आजसम्म नदिनु भएको हुँदा कपाली तमसुक भएको मिति २०५४।८।३० गतेदेखि आजसम्मको साँवा ब्याज र मुद्दा फैसला भई बिगो भरिभराउ मितिसम्मको ब्याज तथा कोर्ट फीसमेत विपक्षीबाट दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको वादीको फिरादपत्र । विपक्षीसँग मैले उक्त मिति २०५४।८।३० मा कुनै लेनदेन गरेको छैन । वादीले नमालुम के कस्तो कागजको आधारमा प्रस्तुत मुद्दा गरेका हुन् सक्कल तमसुक देखेका बखत अ.बं.७८ नं. अनुसार सद्दे कीर्तेतर्फ सनाखत बयान गर्ने छु भन्नेसमेत व्यहोराको प्रतिउत्तरपत्र । वादीले पेश गरेको सक्कल लिखत देखाउँदा देखेँ, सुनेँ । वादीसँग मैले कहिल्यै पनि लेनदेन गरी पैसा लिएको छैन र मैले तमसुक पनि कुनै मितिमा गरेको छैन । उक्त तमसुक कीर्ते हो । विशेषज्ञबाट जँचाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी नन्दलाल राउतले मिति २०६४।६।९ गते सुरू अदालतमा गरेको बयान । लेखक तथा अन्तर साक्षीहरूलाई प्रतिवादीसरह बुझ्ने र ऋणी प्रतिवादीको हस्ताक्षर र ल्याप्चेसमेतको नमूना लिई विवादित सक्कल लिखतको कारणीको सहीछापसँग भिड्छ भिड