निर्णय नं. ४७८१ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७८१ - जग्गा खिचोला भाग: ३५ साल: २०५० महिना: मंसिर अंक: ८ फैसला मिति :२०५०/०३/१४ २२५८ निर्णय नं. ४७८१ ने.का.प. २०५० (ख) अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा सम्वत २०४८ सालको दे.पु.नं. ४२० फैसला मिति: २०५०।३।१४।२ पुनरावेदक/प्रतिवादी: जि. मुगू रावा गा.वि.स. वाडनं. ५ बस्ने गोरे बुढा समेत । विरुद्ध विपक्षी/वादी: ऐ. वार्ड नं. ५ बस्ने परेलाल बुढा । मुद्दा : जग्गा खिचोला । (१) न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) को खण्ड (ग) को कानूनी प्रावधान तर्फ हेर्दा शुरु अदालत निकाय वा अधिकारीले गरेको निर्णय र सो निर्णय उपर पुनरावेदन अदालतबाट पुनरावेदन सुनी गरेको निर्णयमा तात्विक भिन्नता भएको मुद्दामा यस अदालतमा पुनरावेदन लाग्ने व्यवस्था गरिएको पाइन्छ । प्रस्तुत मुद्दामा शुरु मुगु जिल्ला अदालतको फैसला उपर कर्णाली अंचल अदालतमा पहिलो पुनरावेदन परी भएको फैसला उपर दोश्रो तहको पुनरावेदन परि पुनरावेदन अदालत सुर्खेतबाट फैसला भएको छ । यस मुद्दामा शुरु मुगु जिल्ला अदालत, निकाय वा अधिकारीको निर्णय उपर पुनरावेदन अदालतले पहिलो पुनरावेदन निर्णय गरेको नभै कर्णाली अंचल अदालतबाट पहिलो पुनरावेदन फैसला भएपछि दोश्रो तहको पुनरावेदनमा मात्र पुनरावेदन अदालत सुर्खेतबाट फैसला भएकोमा यस अदालतमा पुनरावेदन लाग्ने व्यवस्था उक्त कानूनी प्रावधानबाट नभएकोले कानूनी आधार विना दर्ता भएको प्रस्तुत पुनरावेदनमा यस अदालतबाट कारवाही गर्नु नपरी खारेज हुने ठहर्छ । यसरी प्रस्तुत पुनरावेदन यस अदालतबाट हेरी कारवाही किनारा गर्ने अधिकार क्षेत्रको अभावमा खारेजभागी भएकोले मुद्दाको विषय वस्तु (merit of the case) मा प्रवेश गरी निर्णय गर्नुपर्ने आवश्यकता नदेखिने । (प्र.नं १२) पुनरावेदक, प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री शिवराज अधिकारी । फैसला न्या. हरि प्रसाद शर्मा १. न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. १९९६ सालमा बाजे सर्वजित बुढाको नाम मा दा.खा. भएको मुगु रोवा गाउँको मौजामा मूलबाटो देखि पूर्वमाट बुढाको खेत देखि पश्चिम परेलालका खेत देखि दक्षिण जय बहादुर परेलालका खेत देखि उत्तर यी ४ किल्ला भित्रको जग्गा बाजेका शेषपछि मेरो बुवा पुन्न बुढा र भोटे बुढाले भोगचलन गरी आएकोमा वहाँहरुको शेषपछि परेलाल, हरि बहादुर, जय बहादुर बुढा समेतको हक भै भू.सु. ७ नं. फाराम पुन्न बुढाका नाममा भरिएको उक्त जग्गा २०४२ साल भाद्र १९ गते भाग वण्डा छुट्याई पाएका गडी ।३ मध्ये १ को खेत मेरा नाउँमा नामसारी भएको छ । उक्त ४ किल्ला भित्रको गडी ।३ मध्ये ।१० को ५ वटा खेत पुन्न बुढालाई खाता दिएको थियो । बीचमा जय बहादुर परेलालले रु. ९००/– बुझाई भोग चलन गरी आएपछि केहि दिनसम्म खान देउ भन्दा २०४३ साल मार्ग १५ गते रु. १२००/– लिई बन्धकीमा खान दिएकोमा २०४५ साल माघ १६ गते उक्त बन्धकी रु. १२००/– बुझाउँदा अन्यायीहरुले उक्त रु. १२००/– बुझि लिई यो खेतमा तिम्रो हक लाग्दैन १९९६ सालमा दाखेल खारेज भएको खेत तर्फको मोठमा रोवा खेत मात्र देखिन्छ । गडि खेत देखिंदैन भनी जवाफ दिई जग्गा खिचोला गरेकोले मेरो हक कायम गरि पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । ३. हामीले बन्धकी लिएको जग्गा भोग चलन गरेका छौं वादीले बन्धकी बुझाएको छैनन् अर्को एक ठाउँको जग्गा नाउँला देखि पश्चिम तुला र पाथदल बुढाका खेत देखि पूर्व पाथदलकै खेत देखि दक्षिण नरपत