निर्णय नं. २५१२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५१२ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: माघ अंक: १० फैसला मिति :२०४२/०८/२५ २२९१ निर्णय नं. २५१२ ने.का.प. २०४२ अङ्क १० डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको रि.नं. ११९७ विषय : उत्प्रेषण । निवेदक :बांके, गंगापुर गा.पं.वा.नं.५ दोण्डा बस्ने प्रधानपंच वेचन लाल मुराउ (मौर्य)। विरुद्ध विपक्षी :निर्वाचन विशेष अदालत मुकाम बांके जिल्ला अदालत । गंगापुर गा.पं.वडा नं.६ भोजपुर बस्ने अब्दुल गफ्फार मुकेरी । आदेश भएको मिति:२०४२।८।२५।३ मा निर्वाचन (अपराध तथा सजायँ) ऐन, २०२४ को दफा १४(४) मा भएको बाध्यात्मक व्यवस्थामा निर्वाचन विशेष अदालतले उपदफा (१) वा (२) बमोजिम सम्पूर्ण निर्वाचन वा कुनै निर्वाचित उम्मेदवारको निर्वाचन बदर हुने गरी फैसला गर्दा देहाय बमोजिमका कुराहरू सो फैसलामा स्पष्ट रुपमा उल्लेख गर्नु पर्छ “(क) उजूरवालाले उजूर गरेको कुरा सावित भए वा नभएको र सावित भएको भए कुन कुरा कसरी सावित भएको हो भन्ने र (ख) निर्वाचन बदर हुने काम कारवाई गर्ने व्यक्तिहरूको पूरा नाम वतन र निजले गरेको अपराधको किसिम” भनी स्पष्ट रुपमा उल्लेख गरेको पाइन्छ । उक्त निर्वाचन विशेष अदालतको निर्णयमा यस व्यवस्थाको पालन भएको देखिन आउँदैन, अतः निर्वाचन विशेष अदालतको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी दिइएको छ । (प्रकरण नं. ९) निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारी प्रसाद सिंह उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्दप्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा मिति ०४१।४।९ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ । २. निवेदक म गंगापुर गा.पं. को प्रधान पंचको निर्वाचनमा ०३९।१।३० मा निर्वाचित भएँ । मेरो चिन्ह गाई र विपक्षीको चिन्ह मानिस थियो । मत गणना हुँदा मैले ५५१ विपक्षीले ५४४ प्राप्त गरी निर्वाचित भएकोमा विपक्षीको गैरकानुनी उजूरी पत्र लिई विपक्षी अब्दुल गफ्फारको ५२७ र मेरो ४३६ मत पाएको भनी विपक्षी अब्दुल गफ्फारलाई गंगापुर गा.पं.को प्रधानपंच कायम हुने ठहर्छ भनी निर्वाचन विशेष अदालतले फैसला गरेको छ । उक्त निर्वाचन विशेष अदालतको फैसलाबाट मेरो हक अधिकारमा आघात पुगेको हुँदा सम्मानीत अदालतको असाधारण अधिकारक्षेत्रको सरण लिन आएको छु । म निवेदकले ५५१ मत र विपक्षीको ५४४ मत पाएको विवाद छैन । तर निर्वाचन विशेष अदालतबाट म निवेदकको ४३६ मत र विपक्षीको ५२७ कसरी भयो कुन कुन मतपत्र कसरी बदर भयो निर्णयमा उल्लेख नभएकोले स्थानीय पञ्चायत (निर्वाचन कार्यविधि) ऐन, ०२५ को दफा २२ देहाय (क) देखि (ट) सम्ममा मत वा मतपत्र बदर हुने अवस्थाको कानुनी प्रावधान गरेको छ सो अनुसार मैले प्राप्त गरेको मत कसरी कुन ऐनको कुन देहाय बमोजिम बदर भएको हो र कति मतपत्र खस्यो कति मतपत्र सदर भयो सो कुनै कुरा निर्वाचन विशेष अदालतले फैसलामा उल्लेख गर्न सकेको छैन । ३. यसरी निर्वाचन विशेष अदालतले मिति ०४१।३।१३ मा गरेको निर्णयले मेरो कानुनी हकमा आघात परेको हुँदा उत्प्रेषणको आदेशद्वारा उक्त निर्णय बदर गरी यो निवेदकको अन्तिम टुङ्गो नलागेसम्म निर्वाचन विशेष अदालतको मिति ०४१।३।१३ को फैसला कार्यान्वयन नगर्नु नगराउनु भन्ने अन्तरिम आदेश समेत जारी गरिपाउँ भनी रिट निवेदकले जिकिर लिएको रहेछ। ४.