निर्णय नं. १२३४ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२३४ - ज्यान भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०२/०४ ३२५२ निर्णय नं. १२३४ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३४ सालको फौ.पु.नं. २१५ फैसला नं. ३५ फैसला भएको मिति : ०३६।२।४।६ मा वादी : ई.श्यामप्रसाद समेतको जाहेरीले वादी श्री ५ को सरकार विरूद्ध प्रतिवादी : तुजु भन्ने सखरबहादुर तामाङ समेत मुद्दा : ज्यान (१) मार्ने मनसाय गरी कुटपिट गरी मारेको भन्ने कुरा कतैबाट पनि देखिन नआएमा कुटपिटबाट भएको चोटले मानिस मर्न गएमा ज्यान सम्बन्धी १३ नं. बमोजिमको कसूर अपराध मिल्न देखिन नआउने । (प्रकरण नं. ९३) (२) कुटपिट चोटपिरबाट भवितव्य भई मरेको ठहराई ज्यानसम्बन्धी ६ नं. देहाय २ दफा बमोजिम सजाय गर्ने गरी भएको फैसला उपर अ.बं.१८६ नं. ले जाहेरी फैसला गर्नुपर्ने नदेखिने । (प्रकरण नं. ९४) वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरबप्रसाद लम्साल प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ताहरु श्री सिन्धुनाथ प्याकुरेल तथा श्री रामनाथ मैनाली फैसला न्या. त्रैलोक्यराज अर्याल : पूर्वाञ्चल क्षेत्रीय अदालतबाट ०३३।११।२३।१ मा भएको फैसलामा चित्त बुझेन, शुरू प्रहरी प्रतिवेदन बमोजिम नै सजाय हुनुपर्छ भन्ने श्री ५ को सरकारको पुनरावेदन र साधक समेत यस बेञ्च समक्ष पेश हुन आएको छ । २. मुद्दाको तथ्य यस प्रकार छ : मानबहादुर तामाङलाई पक्राउ गरी पठाउनु भन्ने आदेशानुसार निज मानबहादुरलाई पक्राउ गरी ०२९।९।१७ मा दाखिल गरी सकिएको र सोही सम्बन्धलाई गणेश अधिकारी, गणेश ढकाल, हरिप्रसाद समेतको सल्लाहले सामन्ती शोषक मुर्दाबाद, मानबहादुर तामाङ जिन्दाबाद, शोषक सामन्ती मार्नै पर्छ, नयाँ नेपालको सिर्जना गर्नु पर्छ भन्ने नारा जुलुस कर्णबहादुर तामाङ, गणेशबहादुर तामाङ, सिंहबहादुर तामाङ, अम्बिकाबहादुर सुवेदी, यदुनाथ पौड्याल, गोविन्दबहादुर श्रेष्ठ, खड्गबहादुर अधिकारी समेत भई गरेकोले कर्णबहादुरलाई पक्राउ गरी ०२९।९।२६ को पत्र साथ निज कर्णबहादुर तामाङलाई हथकडी समेत लगाई कं.कुलप्रसादको जिम्मा लगाई पठाएकोमा चिसाङ खोला आइपुगेको अवस्था नरबहादुर तामाङ, तुजू भन्ने सखरबहादुर, अम्बिकाबहादुर, गणेशबहादुर, सिंहबहादुर, बेनुप्रसाद, यदुनाथ, कैलाश गुरूङ, गोविन्दबहादुर, फोर भन्ने धनजित खड्गबहादुर समेतका ३०।३५ जना मानिसले कं.कूलप्रसाद र लक्ष्मीप्रसाद समेतलाई कुटपिट गरी मारी पानीमा फाली कर्णबहादुर तामाङलाई हथकडी समेत खोसी लगे भन्ने थाहा भएकोले सो ठाउँमा जादाँ अपराधीहरू भागी गइसकेकोले कूलप्रसाद र लक्ष्मीप्रसादलाई हेर्दा अलि–अलि ढुक्ढुकी भएको फेला परेकोले यसै साथ दाखिल गरेको छु, मार्ने नियतले कुटपिट गरी मर्यो भनी खोलामा फालेकोले अपराधी उपर कानून बमोजिम कारवाही गरिपाउँ भन्ने समेत ०२९।९।२२।५ को हे.कं.भिमबहादुरको जाहेरी दरखास्त रहेछ । ३. कं.कूलप्रसादलाई कुटपिट गर्ने व्यक्तिहरूलाई पक्राउ गरी ल्याउनु भनी खटाई पठाएकोमा खड्गबहादुर १ निजले प्रहार गर्न खोजेको छुरी १ धनजित तामाङ, सखरबहादुर तामाङ, यदुनाथ पौडेल, कैलाश गुरूङ, हरिप्रसाद र निजको साथबाट बरामत भएको अटोमेटिक चक्कु १ समेत पक्राउ गरी दाखिल गरेको छु भन्ने ०२९।९।२४ को इ.श्यामप्रसाद उपाध्यायको प्रतिवेदन रहेछ । ४. २०२९।९।२२ मा भएको कं.कूलप्रसाद लक्ष्मीप्रसाद समेतको घा जाँच केश फाराम मिसिल साथ रहेछ । ५. २०२९।९।२१ गते बिहान ६ बजे घरबाट धरान जान भनी चिसाङ्ग खोलामा आई मोटर पर्खिरहेको थिएँ । त्यसै बेला