निर्णय नं. १२७९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२७९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०७/२७ २३८३ निर्णय नं. १२७९ ने.का.प. २०३६ फुल बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् ०३४ सालको रिट फुल नम्बर ५० आदेश भएको मिति : ०३६।७।२७।३ मा निवेदिका : का.न.पं. वडा नं. ११ बस्ने बिन्दुदेवी राणा विरूद्ध विपक्षी : काठमाडौं नगरपञ्चायत संस्था का.जि. धर्मपथ, काठमाडौं नगरपञ्चायत संस्थाको सभा मुकाम समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) घर भत्काउने आदेश नगरपञ्चायतले गरेकोमा नगरपञ्चायत ऐन, २०१९ को दफा ५३ को उपदफा (३) ले अञ्चल अदालतमा पुनरावेदन लाग्ने व्यवस्था कानूनमा निर्दिष्ट गरेकोमा नगरपञ्चायतबाट दफा ५३(३) अन्तर्गत निर्णय नभई दफा २८(३) अन्तर्गत नगरपञ्चायत सभाबाट पुनरावेदनको निर्णय गरेको हुनाले अधिकारक्षेत्रको अतिक्रमण नदेखिने । (प्रकरण नं. १६ ) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना विपक्षी तर्फबाट : विद्वान अधिवक्ताहरु श्री झुलेन्द्रप्रसाद छत्कुली र श्री अनुपराज शर्मा आदेश न्या. हेरम्बराज : प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहोर्याई दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट बक्स भई आएका हुकुम प्रमाङ्गी अनुसार यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य तथा जिकिर यस प्रकार छ : गुणकेशरी श्रेष्ठले का.जि. थापाथली प्रसुतिगृह अगाडि थापाथलीमा घर बनाउने नक्सा पास गर्दा मेरो घरको मूल छाना देखि हटाई बीचमा जग्गा खाली राखी मेरो घरसँग नजोडी बनाउने गरेको कारणबाट नक्सा पासको अवस्थामा कानून बमोजिमको सँधियारले पाउने म्याद मलाई समेत आएन र हाम्रो घरमा नजोडी हाम्रो घरदेखि धेरै हटाई बनाउनु भएकोले हामीले अर्थात मैले उसै बखत उजूर गर्नुपर्ने अवस्था परेन । नक्सा पास नभएको ठाउँमा नक्सा भन्दा बढी मेरो मूल छाना भित्रको जग्गामा मेरो झ्याल टाली बनाएको सो घर बनाउँदै रहेकोले अब बाँकी बनाउन नपाउने गरी रोक्का गरी नक्सा पास नभएको ठाउँमा नक्सा भन्दा बढी मेरो झ्याल टाली बनाएको जति कानून बमोजिम भत्काई झ्याल र मूल छाना कायम गरिपाउँ भन्ने समेतको वादी विन्दुदेवी राणाको उजूरी । ३. उक्त उजूरी झुठ्ठा हो नियमपूर्वक यसै का.न.प.नक्सा र मुद्दा फाँटबाट ०३०।४।२।३ मा नक्सापास गरी बनाएको हुनाले यो उजूरीबाट फुर्सद पाउँ भन्ने प्रतिवादी गुणकेशरी श्रेष्ठ । ४. विवादग्रस्त जग्गामा बनेको नक्सा विपरीतको उक्त भाग कायम गर्न नमिल्ने देखिएकोले त्यस तर्फ वादी विन्दुदेवीको घरसँग जोडी नक्सा विपरीत बनेको लम्बाई फिट ९–५।। को ३ तले घर आजका मितिले ३५ दिनभित्र भत्काई दिने र उक्त म्यादभित्र प्रतिवादीले भत्काई नदिनुभएका का.न.प.स्यानिटेशन फाँटबाट भत्काउन लगाउने भन्ने मिति ०३२।५।१८ को का.न.प.को फैसला । ५. उक्त निर्णय न्यायसंगत नहुनाको साथै गैरकानूनी हुँदा बदर गरिपाउँ भन्ने प्रतिवादी गुणकेशरी श्रेष्ठको पुनरावेदन जिकिर । ६. काठमाडौं नगरपञ्चायतबाट नक्सा पास गरिदिएको बदर गराउन सर्वोच्च अदालतमा मुद्दा परी रहेको भन्ने लेखिएकोले अदालतमा मुद्दा परिसकेको कुरामा नगरपञ्चायतबाट कुनै निर्णय गर्न नमिल्ने हुँदा तत्कालीन नक्सा मुद्दा फाँटबाट गरेको फैसला कार्यान्वित समेत नगर्ने गरी अदालतैबाट ठहरे बमोजिम हुनेमा यस का.न.प.बाट निर्णय गर्न नमिल्ने भन्ने समेतको का.न.प.सभाको मिति ०३३।३।१७।४ मा फैसला रहेछ ।