निर्णय नं. ७५५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2029/07/20 २०२४ निर्णय नं. ७५५ ने.का.प. २०३० डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९ सालको रिट नं. ७९० आदेश भएको मिति : २०२९।७।२०।३ निवेदक : लम्जुङ दुराडाँडा खुमरुक घर भई हाल का.जि.जि.१६।६१ ठमेलमा डेरा गरी बस्ने केशवप्रसाद न्यौपाने विरूद्ध विपक्षी : श्री ५ को सरकारसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने (१) कर्मचारी बर्खास्त गर्दा नि.से.नि.१०.९ ले आरोप स्पष्टरूपले किटिएको हुनुपर्ने र किटिएको आरोप उक्त नियमको १०.६ मध्येको एक हुनुपर्ने । निवेदकतर्फका विद्वान अधिवक्ता श्री मोतिकाजीले नियमावलीको १०.९ तर्फ बेञ्चको ध्यान आकर्षित गर्दै भन्नु भयो कि निवेदकलाई लगाइएको आरोप स्पष्टरूपले किटिएको हुनु पर्दछ र प्रत्येक आरोप कुन कुरा र कारणमा आधारित छ सोसमेत खुलाउनु पर्दछ । उक्त जिकिरको खण्डनमा विद्वान सरकारी अधिवक्ता श्री रतनलाल कनौडियाले मालको मूल्य भन्दा धेरै कम मूल्याङ्कन गरी भन्सार महसूल कायम गरेको भन्ने आरोप लगाई स्पष्टीकरण मागिएको हुँदा नियमको पालन भएकै छ भन्नु भयो, त्यसतर्फ विचार गर्दा नियम १०.९ ले आरोप स्पष्टरूपले किटिएको हुनुपर्छ भनी जो बाध्यात्मक व्यवस्था गरेको छ । उक्त आरोप नियम १०.६ मध्येको एक हुनुपर्ने अनिवार्य छ । जुनसुकै किसिमको आरोप लगाई कर्मचारीलाई हटाउने वा बर्खास्त गर्ने होइन कि ९ प्रकारको आरोप मध्येको आरोप हुनुपर्ने नियमको मनसाय देखिन्छ । निवेदकलाई जुन कसूर गरेको भनी भनिएको छ उक्त कसूर नियम १०.६ भित्र पर्दैन । निर्देशक तथा सचिवको लिखितजवाफमा आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगरेको भनी नियम १०.६ को ५ भित्र पार्ने प्रयत्न गरिएको छ । तर पछि नियमित पार्ने प्रयत्नले अघिको अनियमिततालाई ढाकछोप गर्न सकिन्न । निवेदकबाट सफाई मागिँदा आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगरेकोले भनी सफाई मागिएको नभई प्रज्ञापित मूल्य र मालको परिमाण वा संख्या उल्लेख गर्नु पर्नेमा सो नगर्नाको कारण रू.११५। मात्र मूल्य र भाडा भरौट कायम कुन आधारबाट गर्नु भएको हो भनी सफाई मागिएको फाइलबाट देखिन्छ । (प्रकरण नं. ८) निवेदक तर्फबाट : अधिवक्ता मोतिकाजी स्थापित विपक्षी तर्फबाट : सरकारी अधिवक्ता रतनलाल कनौडिया आदेश न्या. वासुदेव शर्मा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश जारी गरी ०२७।९।२२ को निर्देशकको आदेश निर्देशककै आदेशलाई विपक्षी सचिवलेसमेत सदर गरेको निर्णय बदर गरी निवेदकको हक प्रचलन गराई पाउँ भन्ने रिट निवेदनपत्र २०२९।४।३०।२ मा दर्ता भएको रहेछ । २. यस रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य निम्न प्रकार छन् : निवेदक (केशवप्रसाद न्यौपाने) लोक सेवा आयोगको सिफारिसमा श्री ५ को सरकार अर्थ मन्त्रालय, भन्सार विभागद्वारा नेपाल प्रशासन सेवाको राजपत्र अनंकित द्वितीय श्रेणीको खरिदार पदमा मिति २०२४।९।११ को पत्र बमोजिम नियुक्ति गरिएको स्थायी निजामती कर्मचारी रहेछन् । निवेदक खटिएको त्रिभुवन बिमानस्थल भन्सार कार्यालय अन्तर्गत वैदेशिक हुलाक भन्सार कार्यालयमा काम गरी रहेको अवस्थामा विदेशबाट आएको विदेशी मालको मूल्य भन्दा कम मूल्याङ्कन गरी भन्सार महसूल असूल गरेको भन्ने विषय उठाई विपक्षी भन्सार विभागका निर्देशकले निवेदकलाई सस्पेण्ड गरी विभागीय कारवाई गरी स्पष्टीकरण लिई आखिर निजामती सेवा नियमावली, २०२१ को दफा १०.