निर्णय नं. ७०१ - विगो दिलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०१ - विगो दिलाई पाउँ भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२००८/१२/१५ ३०८३ निर्णय नं. ७०१ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्र्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत् २०२७ सालको देवानी फुल बेञ्च नम्बर १०७ आदेश भएको मिति : २००८।१२।१५।३ निवेदक : का.जि.मरु गुकुटी बस्ने नानीदेवी ताम्राकार्नी विरुद्ध विपक्षी : ऐ.ठहिटि क्वाबहाल टोल बस्ने ख.युद्धबहादुर जोशी मुद्दा : विगो दिलाई पाउँ (१) पञ्चकिर्ति मोल कायम गर्ने ०२२।५।६ को श्री ५ को सरकारको प्रशासकीय निर्णयलाई कानूनी रुप दिन नमिल्ने । यस्तो लिलाम गरिने घरको पञ्चकिर्ति मोल कायम गर्ने सम्बन्धमा : (१) पञ्चकिर्ति मोल कायम गर्दा जुन टोल गाउँ वा वडामा सो घर रहेको छ सोही वडाको पञ्चायत सदस्य १ विगो भरी पाउने कारणीले मनोनित गरेको व्यक्ति १ यी दुवैले संयुक्त रुपले छानेको स्थानीय भलाद्मी १ समेत ३ जनाको ट्रिबुनलले पञ्चकिर्ति मोल कामय गर्ने, (२) यदि सरकारी विगो वापत घर लिलाम गर्नुपर्ने रहेछ भने कारणीले मनोनित गर्ने व्यक्तिको स्थानमा तहसीलको हाकिम वा तहरिर नै ट्रिबुनलको सदस्य हुने, माथि १ दफाबमोजिम गर्ने, (३) ट्रिबुनलका सवै सदस्यहरूको एक मत नभएमा दुई सदस्यको जुन राय छ त्यसलाई मान्यता दिने, (४) तीन सदस्यको तीन राय भएमा तल्लो वा उपल्लो अंकलाई छाडी बीचको अंक सिफारिस गर्ने सदस्यको रायलाई मानी पञ्चकिर्ति मोल कायम गर्ने भन्ने ०२२।५।६ मा श्री ५ को सरकारबाट निर्णय भएको रहेछ । तर त्यसरी पञ्चकिर्ति मोल कायम गर्ने सम्बन्धमा कुनै ऐन नियम नबनेको र श्री ५ को सरकारको एउटा प्रशासकीय उक्त निर्णयलाई कानूनी रुप दिन मिल्ने देखिएन । सो अनुसार गरेको पञ्चकिर्ति मूल्यलाई कानून अनुकुल भएको भन्न मिलेन । (प्र.नं. ९) (२) पञ्चबाट मूल्य कायम हुनु नै पञ्चकिर्ति मोल भन्नुपर्ने । हाल ०२८।१०।१० का अतिरिक्तांक ४९ को राजपत्रमा प्रकाशित अञ्चल तथा जिल्ला अदालत (दोस्रो संशोधन) नियमावली, २०२८ द्वारा थप परिच्छेद १२ (क) दफा ५६ (च) को उपदफा (६) मा लिलाम गर्नु अघि अड्डा बसेको गाउँ वा नगरपञ्चायतको र नगिचको कुनै एक अड्डाको प्रतिनिधि साक्षी राखी रोक्का वा कब्जा भएको सम्पत्ति धनमालको प्रचलित नेपाल कानून बमोजिमको पञ्चकिर्ति मोल कायम गर्नुपर्छ भन्ने व्यवस्था भएको र प्रस्तुत मुद्दामा जुन घरको पञ्चकिर्ति मोलको सम्बन्धमा विवाद उठी राखेको छ सो घर लिलाम गर्ने कारवाई हुन बाँकी नै हुनाले अब उक्त घर लिलाम गर्नलाई उक्त नियमको कार्यविधि अपनाउनु पर्ने कुरा निर्विवाद छ । सो नियममा प्रचलित कानूनबमोजिम पञ्चकिर्ति मोल कायम गर्ने भन्ने लेखिएकोमा पञ्चकिर्ति मोल कायम गर्दा कुन रुपबाट गर्ने हो भन्ने कुराको शंका उठछ कि भन्नालाई कानूनमा पञ्चकिर्ति मोल भन्ने उल्लेख भएपछि पञ्चबाट मुल्य कायम हुनु नै पञ्चकिर्ति मोल भन्नु परी पञ्च भन्नाले स्थानीय पञ्चायत समावेश गर्ने सो नियममा उल्लेख भइराखेको हुँदा सो बमोजिम गर्न कुनै शंका बाधा उपस्थित हुन आउँदैन तसर्थ उक्त नियमबमोजिम गर्नु भनी तत्सम्बन्धका कारवाई मिसिलहरू का.श्रे.अ.त.मा.पठाई दिनु, बक्स भएको हुकूम प्रमांगीबमोजिम यो निर्णय भएको नतिजा श्री ५ महाराजाधिराजका हजूरमा जाहेर गर्न जनरल विभाग मार्फत विशेष जाहेरी विभाग राजदरवारमा लेखी पठाई नियमबमोजिम रेकर्ड मिसिल बुझाई दिनु । (प्र.नं. १०) निवेदक तर्फबाट : अधिवक्ता नारायणप्रसाद श्रेष्ठ विपक्षी तर्फबाट : सरकारी अधिवक्ता