निर्णय नं. ८६७१ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६७१ - उत्प्रेषणयुक्त परमादेश भाग: ५३ साल: २०६८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६८/०५/१३ २८९७ ने.का.प. २०६८, अङ्क ८ निर्णय नं. ८६७१ सर्वोच्च अदालत, संयुक्त इजल।स माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री भरतराज उप्रेती २०६६–WO–०९५५ आदेश मितिः २०६८।५।१३।३ विषयः— उत्प्रेषणयुक्त परमादेश । निवेदकः जिल्ला ताप्लेजुङ्ग, दोखु गा.वि.स. वडा नं. ६ घर भई हाल महिला विकास शाखा, कार्यालय ताप्लेजुङ्गमा सहलेखापाल पदमा कार्यरत मातृकाप्रसाद नेपाल विरुद्ध विपक्षीः जिल्ला प्राविधिक कार्यालय ताप्लेजुङ्गमा कार्यरत सहलेखापाल शेखर ढकाल समेत § कुनै कानूनअन्तर्गत भए गरेको काम, कारवाही, निर्णय वा उठान भएको कानूनी प्रक्रिया सम्पन्न नहुँदै सो कानून खारेज भएमा वा अर्कै कानूनद्वारा प्रतिस्थापित भएमा खारेज भएको कानूनअनुसार भए गरेका काम, कारवाही, निर्णय वा कानून खारेजीको परिणामको सम्बन्धमा कानून व्याख्याको सिद्धान्तअनुरूप विवेचना गर्नुपर्ने । § विवादित बढुवा सूचनाले सम्भाव्य उम्मेदवारको लागि निष्क्रिय भइसकेको अध्यादेशअनुसार आवश्यक न्यूनतम् शैक्षिक योग्यताको शर्त उल्लेख गरे तापनि त्यो मान्य हुन नसक्ने । § कुनै काम, कारवाही, निर्णय हुनु वा कानूनी प्रक्रिया प्रारम्भ हुनुभन्दा पहिला नै निष्क्रिय भइसकेको कुनै ऐन, कानून वा अध्यादेशको अनुशरण गर्नु पर्दैन । पहिलेको कानून वा अध्यादेशको व्यवस्थालाई तत्कालै प्रतिस्थापन गर्ने अर्को कानूनी प्रावधानले निरन्तरता प्रदान गरेको खण्डमा मात्र पहिलाको प्रावधानअनुरूप पनि भए गरेको काम, कारवाही र निर्णय कानूनसम्मत् हुने अवस्था हुन्छ । अन्य अवस्थामा पहिलाको कानून अनुशरण गरी गरिएको काम, कारवाही, निर्णय वा प्रक्रियाले वैधता प्राप्त गर्न नसक्ने । (प्रकरण नं.८) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्की विपक्षी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री सन्तोष राउत र श्री दीपनारायण शाह अवलम्बित नजीरः सम्बद्ध कानूनः § निजामती सेवा (दोस्रो संशोधन) अध्यादेश, २०६२ को दफा २१ § निजामती सेवा ऐन, २०४९ को दफा २४घ(१)(ख)(२) आदेश न्या.ताहिर अली अन्सारीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) अनुसार यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिट निवेदकको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार रहेको छः— म निवेदक, नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अ.द्वितीय श्रेणीको पदमा लोकसेवा आयोगको सिफारिशबमोजिम मिति २०४८ सालमा स्थायी नियुक्ति पाई मिति २०६२ सालदेखि ताप्लेजुङ्ग जिल्लास्थित महिला विकास शाखा कार्यालयमा कार्यरत रही आएको छु । लोक सेवा आयोग केन्द्रीय कार्यालयबाट बढुवासम्बन्धी प्रतिशत निर्धारण भई कोष तथा लेखा नियन्त्रक कार्यालय, ताप्लेजुङ्गको मिति २०६३।३।३१ को गोरखापत्रमा प्रकाशित बढुवासम्बन्धी सूचनाअनुसार रिक्त रहेको नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी (लेखापाल) पद संख्या २ को बढुवाको लागि सामेल भएकोमा जेष्ठता र कार्य सम्पादन मूल्याङ्ककनको आधारमा बढुवा सिफारिश समितिको मिति २०६३।९।७ को निर्णयअनुसार म निवेदक समेत बढुवाको लागि छनौट भएको थिएँ । उक्त बढुवा सिफारिश निर्णयउपर शेखरप्रसाद ढकालको निवेदन परी कारवाही हुँदा पुनरावेदन अदालत, इलामका रजिष्ट्रारबाट बढुवा समितिको सिफारिशमध्य कुमारप्रसाद ओझाको बढुवा सिफारिशलाई कायमै राखी म निवेदकलाई नेपाल प्रशासन सेवा (गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति) नि