निर्णय नं. ८०९३ - खून डाँका ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०९३ - खून डाँका । भाग: ५१ साल: २०६६ महिना: असार अंक: ३ फैसला मिति :२०६६/०२/३१ ४१७९ निर्णय नं.८०९३ २०६६ असार अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास का.मु. सम्माननीय प्रधान न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री अवधेशकुमार यादव फौ.पु.नं. ०६५–CR–०२८३ फैसला मितिः २०६६।२।३१।१ मुद्दा : खून डाँका । पुनरावेदक/वादीः नेपाल सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादीः जिल्ला मोरङ धनीगाउँ गा.वि.स. वडा नं. १ बस्ने रामरुप सरदार समेत शुरु फैसला गर्नेः जि.न्या.श्री ठाकुरप्रसाद शर्मा पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री ओमप्रकाश मिश्र मा.न्या. श्री सुरेन्द्र वीरसिंह बस्न्यात § घटना भएको तथ्य पुष्टि हुँदैमा अभियुक्तको कसूर प्रमाणित नहुने । § घटना घटेको कुरामा विवाद नहुँदा नहुँदै पनि सो घटना घटेको तत्कालपछि दिइएको जाहेरी दरखास्त र मौकामा कागज गर्ने व्यक्तिको भनाईमा अपराध गर्ने व्यक्ति स्पष्ट नभएको अवस्थामा घटना घटेको लामो अबधि व्यतीत भैसकेपछि परेको जाहेरी र मौकामा कागज गर्ने व्यक्तिको बकपत्रमा व्यक्ति किटान गरिएको भन्ने मात्र आधारमा कसैलाई कसूरदार ठहर्याउन नमिल्ने । § मौखिक प्रमाण जहिले पनि प्रत्यक्ष हुनुपर्छ, अस्पष्ट र अनिश्चयात्मक कथन कसूरदार ठहर्याउने आधार बन्न नसक्ने । § फौजदारी मुद्दामा शंकास्पद एवं विरोधाभाषयुक्त कथनलाई प्रमाण मानेर कसैलाई दोषी ठहर गर्न नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक वादी तर्फबाटः प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § प्रमाण ऐन, २०३१ को दफा १०, २५ § सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ६७(३) फैसला का.मु.प्र.न्या.अनूपराज शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) अन्तर्गत यस अदालतमा दायर भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- जिल्ला मोरङ, केराबारी– ९ बस्ने टेकबहादुर गुरुङको घरको तलामाथि वरण्डामा रगतको पोखरी भएको, उत्तरतर्फको कोठामा कागजपत्र तथा लत्ता कपडा जत्रतत्र छरपष्ट भएको, घटनास्थलका रुपमा रहेको सो कोठामा गोली थान– १ र गोलीको खोका थान– १ समेत फेला परेको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का । तराईवासी जस्ता देखिने, मुखमा पटृी बाँधेका अन्दाजी १५/१६ जना नाम, थर वतन समेत खुल्न नआएका सशस्त्र डाँकाहरू आई मिति २०५९।७।१७ गते राति अन्दाजी १२ बजे तिर टेकबहादुर गुरुङलाई गोली प्रहार गरी घाइते बनाएकोले उपचारको लागि धरान घोपातर्फ लाँदा लाँदै मृत्यु भएको र देउमान गुरुङ, लक्ष्मी गुरुङ समेत घाइते भएको र धनमाल के कति लगे यकीन भएन, सो वारेमा पछि छुट्ट्रै उजूर दिनेछु, मृतक लास कानूनबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको दीर्घमान गुरुङको जाहेरी दरखास्त । धरान घोपा क्याम्पको शवगृहमा रहेका मृतक टेकबहादुर गुरुङको निधारको बीच भागमा धारिलो हतियार प्रयोग गरेको जस्तो देखिएको, पछाडि पातामा गोली लागेको देखिएको र शरीरको सबै भागमा रगत लागेको भन्ने समेत व्यहोराको घटनास्थल लास प्रकृति मुचुल्का । गोली तथा काटेका घाउ चोटबाट रक्तश्राव भएको कारण मृत्यु भएको भन्ने समेत व्यहोराको पोष्टमार्टम रिपोर्ट । मिति २०५९।७।१७ गते राति अन्दाजी १२ बजेको समयमा टेकबहादुर गुरुङलाई मारी खून डाँका अपराध गरेको मुद्दामा हालसम्म बुझ्दै जाँदा मोरङ बाहुनी –३ बस्ने वीसेसमेतको व्यक्तिहरूले वारदात घटाई घरपरिवारमा भएका नगद रु. १२,००,०००।– बराबरको नगद तथा सुन २४ तोला लगेको हुँदा निज वीसे खवासलाई पक्राउ गरी अन्य अभियुक