निर्णय नं. ८०९८ - जग्गा रोक्का

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०९८ - जग्गा रोक्का भाग: ५१ साल: २०६६ महिना: असार अंक: ३ फैसला मिति :२०६६/०१/१५ १०६४२ निर्णय नं.८०९८ २०६६ असार अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला संवत् २०६१ सालको दे.पु.न...९८३७ फैसला मितिः २०६६।१।१५।३ मुद्दाः जग्गा रोक्का । पुनरावेदकः का.म.न.पा. वडा नं ३१ बिजुलीबजारस्थित नेपाल बंगलादेश बैंक लिमिटेड पुतली सडक शाखाको तर्फबाट अख्तियार प्राप्त प्रबन्ध निर्देशक गणेशप्रसाद अधिकारी विरुद्ध प्रत्यर्थी विपक्षीः जि.काठमाडौँ, का.म.न.पा. वडा नं ३१ बस्ने अनिता श्रेष्ठ शुरु फैसला गर्नेः मालपोत कार्यालय, ललितपुर पुनरावेदन फैसला गर्नेः मा.न्याः श्री ज्ञानेन्द्रबहादुर कार्की मा.न्याः श्री केशरमान पति § जुनसुकै प्रकारको धितो बन्धकको लिखत अनिवार्य रुपमा रजिष्ट्रेशन पारित गर्नुपर्ने अन्यथा त्यस्तो लिखतले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । (प्रकरण नं.२) § पारित नै नभएको घरायसी मन्जूरनामाको आधारमा तेस्रो व्यक्तिलाई प्रवाह गरेको ऋणवापत प्रत्यर्थीको जग्गा रोक्का राख्न नमिल्ने । (प्रकरण नं.३) निवेदक तर्फवाटः प्रत्यर्थी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रामप्रसाद श्रेष्ठ अवलम्वित नजीरः सम्वद्ध कानूनः § मुलुकी ऐन, रजिष्ट्रेशनको १ नं. § ऋण असूली ऐन, २०५८ को दफा २ (६) § करार ऐन, २०५६ को दफा १५ (१) र (२) § वाणिज्य बैंक ऐन, २०३१ को दफा ४७ग फैसला न्या.रामप्रसाद श्रेष्ठः पुनरावेदन अदालत,पाटनको मिति २०६०।९।२२ को फैसला उपर न्याय प्रशासन ऐन,२०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन दर्ता भएको प्रस्तुत मुद्दाको तथ्य एवं निर्णय यस प्रकार छ :– अनिता श्रेष्ठको नाममा ललितपुर मालपोत कार्यालयमा दर्ता रहेको ठैव गा.वि.स.वडा नं ७ (क) कि.नं २८७ को क्षे.फ १–९–०–० जग्गा एस कलेक्सन र जीतेन्द्रलाल श्रेष्ठले नेपाल बंगलादेश बैक, पुतलीसडक शाखाबाट लिने विभिन्न किसिमका कर्जाहरूको लागि धितो स्वरुप नेपाल बंगलादेश बैंकको नाममा धितोबन्धक पास गरी दिनको लागि मन्जूरी गर्दछु भनी जग्गाधनी अनिता श्रेष्ठले घरसारमा गरिदिएको मन्जूरीनामा । जिल्ला ललितपुर, ठैब गा.वि.स.वडा नं ७(क) कि.नं २८७ को क्षे.फ १–९–०–० जग्गा जग्गाधनी अनिता श्रेष्ठको नाममा दर्ता रहेको, उक्त जग्गा यस कार्यालयमा गरिएको लिखतबमोजिम यस बैंकबाट फुकुवा भएको सूचना प्राप्त नहुँदासम्म रोक्का राखी सोको जानकारी पठाई दिनु भन्ने नेपाल बंगलादेश बैंकले मालपोत कार्यालय, ललितपुरलाई लेखेको मिति २०५५।५।१७ को पत्र । मिति २०५५।५।१७ को पत्रमा उल्लेख भएको व्यक्तिको नाउँमा रहेको ललितपुर ठैब गा.वि.स.वडा नं ७(क) कि.नं २८७ को क्षे.फ १–९–०–० जग्गा आजका मितिदेखि रोक्का राखिएको छ भनी मालपोत कार्यालय, ललितपुरले नेपाल बंगलादेश बैकलाई मिति २०५५।५।१७ मा लेखेको पत्र । प्रत्यर्थीमध्येका जीतेन्द्रलाल श्रेष्ठसँग पहिलेदेखि नै चिनजान रहेको थियो । २०५५ साउन महिनाको अन्तिम हप्तातिर निज प्रत्यर्थी जीतेन्द्रलाल श्रेष्ठले आफ्नो व्यापारको लागि विपक्षी बैंकबाट कर्जा स्वीकृतका लागि आवश्यक पर्ने प्रारम्भिक कारवाही चलाउन धितोबन्धक राख्न केही समयको लागि जग्गाधनीको मन्जूरनामा चाहिएको हो । पछि ऋण दिने समयमा मात्र सगोलको नाउँको सम्पत्ति बन्धकी पास गर्नुपर्छ भनी भनेकाले सोही प्रयोजनको लागि मैले घरायसी व्यवहारमा मात्र कि.नं २८७ को जग्गा धितोबन्धक राख्न मन्जूरी दिएको हो । मैले बैंकसामु उपस्थित भई कर्जा