निर्णय नं. ८१०७ - उत्प्रेषण मिश्रित परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१०७ - उत्प्रेषण मिश्रित परमादेश भाग: ५१ साल: २०६६ महिना: असार अंक: ३ फैसला मिति :२०६६/०१/१४ ७२२८ निर्णय नं.८१०७ २०६६ असार अङ्क ३ सर्बोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६३ सालको रिट नं.–३४४६ आदेश मितिः २०६६।१।१४।२ विषयः– उत्प्रेषण मिश्रित परमादेश । निवेदकः शेषप्रसादकी छोरी पूर्णप्रसाद त्रिपाठीकी पत्नी का.जि.का. म.न.पा.वडा नं.५ बस्ने संगीता त्रिपाठी विरुद्ध विपक्षीः चितवन जिल्ला, भरतपुर न.पा. वडा नं. ३ स्थित लुम्बिनी बैंक लिमिटेड, प्रधान कार्यालय समेत § बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी सम्बन्धी कारोवारको हकमा मूल ऋणी र जमानीलाई एउटै धरातलमा राखेर हेर्न नमिल्ने । § मूल ऋणीले ऋण रकम धितो नदिइएको सम्पत्तिबाट समेत तिर्नु पर्दछ भने जमानत दिनेको दायित्व जमानी दिएको हदसम्म मात्र सीमित रहने । § बैंकले ऋण असूली न्यायाधीकरणमा यी निवेदिकाबाहेक मूल ऋणीका हकमा मात्र बाँकी ऋण रकम असूलीको कारवाही चलाएको पाइँदा यसरी आफूले मूल ऋणीको मात्र बाँकी रकम तिर्नु पर्ने दायित्व हो भनी एक कानूनी निकाय समक्ष स्वीकार गरेको तथ्य अन्य निकायमा अस्वीकार गर्न नमिल्ने । (प्रकरण नं.४) § कानूनमा व्यवस्थित प्रावधानको गलत अर्थ प्रयोग गरी सोझै एकै पटकमा धितो रहेको सम्पत्ति आँफै लिलाम सकार गरी रकम दाखिला गर्ने समय प्रदान नगर्दा व्यक्तिको साम्पत्तिक अधिकारमाथि अतिक्रमण हुन जाने । (प्रकरण नं.५) § धितोको अङ्क नै लिखतमा किटान गरिसकेपछि तेस्रो पक्षले लेखिदिई सम्झौता भएको रकमभन्दा बढीमा धितो रहेको सबै सम्पत्ति लिलाम गर्ने कार्यबाट व्यक्तिलाई प्राप्त संबैधानिक एवं कानूनी हक र सोको उपभोगमा प्रत्यक्ष असर पर्न गई सम्पत्तिसम्बन्धी व्यक्तिको मौलिक हक हनन् हुन जाने । (प्रकरण नं.६) § बैक आफैँले ब्यापारिक दर भनी सम्पत्तिको ४८ लाख मूल्याङ्कन गरे पछि सो सम्पत्ति अवमूल्याङ्ककित गरी ३५ लाख बीस हजारमा लिलामी मुचुल्का समेत खडा नगरी बैंक आफैँले लिलाम सकार गरेको र सम्पत्ति अवमूल्याङ्ककित गर्दा धितो राख्ने यी निवेदिकालाई सूचना समेत नदिएको कार्यहरू त्रुटिपूर्ण हुने । (प्रकरण नं.७) § बैंक कम्पनी भए पनि यो र अन्य व्यापारिक प्रयोजनका लागि खडा भएका कम्पनीको प्रकृतिमा भिन्नता हुने । § बैंक तथा वित्तीय संस्था कानूनद्वारा इजाजत प्राप्त हुन्छन् र नेपाल राष्ट्र बैंकको नीति निर्देशनमा सञ्चालन भएकाले यिनलाई आफूसँग कारोबार गर्ने कसैको पनि सम्पत्ति रोक्का गर्न र दाखिल खारेज गर्न मालपोत कार्यालयमा लेख्न तथा मालपोत कार्यालयले सोबमोजिम गर्न कानूनद्वारा नै निर्देश हुने । (प्रकरण नं.९) निवेदक तर्फबाटःविद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्वान अधिवक्ताद्वय श्री उद्धवकुमार के.सी.र श्री भीमार्जुन आचार्य विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री शंकरबहादुर राई तथा विद्वान अधिवक्ताद्वय श्री चक्रविक्रम शाह र श्री सुधारमान श्रेष्ठ अवलम्वित नजीरः ने.का.प. २०५८, अङ्क ३, नि.नं. ६९८६, पृष्ठ १३९ सम्बद्ध कानूनः § बैंक तथा वित्तीय संस्थासम्बन्धी अध्यादेश, २०६२ को दफा ५७(१) र ५७(६) आदेश न्या.प्रकाश वस्तीः तत्कालीन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छ :– लुम्बिनी बैंक लिमिटेड हेटौडा शाखा कार्यालयबाट हारती वायर इण्डष्ट्रिज प्रा.लि.ले ऋण लिने प्रयोजनको लागि मेरो नाम