निर्णय नं. ८१११ - ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१११ - ज्यान मार्ने उद्योग भाग: ५१ साल: २०६६ महिना: असार अंक: ३ फैसला मिति :२०६५/१२/१० ३७६१ निर्णय नं.८१११ २०६६ असार अङ्क ३ सर्वोच्च अदालत, संयुत इजलास माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल माननीय न्यायाधीश श्री सुशीला कार्की २०६० सालको फौ..पु.नं. .......३४०८ फैसला मितिः २०६५।१२।१०।२ मुद्दाः ज्यान मार्ने उद्योग । पुनरावेदक प्रतिवादीः सुनसरी जिल्ला श्रीपुर जव्दी गा.वि.स. वडा न. ३ वस्ने ब्राहिम मियाँ समेत विरुद्ध प्रत्यर्थी वादीः सरातुल मियाँइनीको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः– मा.न्या. श्री एकराज आचार्य पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री श्यामवहादुर प्रधान मा.न्या. केशवप्रसाद मैनाली § ज्यानमार्ने मनसाय (Mensrea) रहेको नदेखिएको र प्रतिवादीहरूको कार्य तेस्रो पक्षको हस्तक्षेपबाट रोकिएको अवस्था पनि नहुँदा ज्यान मार्ने उद्योगअन्तर्गतको कसूर मान्ने अवस्था रहेको भन्न नसकिने । § पीडितको एउटा आँखाको हेर्ने शक्ति नष्ट भई अंगभंग भएकोले सोही महलको ६ नं बमोजिम दण्ड सजाय हुनुपर्ने । (प्रकरण नं.३) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल एवं विद्वान अधविक्ता श्री राजु कटुवाल प्रत्यर्थी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री मोहनबहादुर कार्की अवलम्वित नजीरः § ने.का.प. २०५१, नि.नं. ४८९०, पृष्ठ २२६ § ने.का.प २०५१, नि.नं. ५०१७, पृष्ठ ९४५ सम्बद्ध कानूनः § मुलुकी ऐन ज्यानसम्बन्धी महलको १, १५ नं. § अदालती बन्दोबस्तको १७६ नं. § दण्ड सजायको ३ नं. § कुटपीट महलको १ र ६ नं. फैसला न्या.गिरीशचन्द्र लालः पुनरावेदन अदालत विराटनगरको मिति २०५९।५।१३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत प्रतिवादीको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– अन्यायी मोलिम मियाँले मलाई लालच देखाई प्रेम विवाह गर्ने भनी अनुचित व्यवहार गरेको कारण गाउँघरमा छलफल हुँदा ब्राहिम र इब्राहिमको मिलेमतोबाट २०५५ साल कार्तिक ३० गतेको राति म खाना खाई सुतिरहेको अवस्था तीनै जनाले मेरो आँखामा तेजाव हाली दिई आँखा अन्धो बनाई दिएकोले घाजाँच केश फारम गरिपाऊँ भन्ने पीडित सरातुल मियाँइनीको मिति २०५५।८।१ को निवेदन । प्रतिवादी मोलिम मियाँले मलाई अनुचित व्यवहार गर्ने विभिन्न प्रलोभन देखाएको कुरा गाउँ घरमा जानकारी दिएकोले गाउँघरमा छलफल हुँदा गल्ती स्वीकार गरेकाले सोको इवी लिई विपक्षी ब्राहिम मियाँ, इब्राहिम मियाँ समेतको मिलेमतोबाट २०५५।७।३० गते रातको ११ वजे म घरमा खाना खाई सुतिरहेको अवस्थामा तीनैजनाले मेरो मुखमा तेजाव हाली दिएकाले थाहा पाई उठी गुहार माग्दा गाउँलेहरू घटनास्थलमा आउँदा विपक्षीहरू भागी गए । म वेहोस हुँदा इनरुवा अस्पतालमा ल्याई उपचार गराउँदा होस आयो । मेरो अनुहारमा तेजाव हाली आँखा हेर्नै नहुने भएको हुँदा रिसइवीले मलाई ज्यान मार्ने उद्योग गरेकाले पक्राउ गरी कानूनबमोजिम सजाय गरिपाऊँ भन्ने २०५५।८।५ को पीडित सरातुल मियाँइनीको जाहेरी दरखास्त । प्रतिवादी मोलिम मियाँलाई पक्राउ गरी दाखेल गरेका छौ भन्ने प्र.ह. कृष्ण श्रेष्ठसमेतको २०५५।८।५ को प्रतिवेदन । जाहेरवाली सरातुलको १ वर्ष अगाडि सप्तरी वरमझिया भन्ने ठाउँमा मियाँ केटासँग भएको हुँदा र निजको अनुहार गाउँघरमा अन्य केटीभन्दा राम्रो भएका कारण हामीहरूले प्रेमविवाह गर्न फकाउँदा निजले गाउँमा हल्ला गरिछन् र पंचायती बस्दा अव गल्ती नगर्ने भनी माफी मागी छुटकारा पाएका थियौँ ।