निर्णय नं. ९१७७ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१७७ - लेनदेन भाग: ५६ साल: २०७१ महिना: असोज अंक: ६ फैसला मिति :२०७०/०५/०४ ५९४७ सर्वोच्च अदालत, संयुक्त इजलास स.का.मु.प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाश वस्ती फैसला मिति : २०७०।५।४।३ ०६७-CI-०५८६ मुद्दा : लेनदेन । पुनरावेदक/प्रतिवादी : डोल्पा जिल्ला, रह गा.वि.स. वडा नं. १ बस्ने पन्नखर कार्की विरूद्ध प्रत्यर्थी/वादी : दाङ जिल्ला, धनौरी गा.वि.स. वडा नं. ९ घर भई हाल दुनै बजार पसल गरी बस्ने भरतणमणि शर्मा § कारोबार भएको मितिबाट ५ महिनाभित्रै अर्थात् मिति २०६३।८।२६ मा फिराद दर्ता भएको देखिएको अवस्थामा वादीले फिरादमा हदम्यादको सम्बन्धमा लेनदेन व्यवहारको २ नं. को दावी लिएको भए पनि लेनदेन व्यवहारको महलको ४० नं. को हदम्याद नाघेको भन्ने अवस्था नदेखिएको र त्यत्तिकै कारणले कानूनले लाग्ने हदम्यादभित्र फिराद परेको कुराको अनदेखा गर्न मिल्दैन । तसर्थ उक्त हदम्याद आकर्षित भै फिराद हदम्यादभित्रै पर्न आएको मान्नुपर्ने । (प्रकरण नं. ४) § दशवर्षको अन्तरालमा भएका हस्ताक्षरहरूमा सही गर्ने आदतमा परिवर्तन हुँदै जाने सम्भावनालाई इन्कार गर्न सकिदैन । पुनरावेदकले अदालतसमक्ष दिएको नमूना नियतवश बिगारेर दिएकाले अन्यत्र लेखेको सहीछापलाई भिडाउन परेको भन्ने मिसिल संलग्न कागजातहरूबाट देखिँदा पनि हस्ताक्षर जाँचको लागि लिएको नमूना र कारोबार गर्दा स्वभाविकरूपमा परेको सहीछाप हुबहु मिलेकै हुनुपर्छ भनी अदालतले भन्न नमिल्ने । (प्रकरण नं. ५) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता ईन्द्र खरेल प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् अधिवक्ता यदुनाथ खनाल अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, लेनदेन व्यवहारको महलको २, ४० नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री लेखनाथ ढकाल पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री टंकबहादुर मोक्तान मा.न्या.श्री दुर्गादत्त भट्ट फैसला न्या.कल्याण श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) (ख) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र रही दायर भएको मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदनउपर निस्सा प्रदान भै पुनरावेदनको रूपमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ : विपक्षीले मबाट मिति २०६३।३।१ देखि २०६३।३।५ सम्म पटकपटक गरी नगद रू.३,९०,०००।– र मिति २०६३।३।३२ देखि २०६३।४।१ सम्म दुई पटकसम्म गरी रू.१,५०,०००।– मिति २०६३।४।५ गते रू.३५,०००।– गरी जम्मा रू.५,७५,०००।– लिएका र निजले मिति २०६३।३।१२ गते रू.१,८५,०००।– र मिति २०६३।४।१ गते रू.३,३०,०००।– गरी जम्मा रू.५,४८,०००।– मात्र बुझाई रू.२७,०००।– बाँकी राखेका थिए । मिति २०६३।४।६ गते पुनः साल्दाङ गा.वि.स. घर भै हाल दुनै बजार बस्ने झ्याम्पा लामामार्फत् मबाट नगद रू.३,००,०००।– लिई जम्मा रू.३,२७,०००।– लिएकोमा सो रकम माग्न जाँदा आजआज, भोलिभोलि भनी आलटाल गरी पचाउने नियत गरेकाले मैले मिति २०६३।६।२२ गते जिल्ला प्रशासन कार्यालय, डोल्पामा निवेदन दिएको थिएँ । जि.प्र.का., डोल्पाले मिति २०६३।८।२२ मा छलफलका लागि बोलाउँदा उपस्थित नभै मेरो उल्लिखित रकम पचाउने उद्देश्य गरेको हुँदा सो रू.३,२७,०००।– भराई दिलाई पाउँ भन्नेसमेत व्यहोराको भरतमणि शर्माको मिति २०६३।८।२६ को फिराद । फिरादीले मुलुकी ऐन, लेनदेन व्यवहारको २ नं. को दावी लिएको त्यस्तो गैर तमसुक पेस भएका बखत नामाकरण गर्ने छु । त्यस्तो गैर तमसुक वा टिपोटमा मैले हस्ताक्षर गरेको पनि छैन । फिरादीले उल्ल