निर्णय नं. ८०३ - लिखतपास
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०३ - लिखतपास भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३०/०९/०२ ३२१८ निर्णय नं. ८०३ ने.का.प. २०३१ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी सम्वत् २०२९ सालको दे.फु.नं. १६३ फैसला भएको मिति : २०३०।९।२।३ निवेदक : जि.सुनसरी विजयपुर धरान जुद्धनगर बस्ने काजीमान श्रेष्ठ विरुद्ध विपक्षी :जि. सुनसरी प्रवेली पकली गा.पं. वडा नं.५ मौजे भन्सारपुर गछपकली बस्ने मन्नाराम साहू तेली मुद्दा : लिखतपास (१) लाग दावी नै नभएको बन्धकी बिषयमा निर्णय दिनु कानूनसंगत नहुने । यसमा राजीनामाको लिखत रजिष्ट्रेशन पारित गराइपाउँ भन्ने वादीको मुख्य वादी र सो लिखत झुक्याएर गराएको पारित हुनु पर्ने होइन भन्ने प्रतिवादीको मुख्य प्रतिवाद जिकिर भएकोले सो लिखत झुक्याएर गराएको हो होईन ? वादीको दावी बमोजिम पारित हुनु पर्ने वा नपर्ने के हो ? भन्ने यस मुद्दामा ठहर गर्नुपर्ने मुख्य प्रश्नहरू छन् । यससम्बन्धमा मिसिलको अध्ययन गर्दा विवादग्रस्त जग्गा राजीनामा दिनुभन्दा अगावै रत्नकुमारी रिजाललाई दृष्टिबन्धक दिइसकेकोले दोहरो पारिदिएको राजीनामाको लिखत पारित हुन सक्दैन भन्ने डिभिजन बेञ्चबाट ठहर भएको पाइन्छ । तर रत्नकुमारी रिजाललाई जग्गा बन्धक गइसकेको व्यहोरा राजीनामाको लिखतमा उल्लिखित छैन, प्रतिवादीले आफ्नो प्रतिउत्तरपत्रमा सो कुरा प्रसगंवश उल्लेख गरेको देखिन्छ तापनि सोही कुरालाई आधार बनाएर लिखत पारित गर्न आपत्ति गरेको पनि पाइँदैन । लिखत झुक्याएर गराएकोले पारित हुनु पर्ने होइन भन्नेसम्म प्रतिवादीको भनाई छ । बन्धकी साहूको लिखत बमोजिमको बन्धकी हक कायम गराई माग्ने अधिकार प्रतिवादीलाई कानूनले प्रदान गरेको पनि छैन । त्यस सम्बन्धमा प्रचलित मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको ८२ नं.र साविक मुलुकी ऐन अदालती बन्दोबस्तको महलको १०६ नं. अनुसार हकदैया पुग्ने बन्धकी साहूको उजूर दावी परेको यो मुद्दा होइन । यस स्थितिमा लागदावी नै नभएको बन्धकी बिषयमा कुनै निर्णय दिनु मेरो रायमा कानूनसंगत हुँदैन, रत्नकुमारी रिजालको दृष्टिबन्धकीको लिखत भनेको के कस्तो लिखत हो ? दृष्टिबन्धकीको स्थिति के कस्तो छ ? बन्धकी दिएको जग्गा दोहरा पारी राजीनामा गरिदिएको हो भने सो सदर हुन सक्ने वा नसक्ने के हो ? सदर हुन सक्ने हो भने के कति अवस्थामा रजिष्ट्रेशन पारित हुन सक्दछ ? दोहरा पारी दिएबापत आसामीलाई के कति सजाय हुनु पर्ने हो ? इत्यादि यस्ता प्रश्नहरू हुन् जुन बन्धकी साहूको उजूर परेको खण्डमा मात्र विचार गर्ने र निर्णय दिनु पर्ने हुन्छ । हकदैया भएका व्यक्तिको उजूरी दावी नै नभई अदालतले बीच बीचका कुराबाट वादीको सृष्टि भएको सम्झी कुनै निर्णय दिनु हुँदैन । (प्रकरण नं. १२) निवेदक तर्फबाट : अधिवक्ता लवदेव भट्ट विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता कुञ्जविहारीप्रसाद सिंह उल्लिखित मुद्दा : फैसला न्या. विश्वनाथ उपाध्याय १. प्रस्तुत मुद्दा दोहर्याइपाउँ भन्ने वादी काजीमानको निवेदन परेकोमा भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहराइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको ०२८।८।१२।१ को हुकूम प्रमांगीबमोजिम मुद्दा दोहरी यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : ने.रू.२६,३२०। कर्जा लिई पकली बजारको जग्गा बिगाहा २।।.२ र सो जग्गामा बनेको मिल कारखाना घर गोदामसमेत ०१९।३।१४।५ मा राजीनामा गरिदिएको पास गराइपाउँ