निर्णय नं. ८१८ - तहविल मसोट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१८ - तहविल मसोट भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०३१/०३/२१ २७२२ निर्णय नं. ८१८ ने.का.प. २०३१ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०३० सालको फौ.फु.नं. २२ फैसला भएको मिति : २०३१।३।२१।६ पुनरावेदक : श्री ५ को सरकार, विशेष प्रहरी विभाग विरुद्ध विपक्षी : पाल्पा तानसेन घर भई ल.पु.जि. डेरा गरी बस्ने गणेशलाल प्रधान मुद्दा : तहविल मसोट (१) भ्र.नि.ऐन परिच्छेद २ अन्तर्गतको अपराध ठहरी विगो खाए मासे हिनामिना गरेको ठहरेमा सो ऐनले विगोसमेत लाग्ने देखिन आउने, विगो भराइपाउँ भन्ने छुट्टै दावी भइरहनु पर्ने नदेखिने । दोस्रो प्रश्नको हकमा भ्रष्टाचार निवारण ऐन, ०२२ द्वारा संशोधित मूल ऐनको दफा २९ (१) मा यस ऐनको अन्य दफामा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले परिच्छेद २ अन्तर्गत सजाय हुने कसूर गरी त्यसबाट आफू वा अन्य कुनै व्यक्तिलाई गैरकानूनी लाभ वा कुनै व्यक्तिलाई गैरकानूनी हानी पुर्‍याएको रहेछ भने त्यस्तो कसूरवापत हुने सजायको अतिरिक्त त्यस्तो व्यक्तिसँग गैरकानूनी लाभ वा गैरकानूनी हानी गरेको विगो असूल गरिनेछ भन्ने लेखिएको हुनाले भ्र.नि.ऐन परिच्छेद २ अन्तर्गतको अपराध ठहरी विगो खाए मासे हिनामिना गरेको ठहरेमा सो ऐनले विगोसमेत लाग्ने देखिन आउँछ । विगो भराइपाउँ भन्ने छुट्टै दावी भइरहनु पर्ने देखिँदैन । (प्रकरण नं. ३२) पुनरावेदक तर्फबाट : सरकारी अधिवक्ता भैरवप्रसाद लम्साल पुनरावेदक प्रतिवादी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे उल्लिखित मुद्दा : (श्री ५ को सरकार वि.दशरथ दाहाल, घुस रिसवत) फैसला प्र.न्या. रत्नबहादुर विष्ट १. प्रस्तुत मुद्दा ०३०।५।१५।६ को डिभिजन बेञ्चबाट निर्णय हुँदा मा.न्या. श्री ब्रम्हदत्त तिवारी मा.प्र.न्या.रत्नबहादुर विष्ट श्री त्रैलोक्यराज अर्यालको राय नमिलेकोबाट सर्वोच्च अदालत नियमावली, ०२१ को नियम ३३ अनुसार निर्णयार्थ यसबेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : रोयल नेपाल एकेडेमीका एकाउण्टेण्ट गणेशलाल प्रधानले सो एकेडेमीको रूपैयाँ मासी हिनामिना गरेको कार्यवाही होस् भन्ने डम्बरबहादुर मानन्धरले विशेष प्रहरी विभागमा दिएको निवेदनपत्र । ३. राजकीय प्रज्ञाप्रतिष्ठानका एकाउण्टेण्ट गणेशलालले चेकद्वारा बैंकबाट झिकेको रूपैयाँमध्ये रू.४५६६०।८१ झिकेको ४ महिनापछि दाखिल गरेको र कलम कलमको गरी जम्मा रू. ९७७२४।७८ मसौट गरी भ्रष्टाचार गरेकोले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७ (२) र दफा १३ अन्तर्गत कारवाही हुन अनुरोध गर्दछु भन्ने विशेष प्रहरी विभागको ०२५।५।९।६ को आरोप पत्र। ४. म नभएको मौका म बस्ने कोठाको ताला खोली नगदी कागजपत्रहरू समेत हिनामिना गरेको र महालेखा परीक्षकको विभागबाट पनि आर्थिक विवरण समेतको कागज बदली अङ्कहरू सच्याई नभएको ठाडो बाँकी कायम गरी विशेष प्रहरी विभागमा लेखिपठाएको हो । मैले उजूरी दावाअनुसार मसौट गरेको र प्रज्ञाप्रतिष्ठानको रूपैयाँ निजी काममा लगाएको छैन । वि.प्र.विभागमा गराएको कागज पनि मेरो इच्छाअनुसार स्वतन्त्र रूपमा भएको होइन भन्ने समेत प्रतिवादी एकाउण्टेण्ट गणेशलाल प्रधानले २०२४।५।२० मा बागमती विशेष अदालतमा गरेको बयान । ५. बागमती विशेष अदालतमा दायर भएको उक्त मुद्दा बागमती विशेष अदालतबाट झिकी बागमती अञ्चल अदालतबाट हेरी कानूनबमोजिम चाँडो छिनिदिनु भन्ने समेत ०२६।५।१७।३ मा बक्स भएको हुकूमको प्रमांगी । ६. अस्थायी मस