निर्णय नं. ९३१ - वेरीतसँग लिलाम गरेको बदर गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३१ - वेरीतसँग लिलाम गरेको बदर गरिपाउँ भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/09/29 २९५१ निर्णय नं. ९३१ ने.का.प. २०३२ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३० सालको दे.फु.नं. ११६ निवेदक : मोरङ प्र.मानगढ मौजे बोक्सी बजार बस्ने माधवीदेवी आचार्ज विरुद्ध विपक्षी : मोरङ भिमचोरी गा.पं. वार्ड नं. १ बस्ने टंक भडारी समेत मुद्दा : वेरीतसँग लिलाम गरेको बदर गरिपाउँ (१) अ.बं.२२० नं. अनुसार दस्तुर टिकट नटाँसेको र अ.बं.९१ नं. अनुसार ठाडो बुझ्ने आदेश पनि नभएको निवेदन पत्रबाट कुनै कारवाई हुन नसक्ने । (२) माल आफैले गरेको लिलाम बदर गर्ने सम्बन्धमा आफैले कारवाई चलाई एकपटक भइसकेको लिलाम बदर गर्नेगरी निर्णय गर्न पाउने कुनै कानूनद्वारा अधिकार प्रदान नभएको । (प्र.नं. १७) निवेदक तर्फबाट : अधिवक्ता गङ्गाप्रसाद उप्रेती विपक्षी तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल फैसला न्या. वासुदेव शर्मा १. प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट ०२९।२।२० मा भएको निर्णय दोहर्‍याई पाउँ भन्ने निवेदक माधवीदेवीको परेको निवेदनमा भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हु.प्र.बमोजिम दोहरिएबाट यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : कटहरी महेश्वर झोडा भिमचोर झुलकेको नं.७४,७५ को अनि नं.७४ पैनी पूर्वपट्टिको र मोर्जना खोला पूर्वपट्टिको समेत जग्गा विगाहा ३।।।३ र २ विगाहासमेत ५।।।३ जग्गा गदिया खोला किनारामा पर्ने बालु पुर्जामा म आइमाई अजना बसेको थिएँ । ०२१ सालको पोतमा लिलाम डाँक भई जम्मै ४ कित्तै जग्गा लिलाममा सर्वस्व उठाई दिएछन् पोतले खामेको मात्र लिलाम हुनुपर्ने जम्मै लिलाम भएको हुँदा पोतले खामेकाको मात्र लिलाम गरी अरू फिर्ता गरिदिनु भन्ने आदेश पाउँ भन्नेसमेत माधवीदेवीको निवेदन । ३. मेरा नाउँमा ३।।।३ भाइ गणेशप्रसादको नाउँमा ४ उदयराजको नाउँमा ४ तेजे गिरीका नाउँमा २ समेत ४ जनाको जग्गाहरू लिलाम भएको हुँदा उनीहरू आफै नै भाइ भदाहा भएकोले निजहरूको हकमा समेत निवेदन दिएकी हुँ उक्त चारै कित्ता जग्गा बिगाहा १३।।।३ दर्तावालालाई थाहै नदिई लिलाम गरेको लेखिएको मानिसको नाउँमा भए पनि मेरै भोगको भएकोले मालपोतले खामेको लिलाम भई अरू फिर्ता पाउँ भन्नेसमेत माधवीदेवीको कागज । ४. उजूरवाला समेतको जग्गा ०२१ सालको मालपोत बाँकीमा लिलाम भएको हो लिलाम गर्न हुने नहुने मलाई थाहा छैन भन्नेसमेत प्र.मोतीलाल विश्वास थारुको बयान । ५. मालपोत बाँकीले खामेसम्मको लिलाम हुन पर्नेमा दर्ता मुताविकको जम्मै लिलाम भई गएको सवाल विरुद्ध भएको देखिँदा लिलाम बदर हुने ठहर्छ । मालपोत बाँकी मात्र उपर हुनेसम्म जग्गा लिलाम गर्ने व्यवस्था मिलाई असुल उपर गर्ने भन्नेसमेत मोरङ विराटनगर मालको ०२४।७।२२ को पर्चा । ६. चित्त बुझेन भन्नेसमेत रामकुमार काशिनाथ टंकनाथ समेतको छुट्टाछुट्टै पुनरावेदन। ७. माधवीदेवीको सनाखत बयानबाट जग्गाधनी गणेशप्रसाद उदयराज तेजे गिरीसमेत देखिएको निजहरूको उजूर नपरी लिलाम भएकोमा मञ्जुर भई बसेको देखिने माधवीदेवीको हकमा अ.बं.८२ नं.र अ.बं.२२० नं. ले निवेदनमा लिफा टिकट नभएकोले कारवाही गर्न नमिल्ने हुँदा मालले लिलाम बदर गर्ने गरेको पर्चा बदर लिलाम गरेको सदर भन्नेसमेत जि.पं.कार्यालय मोरङ विराटनगरको ०२५।१।२४ को फैसला ।