निर्णय नं. ९४२ - जग्गा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९४२ - जग्गा भाग: १७ साल: २०३२ महिना: बैशाख अंक: १ फैसला मिति :2032/10/13 २७८९ निर्णय नं. ९४२ ने.का.प. २०३२ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र सम्वत् २०३१ सालको दे.फु.नं. ९१ निवेदक : जि. बारा वसन्तपुर मौजे गडहल बस्ने विसुन दयाल साहु तेली विरुद्ध विपक्षी : जि. बारा प्र.खश्राहा मौजे रामपुर बस्ने राजहरण तुराहा समेत मुद्दा : जग्गा (१) अ.बं.२०१ नं.–अ.बं.२०१ नं. को व्यवस्थाअनुसार तारेखमा नबस्ने गरी धरौटीमा राखी पुनरावेदन गरेकोमा त्यस्तो पुनरावेदन डिसमिस हुनलाई पुनरावेदन सुुन्ने अदालतले झिकाएको म्यादमा हाजिर भई तारेखमा रहेकोमा सो तारेख गुजारेको हुनुपर्ने कि आफै तारेखमा रही गुजारेको हुनुपर्ने । (प्र.नं. ९) विपक्षी तर्फबाट : अधिवक्ता गणेशराज शर्मा फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट यो बेञ्चसमक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : जग्गा बिगाहा २।।.।।२।। कविलास थारुलाई जिम्मा दिई भोला खा थारुलाई जोत्न दिएको हाल डुमरवमा गा.पं.वार्ड नं.५ को कित्ता नं. ५ मा परेको मोहियानीबारे खिचोला परेको हक बेहक छुट्टिएपछि मोहियानी निर्णय हुने भनी विशेष अदालतबाट फैसला भएको उक्त जग्गाको विपक्षीबाट खिचोला मेटाई पाउँ भन्ने वादी । १० सालदेखि ०१९ साल तकको पोत बुझाई ०१९।१०।२८।१ मा चलन पुर्जि लिई भोगचलन गरिआएको मेरो नम्बरी दर्ता भोगको जग्गा हुँदा वादी झुट्टा हो भन्ने प्रतिवादी भएकोमा राजेन्द्रप्रसादका जग्गामा विसुन दयालले दावी गरी ल्याएको नालिस लाग्न नसक्ने हुँदा अ.बं.१८० नं. ले खारेज हुन्छ भनी बारा जिल्ला अदालतबाट फैसला गरे उपर पुनरावेदन खारेजमा नबस्ने भनी इन्साफ सदर भएमा लाग्ने दशौंद धरौट राखी वादीको पुनरावेदन परेकोमा नारायणी अञ्चल अदालतबाट निजलाई छलफलमा झिकाउने आदेश भई म्याद दिएको सो म्यादभित्र हाजिर नभई गुजारेको भनी उक्त अञ्चल अदालतले अ.बं.१७९ नं.बमोजिम भनी डिसमिस फैसला गरेको रहेछ । ३. उक्त अञ्चल अदालतबाट वेरीतसँग डिसमिस भयो चित्त बुझेन भन्ने वादीको पुनरावेदन । ४. अञ्चल अदालतले वेरीतसँग डिसमिस गरेको भन्ने जिकिर हुँदा सो डिसमिस गरेको रीतपुर्वक छ वा छैन भन्ने कुरा मात्र विचार गर्नु परेको छ । अञ्चल अदालतमा पुनरावेदन दिँदा तारेखमा नबस्ने गरी पुनरावेदन दर्ता भएकोमा अदालतले झिकाउनु पर्ने ठहर्‍याई म्याद पुर्जि पुनरावेदकलाई पठाएकोमा अदालतमा हाजिर नभई गुजारेको हुनाले अ.बं.२०१ नं.बमोजिम डिसमिस गरेको छ । अदालतबाट हाजिर हुनु भनी तारेख पर्चा दिनु वा मुद्दामा यो मितिमा हाजिर हुन आउनू भनी म्याद पुर्जि दिनुमा पृथक–पृथक असर हो भन्न मिल्ने देखिएन । तसर्थ अञ्चल अदालतबाट जारी भएको १५ दिने म्यादमा हाजिर नभएको हुँदा डिसमिस हुन्छ भनी गरेको अञ्चल अदातलको फैसला मनासिव छ भन्ने ०३०।३।२२।६ को डिभिजन बेञ्चको फैसला । ५. प्रस्तुत मुद्दा दोहर्‍याउनेबारे बक्स भएको हुकूम प्रमांगीमा उधृत न्यायिक समितिको सिफारिश व्यहोरामा अ.बं.२०१ नं.मा प्रयोग भएको शब्दले झगडिया झिकाइएर तारिखमा रहेको वा आफै पैरवी गर्छु भनी तारिखमा रहेको अवस्थामा मात्र सो तारिख गुजारेमा मुद्दा डिसमिस हुन सक्ने व्यवस्था गरेको प्रष्ट पारेको छ र यी शब्दहरू यति प्रष्ट छन् कि यिनमा व्याख्या गर्नुपर्