निर्णय नं. ४८२६ - उत्प्रेषण मिश्रित परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८२६ - उत्प्रेषण मिश्रित परमादेश भाग: ३५ साल: २०५० महिना: फागुन अंक: ११ फैसला मिति :२०५०/०६/२५ २९९९ निर्णय नं. ४८२६ ने.का.प. २०५० (ग) अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ २०४८ सालको रिट नं. १६७२ आदेश मिति : २०५०।६।२५।२ निवेदक : का.जि. कोटेश्वर वडा नं. ३ बस्ने वर्ष २९ को गजेन्द्र बहादुर अधिकारी । विरुद्ध विपक्षी : जिल्ला भूमि सुधार कार्यालय, काठमाडौं समेत । विषय : उत्प्रेषण मिश्रित परमादेश । (१) कुनै व्यक्तिलाई मर्का पर्ने गरी निर्णय गर्दा सम्बन्धित पक्षलाई बुझ्नु पर्ने र सो प्रयोजनका लागि मुलुकी ऐन, अ.वं. ११० नं. बमोजिमको रित पुर्याई म्याद तामेल गर्नुपर्ने देखिन्छ । कानून बमोजिम रित पूर्वकको म्याद तामेल नगरी केवल सार्वज्निक सूचना प्रकाशित गरी सम्बन्धित पक्ष उपस्थिति नभएको भनी निर्णय गर्न नमिल्ने । (प्र.नं. ८) (२) साविक मोहीको लगत कट्टा गर्नु अगावै मोही वा निजका स्वास्नी छोरालाई कानून बमोजिम म्याद जारी गरी बुझी निजहरुको कुरा सुनी कानून प्रमाणको आधारमा निर्णय गर्नु पर्नेमा सो बमोजिम नगरी गोरखापत्रमा सूचनासम्म प्रकाशित गरी उपस्थित नभएको भनी गरेको निर्णय कानूनी त्रुटिपूर्ण देखिंदा सो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । भूमि सुधार कार्यालयको नाममा अब पुनः जे बुझनु पर्दछ बुझी कानून बमोजिम निर्णय गर्नु भन्ने परमादेशको आदेश समेत जारी हुने । (प्र.नं. ८) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री बच्चुसिंह खड्का विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र कुमार श्रेष्ठ : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल आदेश न्या. लक्ष्मण प्रसाद अर्याल १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा एवं निर्णय यस प्रकार छ । २. का.जि. साविक सिनामंगल वडा नं. ७(क) कि.नं. ४१५ को क्षेत्रफल १–१३–२–० को जग्गाको जग्गा धनी लक्ष्मीमाया तकोनी र मोही मेरा स्वर्गीय पिता छत्र बहादुर अधिकारी भई कमोद गर्दै आएको र २०२१ सालको सर्भे नापीमा मेरो बाबुको नाममा मोहियानी जनिएको तथा जोताह अस्थायी निस्सा समेत प्राप्त भएको थियो । २०२२ सालमा पिताको निधन भएपछि आमाले र २०३२ सालमा आमाको निधन भएपछि मैले कमोद गरी जग्गाधनीलाई कुत बुझाउँदै आएको छु । २०२७ सालमा लक्ष्मीमायाले उक्त जग्गा पट्टु कार्कीनी लाई मेरो बाबुलाई मोही उल्लेख गरी फार्छे राजिनामा गरि दिनु भएको थियो । विपक्षी पटटु कार्कीनीले उक्त जग्गा मध्ये ५ आना देवीमाया सुवेदीलाई र ५ आना तिल प्रसाद सापकोटालाई २०४५ सालमा हालैको वक्सपत्र दिई क्रमशः कि.नं. ८३१ र ८३२ कायम भएको र बाँकी रोपनी १–१–१–० जग्गा पट्टु कार्कीनी को नाममा रही कि.नं. ८३३ कायम भई सो जग्गाको मोही महलमा मेरा पिताको नाम उल्लेख भएको थियो । विपक्षी पटटु कार्कीनीले २०४५।४।१८ मा उक्त कि.नं. ४१५ को जग्गा २०२७ सालमा मैले खरिद गर्दा भूलबाट मोही महलमा छत्र बहादुर अधिकारी जनिए पनि सो जग्गा मैले नै कमाई आएको हुँदा मोही लगत कट्टा गरी पाउँ भनी भूमि सुधार कार्यालयमा निवेदन दिई तत्कालिन कोटेश्वर गाउँ पंचायतबाट झुठा सिफारिस गराई २०४६ साल भाद्र २ गते झुठा व्यहोराको एकतर्फी सर्जमिन गराई मलाई मुलुकी ऐन, अ.व. ११० नं. बमोजिम सूचना नदिई गोरखापत्रमा १५ दिने सार्वजनिक सूचना प्रकाशित गरी कसैको हक दावी पर्न नआएको मोहिको मृत्यु भैसकेको र निजका हकदार स्वास्नी