निर्णय नं. ६०८ - उत्प्रेषणको आदेश जारी गरीपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६०८ - उत्प्रेषणको आदेश जारी गरीपाउँ भाग: १३ साल: २०२८ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०२/१७ २३०२ निर्णय नं. ६०८ ने.का.प. २०२८ डिभिजन बेञ्च न्यायाधीश श्री वासुदेव शर्मा न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत २०२७ सालको रिट नम्बर ९३८ आदेश भएको मिति : २०२८।२।१७।२ निवेदक : नेपाल निर्यात कम्पनी विराटनगरको प्रोप्राइटर जि.रंगेली घर भई हाल मोरंग विराटनगर न.प.वार्ड नं.९ बस्ने बद्रीप्रसाद अग्रवाल विरूद्ध विपक्षी : श्री हाकीम विरगञ्ज भन्सार कार्यालय विरगञ्ज समेत विषय : उत्प्रेषणको आदेश जारी गरीपाउँ (१) भन्सार ऐन, २०१९ को दफा १३ र दफा ३४ (४) : प्रस्तुत सद्दे विल बिजक अनुसार वा विल बिजक दाखिल नभएकोमा स्थानीय बजार भाउअनुसार निकासी वा पैठारी हुने मालको मोल निर्धारित गरी भन्सार असूल गर्नपर्ने–प्रस्तुत विल बिजक कीर्ते वा नक्कली भएमा दफा ३४ (४) अन्तर्गत सजाय गर्नपर्ने–प्रस्तुत विल बिजकको बेवास्ता गरी भन्सार अधिकृत वा भन्सार अड्डाको हाकिमले आफ्नो स्वेच्छामा वा श्री ५ का सरकारको निर्णयको आधारमा मालको मोल निर्धारित गर्न नहुने । त्यससम्बन्धमा भन्सार ऐन, २०१९ को अध्ययन गर्दा निकासी वा पैठारी हुने मालको मोल निर्धारित गर्दा भन्सार अधिकृत वा भन्सार अड्डाको हाकिमले आफ्नो स्वेच्छाले वा श्री ५ को सरकारको निर्णयको आधारमा मोल कायम गर्नसक्ने व्यवस्था उक्त ऐनमा भएको देखिदैन । मालको मोल कायम गर्ने सम्बन्धमा विल बिजक दाखिल भएको र दाखिल नभएको यी दुवै अवस्थाहरूलाई ध्यानमा राखी उक्त ऐनमा यथोचित व्यवस्था भएको देखिन्छ । मालधनीले विल बिजक इत्यादि केही पनि दाखिल गर्न नसकेमा स्थानीय बजारमा चलेको मोलमा पाँच प्रतिशत थपी मोल कायम गर्ने व्यवस्था दफा १३ मा र मालधनीले विल बिजक पेश गरेकोमा सो विल बिजक सच्चाएको वा नक्कली बनाई पेश गरेको देखिन्छ भने सम्बन्धित माल वस्तु जफत गरी बिगोबमोजिम जरीवाना गर्ने व्यवस्था दफा ३४ को उपदफा (४) मा भएको छ । यी कानूनी व्यवस्थाहरूबाट यो कुरा स्पष्ट हुन्छ कि मालधनीले पेश गरेको विल बिजकको सम्बन्धमा दफा ३४ को उपदफा (४) बमोजिम कारवाई भएको छैन भने सो विल बिजकलाई सद्दे मान्नुपर्ने र सोहीअनुसार मालको मोल कायम गरी भन्सार महसूल गर्ने गर्नु पर्दछ । विल बिजक इत्यादि दाखिल भएको छैन भने पनि मालको मोल कायम गर्न भन्सार अधिकृत स्वतन्त्र नभई स्थानीय बजारको आधारमा निजले मोल कायम गर्नुपर्दछ भने विल बिजक पेश भएकोमा त्यस्तो बेवास्ता गरी आफ्नो स्वेच्छाले वा श्री ५ को सरकारको आदेशअनुसार मोल कायम गर्न भन्सार अड्डाका हाकिमलाई अधिकार हुन्छ भन्न कदापी मिल्दैन । विल बिजक पेश भएको अवस्थामा कि त त्यसलाई सद्दे मानी सोहीअनुसार मालको मोल निर्धारित हुनुपर्दछ । कि त त्यसलाई कीर्ते वा नक्कली ठहराई दफा ३४ को उपदफा (४) अन्तर्गत सजायको आदेश दिन सक्नुपर्दछ । विल बिजकलाई सच्चाएको वा नक्कली बनाएको पनि नभन्ने र मालको मोल निर्धारित गर्दा त्यसको बेवास्ता पनि गर्ने परिपाटीलाई कानूनसङ्गत ठहराउने हो भने विल बिजकका सम्बन्धमा भन्सार ऐन, ०१९ मा भएको दफा ३४ को उपदफा (४) को व्यवस्था लगायत अन्य व्यवस्थाहरू निष्क्रिय प्रायः हुनजान्छन् । (प्रकरण नं. ५) (२) भन्सार ऐन, २०१९ को दफा ४४ : श्री ५ को सरकारको निर्णयानुसार दिइएको आदेश नेपाल राजपत्रमा प्रकाशित–नभएमा–उक्त आदेशलाई दफा ४४ अन्तर्गतको भन्न नमिल्ने–उक्त दफाअन्तर्गतको आदेशले ऐनको अन्य कुनै व्यवस्था विरूद्ध कुनै कुरा व्यवस्थित गर्ने श्री ५ को सरकारलाई अधिकार नहुने । भन्सार कार