निर्णय नं. ८१६६ - जीउ मास्ने बेच्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८१६६ - जीउ मास्ने बेच्ने भाग: ५१ साल: २०६६ महिना: असोज अंक: ६ फैसला मिति :२०६६/०१/२९ ३९८० निर्णय नं. ८१६६ २०६६ असोज अङ्क ६ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल संवत् २०५८ सालको फौ.पु.नं. ३१०७ फैसला मितिः २०६६।१।२९।३ मुद्दाः जीउ मास्ने बेच्ने । पुनरावेदक वादीः पाँचथर जिल्ला नवमीडाँडा गा.वि.स. वडा नं. ९ बस्ने कमलादेवी चौलागाईको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः पाँचथर जिल्ला फिदिम गा.वि.स. वडा नं. १ बस्ने खेमराज पाण्डे समेत शुरु फैसला गर्नेः मा.जि.न्या. श्री मेघनाथ भट्टराई पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री केशरमान पति मा.न्या.श्री हरिप्रसाद घिमिरे § मौकामा जिल्ला न्यायाधीशसमक्ष प्रमाणित वयानमा उल्लेख गरेको कुरालाई मिसिलबाट देखिएको परिस्थिति र प्रमाणबाट समर्थित भएको खण्डमा महत्त्वहीन र निष्प्रभावीरुपमा लिन नमिल्ने । § अदालतमा पीडितको भनाई प्रमाणित भएपछि निजले अदालतमा वकपत्र गर्दा अन्यथा भन्नुले खास असर पार्ने हुँदैन । मौकामा प्रमाणित भएको त्यस्तो भनाईलाई मिसिलबाट देखिएको परिस्थिति र अन्य प्रमाणबाट समर्थित भएको खण्डमा प्रमाणमा लिनुपर्ने । § मिसिल संलग्न प्रमाण एवम् मिसिल संलग्न तथ्यले देखाएको परिस्थितिले प्रतिवादी उपरको अभियोग पुष्टि हुने अवस्था निःसन्देहात्मक रुपमा देखापर्दछ भने अदालतमा प्रमाणको रुपमा पेश गरिएको व्यक्तिले प्रतिकूल भनाई राखे पनि फौजदारी न्यायको उद्देश्यलाई अनदेखा गरी निर्णय गरिन नहुने । (प्रकरण नं.६) पुनरावेदक वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री योगराज वराल प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ३, ८(१), (२), (४), ६(२), ८(५) § अ.वं. १९० फैसला न्या.अनूपराज शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ग) बमोजिम पुनरावेदन अदालत इलामको फैसलाउपर पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्तमा तथ्य र ठहर निम्नबमोजिम छः– मिति २०५३।५।२९ गते घरबाट छोरी चन्द्रकला चम्लागाई र गंगादेवी चम्लागाई फिदिम बजार आएका रहेछन् । घर फर्की नगई हराई वेपत्ता भएका हुँदा खोजतलासको लागि हुलिया परिपत्र गरिपाऊँ भन्ने समेत व्यहोराको २०५३।६।१० को टंकप्रसाद चौंलागाइले दिएको निवेदन । मिति २०५३।५।२९ गते घरबाट फिदिम बजारमा लाग्ने शनिवारे हटियामा किनमेल गर्न गएका छोरी वर्ष १८ की चन्द्रकला चम्लागाई र वर्ष ८ की गंगादेवी चम्लागाई घर फर्की नआई हराई वेपत्ता भएका हुँदा खोजतलासको लागि हुलिया निवेदन समेत गरी खोजतलास गर्दै रहेका अवस्थामा भारतको बम्बईबाट शंकर थापा नाम गरेको मानिसले छोरीहरू बम्बईमा नराम्रो ठाउँमा फसेका छन् भनी श्रीमान्को नाममा २ वटा पत्र पठाएपछि छोरीहरू बम्बईमा भएका कुरा थाहा भयो । के कसरी बम्बईमा पुगे भनी बुझ्दा फिदिम बजारस्थित पाण्डे भिडियो हल मालिकको छोरा खेमराज पाण्डेले छोरी चन्द्रकला र गंगादेवीलाई फिदिमबाट गाडी चढाई लगी भारतको बम्बई पुर्याई वेश्यालयमा विक्री गरी आएको छ भन्ने वुझिएको हुँदा भाइ निमप्रसाद रिमालले ओमनाथ वजगाईलाई साथ लिई भारतको बम्बईमा गई पुलिससँग सम्पर्क गरी छोरीहरूको खोजतलास गर्दा वर्ष ८ की गंगादेवीलाई फेला पारी छोरी चन्द्रकला तत्काल फेला नपरेकी हुँदा गंगादेवीलाई लिई आएका हुँदा छोरी गंगादेवीसँग बुझ्दा पनि फिदिम शनिवारे बजारको भन्दा मुनी घरमा फिल्म देखाउने पाण्डेको छ