निर्णय नं. ८५१ - हाडनाता करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५१ - हाडनाता करणी भाग: १६ साल: २०३१ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०८/१९ २७७८ निर्णय नं. ८५१ ने.का.प. २०३१ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०२५ सालको फौ.पु.नं. ४०० फैसला भएको मिति : २०२९।८।१९।२ मा पुनरावेदक : पर्वत पैयु बस्ने मु.कृष्णप्रसाद खडाल विरुद्ध विपक्षी : ऐ. सर्खुश्वारा बस्ने उमाकान्त खडाल मुद्दा : हाडनाता करणी (१) करणी गर्ने अनुकुल वातावरण नभएको र सरजमिनले पनि शंकासम्म नगरेकोमा करणी गरेको ठहराउन नमिल्ने । गुमाले अदालतमा गरेको बयानमा कृष्णप्रसाद मेरो फुपू नाता पर्ने हुँदा निजले मलाइ रातमा खानलाई आफ्ना घरमा बोलाए, खानपीन गर्दा अबेला भएकोले निजकै घरमा सुतें । करणी लिनुदिनु भयो । सुतेको घरमा निज कृष्णप्रसादकी स्वास्नी, छोरी पनि सोही घरमा सुतेका थिए । निजको स्वास्नीले सो करणी भएको थाहा पाए पनि गाली गरेन, कहिले पनि केही भनिन । कृष्णप्रसादसँग हासख्याल हुँदैनथ्यो भन्ने समेत लेखाएको देखिएकोले उक्त गुमाको बयानबाट कृष्णप्रसादले रातमा खानलाई बोलाएकोमा खानपिन गर्दा अबेला भएकोले निजकै घरमा सुती करणी लिनुदिनु भएको भन्ने र सो घरमा कृष्णप्रसादको स्वास्नी छोरी पनि सुतेका थिए भन्ने देखिन्छ । तर खानाको निमित्त आफ्ना घरमा बोलाएको पाहुनालाई स्वास्नी छोरीहरू भएकै घरमा गुमालाई करणी गर्ने अवस्था नदेखिएको त्यसअघि पुनरावेदकसँग हाँसख्याल नभएको भन्ने निज गुमाकै बयानबाट देखिन आएको छ । पुनरावेदक कृष्णप्रसादको स्वास्नीले करणी भएको थाहा पाए पनि गाली गरेन भन्ने पनि बयान लेखाई देखिन्छ । आफ्नो लोग्नेको अरू आइमाइसँग अनुचित सम्बन्ध भएको कुरामा निजले समेत केही नभनी चुप लागी बस्ने स्थिति नदेखिएकोले समेत गुमाको उक्त बयान गराई पत्यारलायकको देखिँदैन । (प्रकरण नं. ११) मिसिलसाथ रहेको २०२४।२।३ को सरजमिन मुचुल्कामा बस्ने डिल्लीराम शर्मासमेतका अधिकांश व्यक्तिले गुमाको करणी गरेमा कृष्णप्रसादका हकमा शंका लाग्दैन भनी प्रष्टरूपले लेखाएको देखिन्छ । यदि कृष्णप्रसादले गुमाको करणी गरेकै भए ति सर्जमिनमा बस्ने व्यक्तिले शंका देखाई भन्नु र लेखाउनुपर्नेमा शंका लाग्दैन भनी भन्न र लेखाउन अवस्थासमेत नभएबाट उक्त सर्जमिनका अधिकांश व्यक्तिले पुनरावेदक कृष्णप्रसादउपर शंकासम्म पनि गरेको देखिँदैन । (प्रकरण नं. १२) पुनरावदेक तर्फबाट : अधिवक्ता लवदेव भट्ट विपक्षी तर्फबाट : मुकुन्द रेग्मी फैसला न्या. सुरेन्द्रप्रसाद सिंह १. न्याय प्रशासन विविध व्यवस्था ऐन, २०१८ अन्तर्गत प्रस्तुत पुनरावेदन परी यस डिभिजन बेञ्चसमक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : गुमा जैस्यानीलाई २०१९ साल जेठ महिनामा विवाह दान गरी घरमा ल्याई राखेको थिएँ । छुट्टी भिन्न हुनुभएका दाजु नारायणदत्त मामाका छोराहरूलाई समेत भेटघाट गरी आउनुपर्यो भन्ने मेरो विचार आई घरमा नाबालख छोरा २ र निज गुमालाई छाडी २०२१ साल श्रावण २२ गते घरबाट हिँडी कलकत्तामा र त्यसपछि आसाम नगरकट्टी भन्ने ठाउँमा गई बसेको थिएँ । हाल मार्ग १५ गतेमा मात्र घरमा आइपुगेको लेखिएअनुसार ठाउँठाउँमा गएको घरमा नभएको मौका २०२१ साल भाद्र २४ गतेका रातमा निज विपक्षमध्येका गुमा शशिधर मेरो घरको बाहिरी पिँडीमा एकैधुर गरी सुतेका रहेछन्, दाजु काशीराम जाँदा विपक्ष गुमा र शशिधर एकै ओछ्यानमा सुतिरहेको देख्नुभएछ । शशिधर भागी गएछ । निज गुमा केही दिन नावालख छोराहरूको संरक्षण गरी बस भनी भन्नुभएछ । कारवाई गर्छन् भन्ने डरका मार