निर्णय नं. ८१२१ - उत्प्रेषण प्रतिषेध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१२१ - उत्प्रेषण प्रतिषेध भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६६/०२/०५ २७९० निर्णय नं. ८१२१ २०६६ साउन,अङ्क ४ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी संवत् २०६३ सालको रिट नं.....०७६५ आदेश मितिः २०६६।२।५।३ विषयः– उत्प्रेषण प्रतिषेध । निवेदकः काभ्रेपलाञ्चोक जिल्ला, पनौती न.पा. वडा नं. ५ घर भै हाल वन तथा भू– संरक्षण मन्त्रालय, वनस्पती विभाग, थापाथलीको महानिर्देशक पदमा कार्यरत हरिकृष्ण सैंजु विरुद्ध विपक्षीः नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत § जुन वढुवा समितिको सिफारिशबमोजिम नियुक्ति पाएका हुन्, सो वढुवा समितिको सिफारिश बदर भई अर्को व्यक्तिले वढुवा पाइसकेको अवस्थामा मैले पाएको नियुक्तिलाई बदर नभनेको हुँदा कायमै छ भनी लिएको निवेदन दावी तर्कसंगत र औचित्यतापूर्ण नदेखिने । (प्रकरण नं.३) § वढुवा भएको पदमा वढुवा बदर हुनुभन्दा पहिले पाएको नियुक्तिको आधारमा पदमा बहाल रहेकै कारणले मात्र निजको वढुवा भएको पदमा पदाधिकार कायम छ भन्न सकिने अवस्था देखिन नआउने । § सिफारिश वढुवा नै बदर भई विस्थापित भएको स्थितिमा त्यसरी विस्थापित भएका कर्मचारीहरूले पहिले पाएको नियुक्तिलाई कायमै राख्दै खाली पद र विशेष पद सिर्जना गरी पद मिलान गर्दै जाने हो भने वढुवा समितिले आफ्नो गल्ती सुधार गर्ने अवसर नपाउने र अदालतबाट भएको फैसलासमेत निष्क्रिय हुने भै अदालत प्रतिको आस्था घट्नुको साथै कानूनबमोजिम वढुवा हुने र पाउने व्यवस्था नै पराजीत हुन जाने हुँदा एउटा पदका लागि भएको विज्ञापनमा एकभन्दा वढी व्यक्तिलाई जुनसुकै बहाना बनाई वढुवा गर्न नमिल्ने । (प्रकरण नं.४) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री बद्रीबहादुर कार्की र विद्वान अधिवक्ता श्री शरदप्रसाद कोइराला विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रकुमार पोखरेल अवलम्वित नजीरः २०६१ सालको रिट नं. ३५८७ सम्बद्ध कानूनः § नेपाल वन सेवा (गठन, समुह तथा श्रेणी) विभाजन र नियुक्ति नियमहरु, २०५१ को नियम ९ आदेश न्या.अनूपराज शर्माः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको टिपोट र आदेश यस प्रकार छः– म निवेदक नेपाल सरकारको २०३२।३।२२ को निर्णयानुसार २०३२।२।२७ देखि नोकरी गणना हुने गरी शाही वनस्पती उद्यान गोदावरीमा विविध सेवाको रा.प.तृ. प्रा. श्रेणीको सहायक वैज्ञानिक पदमा सेवा प्रवेश गरी कामकाज गरी सकेपछि २०४३।८।९ को निर्णयानुसार २०४३।३।८ देखि नेपाल वन सेवा, वोटनी समूहको रा.प. द्वि (प्रा.) पदमा वढुवा पाई कार्य गरिआएको थिएँ । सोही समयमा लोकसेवा आयोगको वढुवा सूचना नं. १०२।०६०–६१ अन्तर्गत नेपाल वन सेवा वोटानी समूह, रा.प. प्रथम (प्रा.) श्रेणीको रिक्त एक पदको लागि कार्यक्षमताको मूल्याङ्कनद्वारा पदपूर्ति गर्न वढुवाको सूचना प्रकाशित भै म निवेदकसमेतले फारम भरी वढुवा प्रतियोगितामा समावेश भएकोमा वढुवा समितिको मिति २०६०।११।२६ को निर्णयानुसार म निवेदकले ९९.४३७५ अंक प्राप्त गरेको देखाई वढुवा पाउनेमा मेरो नाम समावेश गरी सिफारिश भएकोमा सो सिफारिशउपर चित्त नबुझी डा. लोकेन्द्रराज शर्माले निजामती सेवा ऐन, २०४९ को दफा २४च बमोजिम लोकसेवा आयोगमा उजूरी दिई सो उजूरीउपर छानवीन गरी वढुवा समितिले गरेको निर्णय सदर गरी २०६१।१।१४ मा निर्णय भै सकेपश्चात् नेपाल सरकारको २०६१।२।१३ को निर्णयानुसार २०६१।१।३ द