निर्णय नं. ४८३८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४८३८ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: चैत्र अंक: १२ फैसला मिति :२०५०/०९/०५ २४२७ निर्णय नं. ४८३८ ने.का.प. २०५० (ग) अङ्क १२ संयुक्त इजलास माननीय न्यायधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायधीश श्री अरविन्दनाथ आचार्य २०४७ सालको रिट नं.– ७३७ आदेश मिति: २०५०।९।५।२ निवेदक : का. जि. सतुंगल गा.वि.स. वार्ड नं. ९ स्थित कार्पेट कलेक्शन प्रा.लि. को अख्तियार प्राप्त ऐ को सञ्चालक ऐ बस्ने मृगेन्द्र भूर्तेल । विरुद्ध विपक्षी : स्थानीय विकास मन्त्रालय, नगर स्रोत परिचालन शाखा समेत । विषय : उत्प्रेषण । (१) निवेदकको उद्योग सनुंगल गा.वि.स.मा रहेकोमा विवाद देखिएन । थानकोट क. डिपोमा प्राप्त भएको सामान उद्योगको लागि झिकाइएको भन्ने भउकोले जहाँ उद्योग स्थित छ त्यही खपत प्रयोग हुने भन्ने सम्झनु पर्ने कुरा स्वाभाविक हुन आउँदछ । चुंगीकर लाग्ने नगरपालिका क्षेत्रभित्र खपत वा बिक्री हुनुपर्ने अनिवार्यता नगरपालिका ऐन, ०४७ को दफा २३ को समुच्चयात्मक अध्ययनबाट देखिन आउँदछ । उद्योग नगर पालिका बाहिर गाउँ क्षेत्रमा रहेको अवस्थामा गाउँ विकास समितिले पनि आफ्नो क्षेत्रको उद्योगको मालसामानमा आवयश्क विधि अवलम्बन गरेर कर लगाउन सक्ने । (प्र.नं.८) चुंगीकर माल कर डिपोमा आउँदाका अवस्थामा खपत वा विक्री वितरण सोझै हुने अवस्थाको मालमा मात्र लाग्ने हो । (प्र.नं.९) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञ रन्त तुलाधर अवलम्वित नजीर: गायत्री प्रसाद रिजाल विरुद्ध विराटनगर नगर पञ्चायत भएको नं.का.प. २०४५, अङ्क १० मा प्रतिपादित सिद्धान्त । आदेश न्या.लक्ष्मण प्रसाद अर्याल १. नेपालको संविधान २०१९ को धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. कार्पेट कलेक्सन प्रा.लि.का. जि. सनुंगल गा.वि.स मा स्थापित छ । यसको मुख्य कच्चा पदार्थ उन हो । यस उद्योगले प्रयोग गर्नु पर्ने उन झिकाउन लागेको तथ्यको सूचना दिई चुंगीकर लाग्नु पर्ने होइन भनी २०४७।३।५ मा निवेदन गरेकोमा आयात गरेको उन नगर क्षेत्रमा नै खपत हुने हुँदा म.पा. ऐन, ०४७ को दफा २३ अनुसार चुंगीकर लाग्ने भएको व्यहोरा जानकारी गराइन्छ भनी ०४७।५।११ मा पत्र दिएको हुनाले अन्याय परी यो निवेदन गर्न आएको छु । ३. नगरपालिका ऐन, ०४७ को दफा २३ मा नगरपालिका क्षेत्र भित्र खपत वा विक्री गर्न कुनै माल पैठारी गरेमा चुंगीकर लाग्ने व्यवस्था छ । तर सो माल नगर क्षेत्र भित्र खपत हुने प्रकृतिको हुनु पर्दछ । नगर क्षेत्रको बाटो भएर अन्यत्र जाने सामानको हकमा न.पा. ले चुंगीकर लिन नपाउने व्यवस्था उक्त ऐनको दफा २३ (४) मा गरेको छ । यसमा पनि प्रस्तुत विवाद नगर क्षेत्र भित्र प्रवेश गरी जानू पर्ने सामान होइन । अतः गैर कानूनी ढंगबाट निबेदकको उद्योगलाई कर लगाउने गरेको अ.ं ३५ नं. ले वदर भागी छ । गायत्री प्रसाद रिजाल विरुद्ध विराटनगर नगर प्रचयत भएको उत्प्रेषण मुद्दा (ने. का. प. ०४५ अंक १०) मा नगर क्षेत्र भन्दा बाहिरको उद्याोगहरुबाट कर उठाउन नपाउने गरी सिद्धान्त प्रतिपादीत भएको छ । विषक्षीहरुको उक्त कारवाही र निर्णयबाट संविधानको धारा १० (१) ११(२) (ङ) १५ द्वारा प्रदत्त हकमा कून्ठीत भएकोले प्रत्यर्थी नं. २ को ०४७।५।११ को पत्र र तत्सम्बन्धमा निर्णय एवं कारवाही उत्प्रेषणको आदेश द्वारा बदर गरी पाउँ भन्ने समेत ब्यहोराको रिट निवेद्यन रहेछ । ४. यसमा के कसो भएको हो ? माग बमोजिमको आदेश किन जारी हुन नपर्नै हो ?