निर्णय नं. ९२६८ - हातहतियार खरखजाना
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२६८ - हातहतियार खरखजाना भाग: ५६ साल: २०७१ महिना: माघ अंक: १० फैसला मिति :२०७१/०३/२५ ५१३० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।३।२५।४ ०६८-CR-१०९९ मुद्दा : हातहतियार खरखजाना । निवेदक/प्रतिवादी : राम योगेश्वर महतोको छोरा, जिल्ला बारा, गा.वि.स उत्तर झिटकैया वडा नं. ५ जन्म घर भई हाल काठमाडौं जिल्ला कारागार कार्यालय, डिल्लीबजार काठमाडौंमा थुनामा रहेको वर्ष ३१ को प्रभातकुमार कुशवाहा विरूद्ध विपक्षी/वादी : प्रहरी प्रतिवेदन जाहेरीले नेपाल सरकार § फौजदारी कसुर जस्तो गम्भीर किसिमको अपराधमा तथ्ययुक्त एवम् ठोस सबुद प्रमाणको आधारमा मात्र कसुरदार कायम गर्नुपर्ने हुन्छ । तथ्ययुक्त एवम् ठोस सबुद प्रमाणको अभावमा सहअभियुक्तले पोल गर्ने र सो पुष्टि नभएको र केवल हचुवाको आधारमा अभियोग लगाउने पक्षले अभियो लगाएकै भरमा मात्र कसुदार कायम गर्नु फौजदारी न्यायको सिद्धान्तको मर्म र भावनाविपरीत हुने । (प्रकरण नं. ४) निवेदक/प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्णप्रसाद सापकोटा तथा विद्वान् अधिवक्ताहरू सुरेश चापागाईं र रामप्रसाद ढुंगेल विपक्षी/वादी तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता पुस्कर सापकोटा अवलम्बित नजिर : सम्बद्ध कानून : § हातहतियार खरखजाना ऐन, २०१९ को दफा ३ (२) , ४(२) २०(२) (क) र (ख) सुरू तहमा फैसला गर्ने : प्र.जि.अ.श्री लक्ष्मीप्रसाद ढकाल पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री एकराज आचार्य मा.न्या.श्री प्रकाशराम मिश्र फैसला न्या.बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्रको भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य तथा ठहर यस प्रकार छ : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका ३२, मैतीदेवी धोवीखोला स्थित डा. प्रभातकुमार कुशवाहाले करारमा लिई प्रयोग गर्दै आएको किशोरबहादुर टण्डनको घरको दोस्रो तलाको बीचको कोठामा भारतीय नागरिकहरू अभिषेक सिंह, आशुतोष यादव, प्रदिप शुक्ला र आशिष श्रीवास्तवसमेतलाई फेला पारी खानतलासी लिँदा निजहरू बसेको कोठाको टेबुलको बायाँतर्फको माथिल्लो घर्राबाट अङ्ग्रेजीमा अटोमेटिक पेस्तोल ELEY मेड इन यु. यस. ए. र म्याग्जिनमा ७७११ लेखिएको पेस्तोल-१ र अङ्ग्रेजीमा अटोमेटिक पेस्तोल ELEY मेड इन यु.यस. ए. र म्याग्जिनमा १००७ लेखिएको पेस्तोल-१समेत पेस्तोल-२ तथा सो पेस्तोलमा लाग्ने ७.६५ लेखिएको गोली राउन्ड-९ फेला परेको भन्नेसमेत मिति २०६७।६।१५ को बरामदी मुचुल्का र प्रतिवादीहरूलाई पक्राउ गरी दसीसहित पेस गरेको भन्ने प्रहरी प्रतिवेदन । डा. प्रभातकुमार कुशवाहाले मलाई हातहतियार छ भने ल्याएर आउनु, आतेजाते र हतियारको खर्च म दिउँला भनेकाले मैले आफूसँग रहेको १ पेस्तोल र २ राउन्ड गोली, मेरो साथी आशिष श्रीवास्तवसँग रहेको हतियार र आशुतोष यादवसँग रहेको गोलीसमेत लिई आशुतोष यादवले व्यवस्था गरेको गाडीमा पेस्तोल २ र गोली ९ लिई आई प्रभातकुमार कुशवाहाको घर डेरामा टेबुलको घर्रामा हतियार र गोलीहरू राखी बसिरहेको अवस्थामा प्रहरी आई पक्राउ गरेको हो भन्नेसमेत प्रतिवादी अभिषेक सिंहले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । डा. प्रभात कुमार कुशवाहाले हतियार लिने भनी मेरो चिनजानको साथी आशुतोष यादवसमेतले भनेको हुँदा मसँग भएको पेस्तोल-१ र गोली-२ समेत ल्याएर प्रभातकुमार कुशवाहाको घरमा डेरामा गएको बेलामा पक्राउमा परे