निर्णय नं. ९२७३ - मानाचामल
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२७३ - मानाचामल भाग: ५६ साल: २०७१ महिना: माघ अंक: १० फैसला मिति :२०७१/०५/०५ ५९५२९ सर्वोच्च अदालत,संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।५।५।५ ०६८-CI-०२१६ मुद्दा : मानाचामल । पुनरावेदक/ प्रतिवादी : भक्तपुर जिल्ला, मध्यपुर थिमी न.पा. वडा नं. १६ बस्ने राम खड्का विरूद्ध विपक्षी/वादी : भक्तपुर जिल्ला, मध्यपुर थिमी न.पा. वडा नं. १६ बस्ने सरिता खड्का § सन्तानको उचित स्याहार सम्भारलगायतका पूरा गर्नुपर्ने अभिभावकीय दायित्व पूर्णरूपमा अभिभावकमा रहेको देखिने । आफ्नो मात्र अंश लिई भिन्न भएकी पुनरावेदककी जेठी श्रीमतीको साथमा वादी सरिता खड्का रहेको तथ्यलाई पुनरावेदकले स्वीकार गरे पनि निजको पालन पोषणको लागि आफूले यो यस्तो व्यवस्था गरेको छु भनी कुनै प्रमाण गुजार्न सकेको देखिएन । वादीको आमा र पुनरावेदकबीच भएको अंश मुद्दा निर्णय भई कार्यान्वयनको क्रममा विवाह खर्च पर सारेको भन्ने बाहेक पुनरावेदकले आफ्नो सन्तानप्रतिको कुनै संरक्षकीय दायित्व निर्वाह गरेको नदेखिने । (प्रकरण नं. ३) § “विवाह खर्च” सगोलमा रहेका अंशियारहरूका बीच अंशबन्डा हुँदाका बखत तत्काल कायम रहेको सम्पत्तिको आधारमा विवाह नभएका अंशियारहरूको लागि खर्चको व्यवस्था गरिने गरी कानूनबाट सिर्जना भएको अधिकार हो जसको सम्बन्ध बन्डा हुँदाका बखत विवाह नगरेका तथा विवाह भएका अंशियारबीच मात्र रहेको हुने । § विवाह खर्चसम्बन्धी शब्दले नै नेपाली समाजमा चलिआएको परम्परागत संस्कार र विधिपूर्वक विवाह गर्दाको बखत आवश्यक पर्ने रकमको लागि खर्चको व्यवस्था गरिएको हो भनी मान्न सकिन्छ । यसरी छुट्ट्याइएको खर्च विवाह गर्नुअगाडि नै कुनै पनि अंशियारले अन्य प्रयोजनको लागि खर्च गर्न सक्तैन । यस्तो अन्य काममा खर्च गर्न नसकिने रकम कलमलाई आधार बनाई आफ्नो बालबच्चालाई इज्जत आमद अनुसार खान लाउन र आवश्यकता अनुसार स्वास्थ्य उपचार र उचित शिक्षा दीक्षा दिनुपर्ने दायित्वबाट कुनै पनि अभिभावक पन्छिन नमिल्ने । § भरणपोषणको लागि नियमितरूपमा खर्चको प्रबन्ध मानाचामलबाट गरिन्छ भने बन्डा हुँदाका बखत अविवाहित अंशियारको विवाह गर्ने कार्यमा हुने खर्चको व्यवस्था विवाह खर्चका रूपमा गरिन्छ । यसरी फरक प्रसङ्ग र सन्दर्भमा प्रयोग हुने दुई भिन्नभिन्न अधिकारमध्ये एउटा अधिकार विवाह खर्च प्राप्त गरिसकेको हुँदा मानाचामल भराउन पर्दैन भन्ने कानून अनुरूप मान्न नसकिने । (प्रकरण नं. ४) पुनरावेदक/ प्रतिवादीका तर्फबाट : विपक्षी/वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : § मुलुकी ऐन, अंशबन्डाको महलको १० नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री बलभद्र बास्तोला पुनरावेदन तहमा फैसला गर्नेः- मा.न्या.श्री पुरूषोत्तम भण्डारी मा.न्या.श्री प्रकाशकुमार ढुंगाना फैसला न्या.दीपकराज जोशी : पुनरावेदन अदालत, पाटनबाट मिति २०६७ पौष २८ गते भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यस प्रकार रहेको छ : विपक्षी पिताले पढ्ने लेख्नेलगायतका मप्रतिको कुनै पनि दायित्व पूरा नगरेको हुँदा हाल आफू विपक्षीसँग भिन्न भई बसेकी आमाको साथमा रहे बसेको छु । म फिरादीलाई विपक्षीले खानलाउन नदिई घरबाट निकाला गरेको हुँदा मिति २०५७।७।१० गतेलाई मानो छुट्टिएको मिति कायम गरी उक्त मितिदेखि स्वेच्छाले खान लाउन नदिएसम्म तथा अंश कार्यान्वयन भई भोगचलन नभएसम्म म फिरा