निर्णय नं. ८१३५ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८१३५ - कर्तव्य ज्यान भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६५/१२/१२ ४७९२ निर्णय नं. ८१३५ २०६६ साउन,अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल संवत् २०६५ सालको फौ.पु.नं.०७०८ फैसला मितिः २०६५।१२।१२।४ मुद्दा :– कर्तव्य ज्यान । पुनरावेदकः बालसुधार गृह, सानो ठिमीमा थुनामा रहेकी ख कुमारी बिरुद्ध प्रत्यर्थीः क बहादुरको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः मा.जि.न्या. श्री कुमारप्रसाद पोखरेल पुनराबेदन फैसला गर्नेः मा.न्या. श्री कृष्णप्रसाद बस्याल मा.न्या.श्री बुद्धिप्रसाद रेग्मी § कानूनबमोजिम बाहेक कसैले कुनै मानिसको ज्यान मार्न, मार्न लगाउन वा मार्नको लागि उद्योग गर्न नहुने भन्ने व्यवस्था भएबाट आपसी सहमतिमा विष सेवन गरी मुत्यु हुन गएमा आपराधिक दायित्वबाट कसैलाई उन्मुक्ति दिन कानूनतः नमिल्ने । (प्रकरण नं.४) § मर्नुअघि होस छँदै मृतकले आफ्नो मृत्युको कारणका सम्बन्धमा व्यक्त गरेको कुरा र कुनै घटनाका सम्बन्धमा सो घटनाबाट पीडित मानिसले मौकामा व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा १० र ११ अनुसार प्रमाणमा लिन मिल्ने । (प्रकरण नं.५) § उमेर नपुगेका बालबालिकाको पूर्णरूपमा शारीरिक एवं मानसिक विकास भइसकेको नहुने र उनीहरूमा वयष्क मानिस सरह आपराधिक मस्तिष्क (Mens Rea) को विकास समेत नहुने हुँदा उनीहरूलाई वयष्क मानिस सरह सजाय नगरी उनीहरूको शारीरिक र मानसिक अपरिपक्वता उपर विचार गरी उनीहरूको सर्वोत्तम हित (Best Interest) का लागि आवश्यकताअनुसार उन्मुक्ति, छूट वा सुविधा प्रदान गरी तुलनात्मक रूपमा कम सजाय गरिनुपर्ने । (प्रकरण नं.७) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री हरिकृष्ण कार्की र श्री विनोद श्रेष्ठ प्रत्यर्थी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदी अवलम्वित नजीरः सम्वद्ध कानूनः § ज्यानसम्बन्धी महलको १, १३(२) § बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३) § अ.बं. १८८ § प्रमाण ऐन, २०३१ को दफा १० र ११ फैसला न्या.कृष्णप्रसाद उपाध्यायः विशेष प्रकृतिका मुद्दाहरूको कारवाहीमा पक्षको गोपनीयता कायम राख्नेसम्बन्धी कार्यविधि निर्देशिका, २०६४ बमोजिम प्रस्तुत मुद्दाका मृतक, जाहेरवाला, प्रतिवादी र प्रतिवादीकी आमासमेतको वास्तविक नाम परिवर्तन गरिएको छ । पुनरावेदन अदालत पाटनको मिति २०६४।८।२० को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– मेरो छोरा वर्ष १६ को अ कुमार ज्ञानेन्द्रप्रसादको घरमा डेरा गरी कन्चन मा.वि. (बोर्डिङ्ग स्कूल) मा कक्षा १० मा अध्ययन गरी बसेका थिए । मिति २०६२।६।६ गते बेलुकी मेरो छोरा डेरामा छट्पटाई रहेको मलाई विष पर्‍यो कागती ल्याऊ भनी कराएको गोडाको तल्लो भागमा काटे बिष जान्छ भनी चिरेछ सो कुरा घर धनी समेतले स्कूलका पाले र सरहरूलाई खवर गरेपछि स्कूलका सरहरूले छोरालाई उपचारको लागि पाटन अस्पतालमा ल्याएको र मलाई गाउँमा खबर गरेकोमा म पाटन अस्पतालमा जाँदा छोराको मृत्यु भइसकेको रहेछ । मेरो छोराले विष आफैं खाएको हो वा खुवाइएको हो सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी कारवाही गरिपाऊँ भन्ने समेतको क बहादुरको जाहेरी दरखास्त । पूर्वमा कन्चन मा.वि., पश्चिममा बज्रबाराही रेञ्च पोष्ट, उत्तरमा ज्ञानेन्द्रप्रसाद घिमिरेको गोठ, दक्षिणमा सार्वजनिक चौर यति चार किल्लाभित्र रहेको ज्ञानेन