निर्णय नं. ६९९६ - लुटपीट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९९६ - लुटपीट भाग: ४३ साल: २०५८ महिना: असार अंक: ३ फैसला मिति :२०५७/१०/०६ ३३६९ निर्णय नं. ६९९६ ने.का.प. २०५८ अङ्क ३.४ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल सम्वत् २०५४ सालको फौ.पु.नं. १६७६ फैसला मितिः २०५७।१०।६।६ मुद्दाः लुटपीट । पुनरावेदक/वादीः जिल्ला धनुषा पौडेश्वर गा.वि.स. वडा नं. ९ बस्ने त्रीपुरादेवी झा । विरुद्ध प्रत्यर्थी/प्रतिवादीः ऐ ऐ बस्ने कालीदेवी झा समेत । § यस अदालत संयुक्त इजलासबाट अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाउेन आदेश हुँदा हदम्याद सम्बन्धमा लिईएको आधारलाई हेर्दा संक्षिप्त कार्यविधि ऐन, २०२८ को दफा १४, बचाउ र खारेजी शिर्षकमा “यस ऐन बमोजिम कार्यविधि अपनाउनु पर्ने मुद्दामा सो बमोजिम कार्यविधि नअपनाई अन्य प्रचलित कानून बमोजिम सामान्य कार्यविधि अपनाएको रहेछ भने सो कारणले मात्र भैसकेको कारवाही वदर हुने छैन” भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । पुनरावेदन अदालतले सामान्य कार्यविधि अपनाई पुनरावेदन दर्ता गरि फैसला समेत गरेको हुँदा सो आधारमा उक्त कारवाही वदर गर्नु पर्ने अवस्थाको देखिएन । § मिति २०४९।९।९ गते अन्दाजी १०:३० बजेको समयमा प्रतिवादीहरु वादीको घर आँगनमा प्रवेश गरी वादीलाई कुटपिट गरी धान, चामल लोटा र वाल्टिन समेत लुटी लगेको देखेको हुँ भनी लुटी लगेको सामान र प्रतिवादीहरुको नाम समेत उल्लेख गरी किटानी वकपत्र गरी वादी दावीलाई पुष्टि हुने गरी लेखाई दिएको पाइन्छ भने रीसइवीको कारण मुद्दा दिएको भन्ने केही प्रतिवादीहरु र वारदातका दिन सो ठाउँमा नरहेको भन्ने केही प्रतिवादीको प्रतिउत्तर जिकिरलाई पुष्टि हुने गरी प्रतिवादीहरुका साक्षीहरुले वकपत्र गरी लेखाई दिन सकेको पाइदैन । सोही मितिको वारदात देखाई यिनै वादी प्रतिवादी बीच चलको फौ.पु.नं. ६६१ को कुटपिट मुद्दामा यि प्रतिवादीहरुले वादीलाई कुटपिट गरेको ठहराई पुनरावेदन अदालत जनकपुरबाट मिति २०५२।३।१ मा फैसला भई अन्तिम भै बसेको समेतबाट वादीले उल्लेख गरेको मिति २०४९।९।९ मा वारदात भएको कुरालाई सो कुटपिट मुद्दा र वादीका साक्षीहरुको वकपत्र समेतले पुष्टि गरेको देखिन्छ । यसरी वादी दावीलाई समर्थन हुने गरी वादी पक्षका साक्षीबाट किटानी वकपत्र भएको र कुटपिट मुद्दाबाट वारदात समेत स्थापित भइरहेको अवस्थामा लुटपिट ठहराउनु पर्नेमा शुरु जिल्ला अदालतको फैसला उल्टी गरी लुटपिट नठहराएको पुनरावेदन अदालत जनकपुरको फैसला नमिलेकोले उल्टी भई वादीको पुनरावेदन जिकिर बमोजिम उपरोक्त पाँचजना प्रतिवादीहरुले लुटपिट गरेको ठहर्ने । (प्र.नं. १३) पुनरावेदक वादी तर्फबाटःX प्रत्यर्थी प्रतिवादी तर्फबाटःX अवलम्वित नजिरःX फैसला न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालतको जनकपुरको मिति ०५३।२।१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ । २. मेरो श्रीमान घरमा नभएको अवस्थामा मिति २०४९।९।९।५ का दिन अ. १०:३० बजे आफ्नो घर आँगनमा भात पकाई रहेको अवस्थामा एक्कासी विपक्षीहरु मेरो आँगनमा आई अनेक प्रकारको अपशब्द प्रयोग गर्दै हुल हुज्जत गरी जबरजस्ती घरमा प्रवेश गरी विपक्षी मध्येका भालचन्द्र झाले मौका यही हो, बेसरी कुटपिट गर, जे परेको म बेहोरुला भनि वचन दिनासाथ निजको वचन मानी अन्य विपक्षीहरु र आफू समेत भै म तथा मेरो काखकी २ वर्षकी छोरी प्रतिभा कुमारी समेतलाई लात, थप्पड मुडकी समेतले शरीरको यत्रतत्र भागमा कुटपिट गरी म वेहोस