निर्णय नं. ८६९० - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६९० - अंश भाग: ५३ साल: २०६८ महिना: पौस अंक: ९ फैसला मिति :२०६८/०२/२५ ८७३५ ने.का.प. २०६८, अङ्क ९ निर्णय नं. ८६९० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री कमलनारायण दास संवत् २०६६ सालको दे.पु.नं. ०७७८ फैसला मितिः २०६८।२।२५।४ मुद्दाः– अंश । पुनरावेदक वादीः जिल्ला बाग्लुङ्ग, भीमगिठे गाउँ विकास समिति, वडा नं.४ गैरागाउँ बस्ने तुलसीदेवी कुँवर समेत विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ. ऐ. बस्ने हिरालाल कुँवर समेत शुरु फैसला गर्ने : मा.न्या.भोलानाथ चौलागाई पुनरावेदन फैसला गर्ने : मा.मु.न्या.श्री जागेश्वर सुवेदी मा.न्या.श्री पोषनाथ शर्मा § अंशियारको बराबर अंश हक लाग्ने कुरामा कुनै द्विविधा छैन । महिलाले प्राप्त गर्ने अंश हकको स्रोत भनेको वैवाहिक नाताले पतितर्फको पैतृक सम्पत्ति र अविवाहित अवस्थामा जन्मको नाताबाट बाबुतर्फको पैतृक सम्पत्तिबाट अंश प्राप्त गर्ने कानूनबमोजिमका अंशका हकदार हुन् । यिनीहरूले कसैको कृपा वा दया–मायाबाट अंश पाउने नभई कानूनी प्रावधानबाट नै अंश पाउने हकदार भएकाले महिला तथा बालबालिकालाई नाम मात्रको अंश दिने कलुषित भावना तथा उद्देश्यले अभिप्रेरित भई गरिएका त्यस्ता लिखतलाई आधार मानी नाम मात्रको अंश दिने किसिमले निचोडमा पुग्नु भनेको न्यायको मार्ग अवरोध गर्नु समान हुने । (प्रकरण नं.४) § पैतृक सम्पत्ति हाँगाको नाताले पहिला बाबु र त्यसपछि सन्ततिमा सरी आउने भए तापनि त्यस्तो पैतृक सम्पत्ति बाबुको एकलौटी मान्नु पर्ने ऐनको मनसायविपरीत हुने । (प्रकरण नं.५) § अंशको हक अंशियार भएका नाताले स्वतः प्राप्त गर्ने हक हुँदा यसरी स्वतः प्राप्त गर्ने अंश जस्तो नैसर्गिक कानूनी हकलाई निष्क्रिय वा संकुचित पार्ने गरी भएको कुनै लिखतले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । § अंशियारहरूले पारस्परिक सहमतिबाट आफूहरूले आफ्नो अंश हक प्रयोग गर्न सक्दछन । तर, त्यसरी अंशियारबीच कुनै लिखत वा व्यवहार गर्दा त्यस्तो कुनै अंशियारले आफूले अंश दिनुपर्ने अन्य अंशियारको असहमति हुँदाहुँदै उसको अंश हकलाई सीमित वा संकुचित गर्ने गरी कुनै लिखत गर्न पाईंदैन । अंश हक जस्तो नैसर्गिक अधिकारलाई कुण्ठित हुने गरी खडा भएको त्यस्ता लिखत स्वतः बदरभागी हुने । (प्रकरण नं.६) पुनरावेदक वादीतर्फबाटः विद्वान अधिवक्ताद्वय गोपालप्रसाद शर्मा, र केशव पराजुली प्रत्यर्थी प्रतिवादीतर्फबाटः विद्वान अधिवक्ता कृष्णनाथ शर्मा अवलम्बित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन, अंशबण्डाको १९(१) नं. फैसला न्या.प्रेम शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय निम्नानुसार छ :– विपक्षीमध्येका हिरालाल म तुलसीका जेठाजु र हामी चन्द्र र गीताका जेठाबाबा नाताका हुनुहुन्छ । विपक्षी बलबहादुर म तुलसीका पति र हामी चन्द्र र गीताका पिता नाताका हुनुहुन्छ । रुद्रलालका २ श्रीमती मध्ये पार्वती तर्फबाट विपक्षी हरिलाल र बलबहादुर र २ छोरीहरूको जन्म भएको र अर्की दुर्पतीबाट चुँडाबहादुरको जन्म भएको थियो । सबै अंशियारको विवाह भइसकेको एवं दुर्पती र चुँडाबहादुरले समेत पहिले नै अंश लिई अलग बसी आएकाले एकासगोलका मूल अंशियारमा विपक्षी हिरालाल र बलबहादुर हुनुहुन्छ । विपक्षी बलबहादुर र म तुलसीदेवीको तर्फबाट छोरा फिरादी चन्द्रकान्त र छोरी गीता गरी २ छोराछोरीको जन्म भएको र हालसम्म हामीहरूको विवाह समेत भएको छैन । तसर्थ पति पिता बलबहादुरको अंश खाने अंशियारमा हामी